शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जनमोर्चाका दुई सांसदमाथि कारवाही हुने !

पार्टीको निर्णय उलङ्घन गर्नेमाथि कारवाही हुन्छ : मोहनविक्रम
बिहीबार, ३० वैशाख २०७८, १९ : ३०
बिहीबार, ३० वैशाख २०७८

गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएको छ । उनीहरुमाथि कारवाही भएपछि गण्डकी प्रदेशसभाको अंक गणितमा हेरफेर आउने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । तर, विपक्षी गठबन्धनलाई पनि बहुमत पुर्याउन एक सीट कम हुने भएकाले कसैको पनि बहुमत नपुग्ने स्थिति आउने भएको छ । 

हाल गण्डकी प्रदेशमा ६० जना सांसद छन् । जनमोर्चाका दुई सांसदमाथि कारवाही भएपछि प्रदेशसभाको संख्या ५८ मा झर्ने छ । त्यो अवस्थामा सरकार गठनका लागि ३१ को साटो ३० जना भए  बहुमत पुग्छ ।

मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङको पक्षमा अहिले दीपक मनाङ्गेसहित २८ जना छन् । विपक्षी मोर्चामा भने काँग्रेसका १५, माओवादीका ११ (सभामुखबाहेक), जसपाका २ र जनमोर्चाका १ जना गरी २९ सांसद छन् । यो स्थितिमा मुख्यमन्त्री गुरुङले एक महिनाभित्र विश्वासको मत लिँदा बहुमत गुमाउने पक्कापक्की  छ । तर, सरकारको दाबी गरिरहेका विपक्षीसँग पनि २९ सिटमात्र पुग्छ । सभामुख माओवादी तर्फबाट भए पनि दुबैतिर बराबरी भएको अवस्थामा मात्र सभामुखले निर्णायक मत दिन पाउने भएकाले विपक्षी मोर्चाले सभामुखलाई जोड्न पाउने स्थिति छैन ।

जनमोर्चाका सांसदहरु खिम विक्रम शाही र कृष्णबहादुर थापा अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने पार्टी निर्णयविपरीत उभिएपछि उनीहरुलाई पार्टीले कारवाही गर्ने भएको हो । तीनजना मध्ये पियारी थापा भने पार्टी निर्णयको पक्षमै उभिएकी छिन् ।

पार्टीको छविमा धक्का लाग्यो : मोहनविक्रम

राष्ट्रिय जनमोर्चाको मातृपार्टी नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले विहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको पार्टीको नीति र निर्णयको उलङ्घन गर्ने सांसदहरुमाथि कारवाही हुने बताएका छन् । उनीहरुका कारण पार्टीको ऐतिहासिक प्रतिष्ठा र छविमा धक्का लागेको महामन्त्री सिंहले बताएका छन् ।  

‘गण्डकी प्रदेशमा सरकार परिवर्तन सम्बन्धमा हाम्रो वैधानिक मोर्चाका कतिपय सांसदद्वारा नै पार्टीको नीति र निर्णयको उलङ्घन भएको छ’ महामन्त्री सिंहको वक्तव्यमा भनिएको छ, ‘उक्त कार्यले पार्टीको ऐतिहासिक प्रतिष्ठा र छविमा धक्का लाग्न गएको छ । त्यसले सम्पूर्ण पार्टी पङ्क्ति तथा शुभचिन्तक जनसमुदायलाई स्तब्ध बनाएको छ ।’

महामन्त्री सिंहले अगाडि भनेका छन्, ‘त्यस प्रकारको कार्य पार्टीको नीति, निर्णय र अनुशासन विरुद्ध भएकाले त्यसको छानबिन र अनुसन्धान गरी आवश्यक कारवाही अगाडि बढाइने कुराको हामीले सम्पूर्ण जनसमुदायलाई जानकारी गराउन चाहन्छौँ ।’

(यसअघि प्रकाशित समाचारमा २९ सिट रहेका विपक्षीको बहुमत पुग्ने उल्लेख भएकोमा सच्याइएको छ– सं)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप