बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ रोकियो

बिहीबार, ३० वैशाख २०७८, २० : ००
बिहीबार, ३० वैशाख २०७८

बिहीबार बिहान ११ बजेका लागि तोकिएको कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ । तीन पार्टीबीच कुरा नमिलेपछि मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो । बिहीबार बिहान एक्कासि प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रम रोकिएको जानकारी गराएको छ । 

बुधबार मुख्यमन्त्रीको कार्यालयले विन्दमान बिष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्रालय, सीता नेपालीलाई भौतिक विकास मन्त्रालय फुटाएर उर्जा तथा जलश्रोत मन्त्रालय र गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिएको थियो ।

आर्थिक मामिला तथा योजना मन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले राजीनामा दिएपछि माओवादी केन्द्रकै ३ सांसदलाई मन्त्रालयको जिम्मेवारी दिइएको हो । नवनियुक्त मन्त्रीहरुको बुधबार नै हुने भनिएको सपथ कार्यक्रम विहिबार बिहानका लागि सारिएको थियो । तर, बिहिबार पनि सपथ ग्रहण कार्यक्रम हुन सकेन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गत वैशाख ३ गते विश्वासको मत हासिल गरेयता दोस्रो पटक मन्त्रिपरिषद् हेरफेर गरेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनमा लागेका मुख्यमन्त्री शाही एक मन्त्रालय थपेर ८ मन्त्रालय बनाउने तयारीमा छन् । सोहीअनुसार सबै मन्त्रालयमा छिट्टै मन्त्री नियुक्त गर्ने उनको तयारी छ ।

वैशाख ३ गते नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि शाही नेतृत्वको सरकार जोगिएको थियो । विश्वासको मत पाएसँगै शाहीले ह्वीप उल्लंघन गरेर एमालेको कारवाहीमा परेकामध्ये ३ जनालाई मन्त्री समेत बनाइसकेका छन् भने विश्वासको मत दिने नेपाली काँग्रेसलाई तत्कालका लागि सामाजिक विकास मन्त्रालयको जिम्मा दिइएको छ । तर, मन्त्री नियुक्ति भने गरिएको छैन ।

काँग्रेसले कसलाई मन्त्री बनाउने भन्ने अझै टुंगो लगाउन सकेको छैन । शुक्रबारभित्रै काँग्रेसको भागमा परेको सामाजिक विकास मन्त्रीको टुंगो लगाएर एकसाथ सबै मन्त्रीको सपथ गराउने तयारीमा प्रदेश सरकार रहेको श्रोतको दाबी छ ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप