बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

विशेष परिस्थितिबाहेक खोप लगाएका मानिसले मास्क लगाउन जरुरी छैन : सीडीसी

शुक्रबार, ३१ वैशाख २०७८, १२ : २१
शुक्रबार, ३१ वैशाख २०७८

केही विशेष परिस्थितिबाहेक कोभिड १९ विरुद्धको खोप पूर्ण लगाएका मानिसहरुले घरभित्र वा बाहिर मास्क लगाउन र सामाजिक दूरी पालना गर्न जरुरी नरहेको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले बिहीबार घोषणा गरेको छ । ‘यदी तपाईले पूर्ण रुपमा खोप लगाउनु भएको छ भने तपाईले ती काम सुरु गर्न सक्नुहुन्छ, जुन तपार्इंले महामारीका कारण बन्द गर्नुभएको थियो,’ सीडीसीकी निर्देशक रोचिली वालेन्स्काईले ह्वाइट हाउसमा भएको कोभिड १९ ब्रिफिङमा भनिन्, ‘केही हदसम्म सामान्य अवस्थामा कसरी फर्कन सकिन्छ भनेर यो क्षणको हामीले लामो प्रतीक्षा गरेका थियौँ ।’

उनले यस क्षणलाई अति उत्साहजनक भनिन् । यसअघि जारी गरिएको सीडीसीको नयाँ गाइडलाइन्सलाई विज्ञानले समर्थन गर्ने उनले बताइन् । यस गाइडलाइन्सअनुसार पूर्ण खोप लगाएकाहरु घरभित्र र बाहिरी क्रियाकलापमा मास्क नलगाइ र सामाजिक दूरी पालना नगरी भेला सहभागी हुनसक्छन् ।

उनले तीनवटा अध्ययनबारे उल्लेख गरिन् । इजरायलमा गरिएको एउटा र अमेरिकामा गरिएका दुईवटा अध्ययनले खोपले काम गर्र्छ भन्ने देखाएको छ ।

इजरायलको अध्ययनले देखाएअनुसार खोपको प्रभावकारिता लक्षणसहितका कोभिड–१९ का बिरामीमा ९७ प्रतिशत र लक्षण नभएका बिरामीमा ८६ प्रतिशत देखिएको थियो । ५ हजारभन्दा बढी स्वास्थ्यकर्मीमा गरिएको यो अध्ययन जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनमा प्रकाशित थियो ।

अमेरिकामा खोप लगाइसकेका अधिकांश व्यक्ति सुरक्षित रहेको उत्साहपूर्ण खबर बाहिर आइरहेको छ । वालेनस्काईले भनिन्, ‘खोप लगाइसकेपछि संक्रमण भइ नै हालेपनि भाइरल लोड निकै कम हुन्छ, सायद कम समयका लागि रहन्छ र अन्यलाई सर्ने सम्भावना कम हुन्छ ।’

यद्यपि खोप लगाइसकेका मानिसले मास्क लगाउन छाड्नुअघि आफ्ना डाक्टरसँग परामर्श गर्नुपर्ने चेतावनी पनि उनले दिएकी छिन् । त्यस्तै, बस, ट्रेन, प्लेन र सार्वजनकि यातायातमा यात्राका क्रममा मास्क अहिले पनि अनिवार्य लगाउनुपर्ने उनले बताएकी छिन् । ‘गत वर्ष भाइरस अकल्पनीय छ भन्ने हामीले देखेका छौं । त्यसैले यदी अवस्था खराब भयो भने हामीले यी सुझावहरुमा परिवर्तन गर्नुपर्ने अवस्था पनि आउनसक्छ,’ उनले भनिन् ।

स्रोत : सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप