शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृतिविरुद्ध संघर्ष जारी रहन्छ : प्रचण्ड (भिडियो सहित)

शुक्रबार, ३१ वैशाख २०७८, १७ : ३९
शुक्रबार, ३१ वैशाख २०७८

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको संघर्ष जारी रहने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार विरुद्ध बैकल्पिक सरकार गठनको प्रयासमा लागेका माओवादी केन्द्रका अध्यक्ष दाहालले ओली पुन प्रधानमन्त्री बनेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संविधान र लोकतन्त्रको पक्षमा निरन्तर खबरदारी गर्ने बताएका हुन् ।

उनले प्रतिपक्षीको हैसियतले सरकारबाट भएका गलत कामको आलोचना गर्दै जनतालाई राहत दिने  र संविधान र राष्ट्रको बचाउको पक्षमा निरन्तर संघर्ष गर्ने उल्लेख गरे । सरकार गठनमा नेकपा एमालेको नेपाल खनाल समूहबाट धोका भएको हो भन्ने जिज्ञासामा उनले अहिले नै धोका भयो भनेर टिप्पणी गर्न नचाहेको प्रतिक्रिया दिए ।

उनले भने– “चुनौतिपूर्ण पनि छ सम्भावना पनि छ । हामी आफ्नो ढंगले अघि बढ्छौ । संविधान र लोकतन्त्रको रक्षाको निम्ति । संविधान र लोकतन्त्र कमजोर पार्ने प्रवृत्तिसँगको हाम्रो संघर्ष जारी रहन्छ । प्रतिपक्षीको हैसियतले गलत कामको आलोचना हुन्छ । जनताको राहत दिने र संविधान र राष्ट्रको बचाउको पक्षमा हामी निरन्तर संघर्षमा हुन्छ । अहिले म धोका भन्ने शब्द त प्रयोग गर्न चाहन्न । किनभने अहिले भर्खर पनि हामी कुरा गर्दैछौ । उहाँहरुभित्र केही समस्या पक्कै पनि भए होलान् । उहाँहरु आफु पनि संविधान र लोकतन्त्रको पक्षमा संघर्षरत नै हुनु भएकाले अहिले नै धोका दिनुभयो भन्ने शब्द बढी हुन्छ भन्ने लागेको छ । म आशा गर्छु उहाँहरु सत्यको पक्षमा, लोकतन्त्रको पक्षमा, संविधानको पक्षमा संघर्ष अगाडि बढाउनुहुन्छ र हाम्रो एक ठाउँमा फेरि पनि भेट हुन्छ भन्ने म ठान्छु । ”

उनले असंवैधानिक ढंगले हुने निर्वाचनको विरोध गर्ने बताए । उनले भने, ‘संवैधानिक ढंगले हुने कुनै पनि निर्वाचनको निम्ति पार्टी जहिले पनि तयार हुन्छ । संविधान विरोधी भयो भने मात्रै हाम्रो विरोध हुने हो । आलोचना हुने हो ।  संविधानअनुसार हुने चुनावमा हाम्रो सहभागिता हुन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप