शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

टालटुले सभाहल उद्घाटन गर्दै प्रधानमन्त्रीले भने- मानिसहरु आत्तिए (तस्बिरमा हेर्नुहोस्)

शुक्रबार, ३१ वैशाख २०७८, १८ : १७
शुक्रबार, ३१ वैशाख २०७८

कुनै पनि आयोजनाहरु पूरा नहुँदै उद्घाटन गर्न हतारो हुने गरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना हुँदै आएको छ । ओलीले विश्वासको मत लिँदै गर्दा संसदमै  यस विषयमा चर्को आलोचना भयो । तर, अल्पमतको प्रधानमन्त्रीको रुपमा सपथ लिएपछि प्रधानमन्त्री ओलीले आफ्नो आलोचना गर्नेहरुलाई जवाफ फर्काए – सरकारले गरेको विकास निर्माणका कामले केही मानिसहरु आत्तिएका छन् ।

संसद्मा प्रधानमन्त्री ओलीले धरहराको निर्माण कार्य पूर्णरुपमा सम्पन्न नहुँदै उद्घाटन गरेकोमा आलोचना गरिएको थियो ।  शुक्रबार प्रधानमन्त्री ओलीले बालुवाटारबाट भर्चुअल माध्यमबाट ओलीले गोदावरी सनराइज सम्मेलन केन्द्रको उद्घाटन गरेर दोस्रो चरणको उद्घाटन र शिलान्यासको इनिङको शुरुवात गरे । उक्त अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आलोचकहरूमाथि टिप्पणी गर्दै भने, ‘हुन त कतिपय मान्छेहरुले केही पनि काम भएन भनिरहेका छन् । एकातिर केही पनि काम भएका छैनन् भनिरहेका छन्, अर्कातिर लगातार निर्माण कार्यहरु सम्पन्न भएर उद्घाटनका कामहरु भएका भयै छन् । त्यससँग आत्तिएका छन्’, प्रधानमन्त्री ओलीले भने,  ‘धरहरा निर्माण कार्य सम्पन्न भयो । त्यहाँ गाडीको पार्किङ र गार्डेन तयार भएको छैन त्यो बेग्लै पार्ट हो ।’

प्रधानमन्त्रीले यसो बताइरहँदा आज उद्घाटन गरेको सभाहलको पनि धरहराभन्दा फरक दृश्य थिएन । हतार हतारमा उद्घाटनका लागि सभाहललाई तयार गरिएको प्रष्ट देखिन्थ्यो । भवन बाहिर थुप्रै निर्माण कार्य बाँकी रहेको थियो भने भवनभित्र पनि सिलिङदेखि लिएर भुइँसम्मका निर्माण कार्य सकिएको थिएन । यतिसम्म कि स्क्रिनमा देखाउनका लागि चिटिक्क पारेर सजाइएका सिटहरुको नटबल्टु कस्न समेत भ्याइएको थिएन ।

हेरौँ तस्विरहरु-

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप