मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मनाङमा कोरोना सङ्क्रमितको उपचारमा समस्या

शनिबार, ०१ जेठ २०७८, ११ : ०५
शनिबार, ०१ जेठ २०७८

नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोरोना फैलिएपछि  बढ्दो सङ्क्रमितको सङ्ख्यासँगै मनाङमा उनीहरूको उपचारमा समस्या देखिएको छ । 

उपचारको समस्या न्युनिकरण भएको छैन भने व्यवस्थित आइसोलेसनको अभावमा जटिल प्रकारका सङ्क्रमितलाई टेन्टमा राखेर उपचार गर्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी बिष्णु लामिछानेले जानकारी दिए। 

“जिल्लामा तीन कोभिड अस्पतालमा डाक्टर छैनन्, आइसोलेसन नहुँदा टेन्टमा राखेर सङ्क्रमितको उपचार गर्नु परिरहेको छ”, लामिछानेले भने, “सङ्क्रमितको स्वास्थ्य जटिल भएमा हेलिकप्टर चार्टड गरेर पोखरा वा काठमाडौं पु¥याउनुको विकल्प छैन ।” समयमा हेलिकप्टर आउने अवस्था नहुँदा सङ्क्रमितलाई अस्पतालको पहुँचसम्म पु¥याउन समेत मुश्किल छ ।  

स्थानीय तहले आइसोलेसन वार्ड तयार पारिरहे पनि सम्पन्न भएका छैनन् । त्यसैले  केही दिनअघि सङ्क्रमण पुष्टि भएका एक दम्पतीलाई टेन्टमा राखेर तीन दिनसम्म उपचार गर्दा स्वास्थ्य जटिल भएपछि पोखरा लगिएको थियो । प्रजिअ लामिछानेले आइसोलेसन निर्माण हुँदै गरेकाले तत्कालको लागि त्यसरी नै टेण्टमुनि राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको जानकारी दिए । 

उनीहरूको अवस्था जटिल बन्दै गएपछि हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पठाइएको प्रजिअ लामिछानेले बताए ।   

उनका अनुसार जिल्ला अस्पतालमा तीन दिनदेखि उपचार गराइरहेका कोरोना सङ्क्रमितलाई थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा र एक विदेशी नागरिकलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ । जिल्लावासीको स्वास्थ्यमा समस्या भएमा हेलिकप्टरबाट नै उपचारका लागि अन्यत्र पठाउनुपर्ने बाध्यता छ । 

आइसोलेसन निर्माणको अन्तिम चरणमा भनिए पनि कहिलेदेखि सञ्चालनमा आउँछ भन्न सक्ने अवस्था छैन । जिल्ला अस्पतालको नयाँ भवनको निर्माण भइरहेको र पुरानो भवनमा सङ्क्रमितका लागि पर्याप्त कोठा नहुँदा आइसोलेसन वार्ड सञ्चालन गर्न नसकिएको अस्पतालले जनाएको छ ।  स्थानीय तहले निर्माण गरिरहेका आइसोलेसन केही दिनमा निर्माण सम्पन्न हुने र सञ्चालनमा ल्याइने प्रजिअ लामिछाने बताउँछन् ।

मनाङमा जिल्ला अस्पतालको नयाँ भवन बनिरहँदा सेवा प्रवाहमा स्वास्थ्यकर्मीको पनि अभाव छ । कोभिड र अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अस्पतालमा चिकित्सकदेखि कर्मचारीसको अभाव छ । कोरोना सङ्क्रमितको उपचारको लागि बन्दै गरेको आइसोलेसनमा सेवा प्रवाह गर्ने चिकित्सकको अभाव रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । अस्पतालको भवन निर्माण भएपनि त्यहाँबाट सेवा प्रवाहका लागि आवश्यक पर्ने चिकित्सक, ल्याव टेक्निसियन, रेडियोग्राफी, स्टाफ नर्स, अनमी र सरसफाई कर्मचारीको अभाव छ । 

विकट क्षेत्र भएकाले पनि यहाँको सेवामा चिकित्सक, कर्मचारी आउन नचाहने हुँदा कर्मचारीको सधैंजसो अभाव रहने गर्दछ ।  जिल्ला अस्पताल मनाङका निमित्त प्रमुख डा.प्रतिभा गौली यहाँ भएका भेन्टिलेटर र आइसियु कक्ष सञ्चालन गर्नसक्ने जनशक्ति समेत नभएको बताउँछन् । जनशक्तिको अभावका कारण सबै उपकरण सञ्चालनमा ल्याउन नसकिएको उहाँले बताए ।

“यहाँ आइपुगेका सामग्री समेत उपयोग गर्न सकेका छैनौं, के गर्नु कर्मचारी अभावले यी सामग्री चलाउने अवस्था छैन”,उनले भने, “ठूलो मात्रामा सामग्री आइनपुगे पनि थोरै सामग्रीबाट पनि सेवा प्रवाह गर्न समस्या छ ।” मनाङका हुने खाने घरपरिवारका व्यक्ति मात्र अस्पतालको स्वास्थ्य पहुँचमा पुग्छन् । यहाँका विपन्न वर्गलाई अस्पतालको पहुँच सहज छैन ।

पहिलो चरणको कोभिडबाट यहाँ कम मानिसमा सङ्क्रमण देखिएपनि दोस्रो चरणमा विगतको भन्दा दोब्बरमा सङक्रमण पुष्टि भएको छ । पहिलो चरणमा २० जना सङ्क्रमित भएकामा हालसम्म उक्त सङ्ख्याको दोब्बर सङ्क्रमित थपिइसकेका छन् ।

स्थलमार्गबाट मनाङका बिरामीलाई अस्पताल पु¥याउन सक्ने सहज अवस्था छैन । मनाङ जाने सबै सडक अहिलेसम्म कालोपत्रे भएका छैनन् । पूर्ण रुपमा कच्ची सडक छन् । कच्ची सडकबाट बिरामी वा जटिल प्रकारका कोरोना सङ्क्रमितलाई अस्पताल लैजादा बाटोमै ज्यान जान सक्ने बढी खतरा छ । 

सडक सञ्जाल सहज बनाउने उद्देश्यका साथ धेरै वर्षदेखि बजेट विनियोजन हुँदै पनि आएको छ । तर निर्माण कम्पनीले काम पूरा गर्न नसक्दा बिरामीलाई स्थलमार्गबाट अस्पताल पु¥याउन सहज नभएको हो । मनाङको सदरमुकाम चामेसम्म समेत स्थलमार्गको विकास हुन सकेको छैन भने अन्य क्षेत्रमा झन् समस्या छ । त्यसैमाथि मनाङका विभिन्न नदीमाथि बन्ने पुलका लागि वार्षिक रुपमा बजेट विनियोजन हुन्छ तर पुल निर्माणको काम पूरा हुँदैन । मनाङमा हिउँदमा हिउँ त वर्षायाममा पहिरोले पुल र सडक निर्माणको काम अगाडि बढ्न सक्ने अवस्था गाह्रो भएकोे निर्माण कम्पनीले बताउँदै आएको छ । 

जिल्ला अस्पताल मनाङमा उपचाररत बिरामीमा कोभिड पोजिटिभ देखिएपछि अस्पताल सिल गरिएको छ । सङ्क्रमितको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको स्वाब परीक्षणका लागि अस्पताल सिल गरिएको अस्पतालले जनाएको छ ।  बुधबारदेखि सिल गरिएको जिल्ला अस्पतालमा इमर्जेन्सी बाहेकका अन्य सेवा बन्द छन् । अस्पतालबाट प्रवाह हुने अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरिएको निमित्त प्रमुख डा.गौलीले जानकारी दिए । 

त्यस्तै जिल्लाका चार स्थानीय तहमध्ये दुई स्थानीय तहको सेवा समेत बन्द गरिएको छ । यी दुई पालिकाले बिहीबारबाट आफ्नो सेवा रोकेका हुन् । मङ्गलबार मनाङ ङिस्याङ गाउपालिकामा एक विदेशी नागरिक सहित २५ जना कोरोना सङ्क्रमित थपिएका थिए । चामे गाउँपालिकाको कार्यपालिकामा कार्यरत एक कर्मचारीमा समेत सङ्क्रमण पुष्टि भएसँगै पालिका अन्तर्गतको स्वास्थ्य केन्द्रबाट सेवा प्रवाह रोक्ने निर्णय भएको प्रशासनले जानकारी दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप