शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा लकडाउन खुल्ने हर्षसँगै इन्डियन कोभिड भेरिएन्टले ल्याएको विस्मत

शनिबार, ०१ जेठ २०७८, २० : ५८
शनिबार, ०१ जेठ २०७८

चरणबद्ध रुपमा इंग्ल्याण्डमा हाल जारी लकडाउन खोल्ने सरकारी मार्गचित्र अनुसार आउँदो सोमबार र जुन २१ बाट पूर्ण रुपमा लकडाउन खोल्ने तयारीले उत्साहित बनेका बेलायतवासीहरु  ‘इन्डियन कोभिड भेरिएन्ट’ का कारण थप त्रासमा परेका छन् । नेपालीहरुको समेत प्रमुख व्यवसायको रुपमा रहेको हस्पिटालिटी व्यवसाय पुन: संचालनमा आउने भएपछि हजारौं नेपालीहरु पनि उत्साहित बनेका छन् । टेकअवे सेवामा मात्र सिमित रेष्टुरेन्ट, पब लगायतका फाष्टफुडहरुमा केहि दिन अघिबाट आउटडोर सेवा  शुरु गरिएको थियो  भने आउँदो सोमबारबाट  इनडोर सेवा पनि सुचारु हुनेछ  ।

पछिल्लो समयमा तीव्र रुपमा फैलिरहेको इन्डियन कोभिड भेरिएन्टको असर बेलायतमा पनि देखिन थालेपछि विज्ञहरुले समयमै सावधानी अपनाउन चेतावनी दिएका छन् । ‘इन्डियन कोभिड भेरिएन्ट’ का कारण बेलायतमा दैनिक १० हजारसम्म अस्पताल भर्ना हुने र दैनिक एक हजारको मृत्यु हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन्।

बेलायतमा हिजो शुक्रबार इन्डियन कोभिड भेरिएन्टबाट चार जनाको मृत्यु भएको तथ्य सार्वजनिक भएसँगै  सरकारी वैज्ञानिकहरुले सोहि राति नै सो कुरा बताएका हुन् । इन्डियन कोभिड भेरिएन्ट ‘केन्ट स्ट्रेन’ भन्दा पनि ५० प्रतिशत बढी संक्रामक हुने उनीहरुले बताएका छन् । साथै यो महामारी शुरु भएयताकै बढी खतरनाक हुने पनि बताइएको छ ।

चिफ मेडिकल अफिसर क्रिस वीटीले भनेका छन्, ‘यो निकै भयावह र संक्रामक हुने सम्भावना छ, यदि यस्तो प्रमाणित भएमा बेलायतमा कोरोना संक्रमणमा उल्लेखनीय वृद्धि देख्न सकिनेछ ।’  आगामी जुन २१ मा पूर्ण रुपमा खुल्ला गर्न लागिएको जारी लकडाउन कायमै राख्ने हो भने दैनिक बीस हजारसम्म अस्पताल भर्ना हुनसक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् ।

वारवीक युनिभर्सिटीको मोडेल्लिंग टीमले भने इन्डियन कोभिड भेरिएन्ट ४० प्रतिशत संक्रामक र दैनिक ६ हजार अस्पताल भर्ना हुनसक्ने बताएको छ, जुन दोस्रो वेभ भन्दा कम हो । यसैगरि ‘लन्डन स्कुल अफ हाइजेनिक एण्ड  ट्रपिकल मेडिसिन’ ले पनि इन्डियन कोभिड भेरिएन्ट ५० प्रतिशत बढी संक्रामक हुनसक्ने उल्लेख गरेको छ । समरसम्ममा दैनिक एक हजारको मृत्यु हुनसक्ने अनुमान छ ।

बेलायती प्रधानमन्त्रीले पनि ‘इन्डियन कोभिड भेरिएन्ट’ निकै खतरनाक र तीव्र गतिमा फैलिने भएकोले आगामी जुन २१ बाट पूर्ण रुपमा खोल्न लागिएको लकडाउनलाई असर पर्न सक्ने संकेत दिएका छन् ।

बेलायतमा कोरोनाविरुद्धको खोपलाई दिइएको तीव्रतासँगै संक्रमण दरमा उल्लेखनीय सुधार आएको छ । यसैगरी कोरोनाका मृत्यु दर र अस्पताल भर्ना हुने संख्यामा पनि कमी आएको छ । तर, खोपका कारण  इन्डियन भेरिएन्टबाट सुरक्षित हुने कुनै प्रमाण नदेखिएकाले यो निकै जटिल समस्या हुने बताइएको छ  ।

बेलायतमा महामारी शुरु भएयता एक लाख २७ हजार भन्दा बढीको मृत्यु भएको छ भने ४४ लाख ४६ हजार बढी संक्रमित भएका छन् । बेलायतमा हालसम्म ५५ लाख ४३ हजार भन्दा बढी मात्रा खोप वितरण भइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप