बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बहुमत देखाउन जसपाको दुवै पक्ष सक्रिय

आइतबार, ०२ जेठ २०७८, ०८ : ००
आइतबार, ०२ जेठ २०७८

पार्टी फुटको संघरमा पुगेपछि जनता समाजवादी पार्टीको दुवै पक्ष कार्यकारिणी समिति र संसदीय दलमा बहुमत देखाउन सक्रिय भएको छ। उपेन्द्र यादव पक्षले शनिबार बोलाएको कार्यकारिणी समितिको बैठकमा बहुमत कार्यकारिणी समितिका सदस्य उपस्थित भएको यादव पक्षका नेताहरूको दाबी छ। उक्त बैठकले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने महन्थ ठाकुर पक्षधरको निर्णय अवैधानिक भएको निष्कर्ष निकालेको छ।  

बैठकमा सहभागी यादव पक्षका नेता रामसहाय यादवका अनुसार आइतबार यादव पक्षले निर्वाचन आयोग र संसद् सचिवालयमा चिठी लेखेर महतोलाई संसदीय दलको नेता चयन गर्ने निर्णय पार्टीको नभएको जानकारी गराउने भएको छ। ‘हामीले कसैलाई संसदीय दलको नेता चयन गरेका छैनौं। महतोलालाई दलको नेता चयन गरेको भनी पत्रपत्रिकामा आएको समाचार निराधार हो,’ यादवले भने, ‘यस सम्बन्धमा आइतबार संसद् सचिवालय र निर्वाचन आयोगलाई गराउने भएको छौं।’ यता, शनिबार ठाकुरले विज्ञप्ति निकाली उपेन्द्र यादव पक्षले बोलाएको बैठक पार्टीको बैठक नभएको दाबी गरेका छन्।  

ठाकुर पक्षले महतो संसदीय दलको नेता चयन भएको जानकारी आइतबार संसद् सचिवालय र निर्वाचन आयोगलाई गराउने भएको छ। शुक्रबार ठाकुर पक्षका नेताहरूले बैठक गरी महतोलाई संसदीय दलको नेता चयन गरेको घोषणा गरेको थिए। महतो पक्षका नेताहरू बहुमत सांसदहरूबाट महतोलाई दलको नेता चयन गरेको बताएका छन्। यादव पक्षले पनि संसदीय दलमा आफू बहुमतमा भएको दाबी गरेको छ।

५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादवपक्ष बहुमतमा छ। पूर्वराष्ट्रिय जनता समाजवादी पार्टीका ३ जना कार्यकारिणी समितिका सदस्यहरू महेन्द्र यादव, रमेश यादव र गजाधार यादवले कित्ता परिवर्तन गरी उपेन्द्र यादव कित्तामा गएपछि कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्ष बहुमतमा पुगेको हो। संसदीय दलमा भने दुबै पक्षका बराबर छ।  

दुबै पक्षमा १६र१६ जना सांसद छन तर दुबै पक्षले आफ्नो पक्षमा १६ जना भन्दा बढी सांसद भएको दाबी गरेको छ। बिहीबार ठाकुर पक्षले भक्तपुरको डोलेश्वर रिसोर्टमा गरको बैठकमा ठाकुर पक्षमा १९ जना सांसद रहेको दाबी ठाकुर पक्षका नेताहरूले गरेका छन्। तर कित्ता परिवर्तन गरेका सांसदहरूमा बारेमा ठाकुर पक्षका नेताहरू बोल्न चाहन्नन्। 

उपेन्द्र यादव पक्षमा सक्रिय भएका केही सांसदहरू पनि भित्रभित्रै आफ्नो पक्षमा ठाकुर पक्षका एक नेताले दाबी गरे। उनले भने, ‘सरकारमा जसपा गयो भने कस कसले कित्ता परिवर्तन गरे, शपथ ग्रहणमा देखिने छ। अहिले नबोलौं। ’

उपेन्द्र यादव पक्षधरका तथा कार्यकारिणी समितिका सदस्य रमेश यादवले ठाकुर–महतो पक्षबाट अरू २ जना कार्यकारिणी समितिका सदस्यहरू आफ्नो पक्षमा आइसकेको दाबी गरे। संसदीय दलमा पनि उपेन्द्र यादव बहुमतमा रहेको उनको भनाइ छ।  यो समाचार नागरिक दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप