बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापालाई ओलीको फोन : बादललाई भोट दिनुहोला !

राप्रपाको भोट बादल कि खिमलाललाई ?
आइतबार, ०२ जेठ २०७८, २० : ००
आइतबार, ०२ जेठ २०७८

एमालेको विवाद समाधान उन्मुख रहेका बेला बागमती प्रदेशमा जेठ ६ गते हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनको भिडन्त रोचक मोडमा पुगेको छ । एमालेको माधवकुमार नेपाल पक्ष समेतको सहयोगमा विपक्षी गठबन्धनबाट एमालेसमर्थित खिमलाल देवकोटा उम्मेदवार रहेका छन् भने एमालेबाटै रामबहादुर थापा बादल उम्मेदवार छन् । केन्द्रमा एमाले नेताहरु मिलेका छन्, बागमती प्रदेशमा भने बागी उम्मेदवारको चर्चा छ ।

​चुनावको दिन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बादललाई भोट हाल्ने भएको छ । सो पार्टीका वरिष्ठ नेता दीपक बोहराले पार्टीले एमालेलाई सघाउने रातोपाटीलाई जानकारी दिए । ‘पार्टीले आधिकारिक निर्णय त गर्न बाँकी नै छ, हामीले एमालेलाई नै सघाउँछौं । पार्टीमा त्यही अनुसार अनौपचारिक कुरा पनि भइसकेको छ ।

एमाले पार्टीभित्रको विवाद उत्कर्षमा रहेको बेला काँग्रेस–माओवादीसमेतको समर्थनमा एमाले समर्थित भट्टराईलाई उम्मेदवार बनाइएको र हाल एमालेको विवाद समाधान उन्मुख हुँदै गर्दा उपनिर्वाचनमा माधव समूहको भोट कता रहने भन्ने अन्योलका साथै भिडन्त रोचक बन्ने देखिएको हो ।

कमल थापालाई ओलीको फोन !

यसैबीच पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार रहेका गृहमन्त्री समेत रहेका बादललाई भोट माग्दै एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापालाई फोन गरेका छन् । शनिबार पार्टीका ३ अध्यक्षसहितको शीर्ष नेताको बैठकमा अध्यक्ष कमल थापाले यसबारे ब्रिफिङ गरेका छन् ।

उनले आफूलाई प्रधानमन्त्री ओलीले फोन गरेर निर्वाचनमा सहयोग मागेको जानकारी गराएका थिए । त्यसबारे बैठकमा छलफल हुनुका साथै आधिकारिक पत्र आए ओलीलाई नै मत दिने बारेमा निष्कर्ष निकालिएको राप्रपाका एक नेताले रातोपाटीलाई जानकारी दिए । ती नेताका अनुसार अहिलेको अवस्थामा विपक्षी गठबन्धनको उम्मेदवारबारे नै अन्योल रहेको र ओलीसँग विगतमा पनि भएको सहकार्यको आधारमा बादललाई नै मत हाल्नु हितकर हुने निष्कर्ष निकालिएको हो ।

राप्रपाको प्रदेशसभामा २ सांसद रीता माझी र रीना गुरुङको प्रतिनिधित्व  छ । उनीहरुको मतभार ९६ हुन्छ । स्थानीय तहतर्फ धादिङको रुबिभ्याली गाउँपालिकाका अध्यक्ष चेरुत तामाङ र उपाध्यक्ष बिना लामासमेत मतदाता हुन् । उनीहरुको मतभार ३६ हुन्छ । यस हिसावले उपनिर्वाचनमा राप्रपाको जम्मा मतभार १३२ छ ।

राप्रपा नेता मोहन श्रेष्ठले एमालेले आधिकारिक पत्र पठाउन बाँकी रहेकाले सो पत्र प्राप्त भएपछि पार्टीले आधिकारिक निर्णय गर्ने रातोपाटीलाई बताए ।

उपनिर्वाचनमा बागमती प्रदेशका १०९ जना र स्थानीय तहका प्रमुख र उपप्रमुखहरू २३८ जनाले मतदानमा भाग लिनेछन् । यीमध्ये माधव पक्षले भोट दिँदा मात्रै डा. देवकोटाले जित्ने सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप