बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सम्झनामा चेतन कार्की : नजाउ न मलाई छोडी...

नीर शाहदेखि करिश्मा मानन्धरसम्म यसरी सम्झन्छन् कार्कीलाई
आइतबार, ०२ जेठ २०७८, १९ : १९
आइतबार, ०२ जेठ २०७८

गीतकार चेतन कार्की अब हामीमाझ रहेनन् । नेपाली सांगीतिक क्षेत्रमा कार्कीले थुप्रै कालजयी गीतहरु छाडेर गएका छन् । आजैदेखि उनी सदाका लागि संसारबाट विदा भएका छन् । कार्कीले आइतबार बिहान १० बजे छाउनीस्थित सैनिक अस्पतालमा अन्तिम सास लिए ।

‘नजाउन मलाई छोडी मुख मोडी दिल तोडी च्यान्टे मायालु’, ‘कान्छी ए कान्छी’, ‘बहिनीको दया छ भने, रोधी गर दाइ नाचे नभने’ लगायतका गीतहरुमा अब दुनियाँले उनलाई सम्झिइरहनेछ ।

गत बैशाख १६ गते भारतको देहरादुनमा ब्यक्तिगत काम सकेर नेपाल फर्किएका कार्कीलाई आइतबार ज्वरो आउने समस्याका कारण अस्पताल पुर्याइएको थियो । कोरोना संक्रमण समेत पुष्टि भएका कार्कीले अस्पतालमै प्राण त्यागेका छन् ।

चलचित्रका निर्देशक, लेखक, गीतकार, कवि, एवं साहित्यकारको पहिचान बनाएका प्रतिभाका धनी कार्की खोज तथा अनुसन्धान साहित्यमा पनि अब्बल मानिन्थे ।

संस्कृतिका समेत ज्ञाता कार्कीको बि.सं. १९९५ कात्तिक २२ गते (सन् १९३८ नोभेम्बर ७ तारिख) मा स्याङ्जाको आरुखर्क – ९ बहाँटारीमा बुबा क्याप्टेन जुद्धवीर कार्की र माता चन्द्रमाया कार्कीको कोखबाट जन्म भएको थियो ।

बायोलोजीमा स्नातक र हिन्दी साहित्यमा एमए गरेका उनले  सन् १९८६ को ‘विश्वास’ नामक चलचित्रबाट निर्देशनमा डेब्यु गरेका थिए । त्यसपछि ‘भुमरी’, ‘मनको आँखा’ र ‘पहिलो प्रेम’ निर्देशन गरेका कार्कीले थुप्रै फिल्म लेखन गरे ।

राम्रो गीतकारका अतिरिक्त कार्कीका ‘आत्मा बेचेको छैन’, ‘हनीमून’ ‘ढलेको गिलास’, ‘बसिबियाँलो’लगायत थुप्रै साहित्यिक कृतिहरु प्रकाशित छन् ।

चेतन कार्कीको संगत गरेका चलचित्र एवं साहित्य क्षेत्रका चर्चित व्यक्तित्वहरु उनलाई यसरी सम्झन्छन्–

चलचित्र क्षेत्रको इतिहासको बिसर्जन

नीर शाह (कलाकार तथा चलचित्र निर्देशक) 

चेतन कार्की दाइ नेपाली चलचित्र क्षेत्रका लिभिङ लिजेन्ड हुनुहुन्थ्यो । नेपाली लोकसंस्कृतिमाथि राम्रो दख्खल भएका उहाँ उर्दु र हिन्दी साहित्यको पनि ज्ञाता हुनुहुन्थ्यो । नेपाली इतिहास र गीतको क्षेत्रमा उहाँको योगदान प्रशस्तै छ । साहित्यका पनि राम्रो ज्ञान भएका उहाँ गजलसमेत सुन्दर लेख्नुहुन्थ्यो । त्यसका अतिरिक्त चलचित्र कर्ममा पायोनियर हुनुहुन्थ्यो ।

मेरो जीवनको पहिलो दिनको सुटिङका दिनदेखि उहाँलाई चिनेको थिएँ । त्यो फिल्म ‘परिवर्तन’ थियो । त्यसको म कलाकार थिएँ, उहाँ सहायक निर्देशक । उहाँ फिल्मको पटकथा लेखनमा समेत सघाउनुहुन्थ्यो । उहाँले निर्देशन गरेको फिल्म खेल्ने अवसर भने मलाई मिलेन । उहाँले ४÷५ वटामात्र फिल्म निर्देशन गर्नुभएको छ ।

नेपाली फिल्ममा निर्माण नियन्त्रण (प्रोडक्सन म्यानेजर) को र कास्टिङ निर्देशकको महत्व दर्शाएर सुत्रधार गर्ने व्यक्ति उहाँ हो । यो कुरो धेरैलाई थाहा नहुन पनि सक्छ । फिल्म क्षेत्रमा उहाँका चेला थुप्रै छन् ।

तत्कालीन शाही नेपाली चलचित्र संस्थानलाई जीवन्त बनाउन उहाँको योगदान ठूलो छ । उहाँ नेपाली साहित्यमा मूर्धन्य लेखकको कृतिमा फिल्म निर्माण हुनुपर्छ भन्ने व्यक्ति हुनुहुन्थ्यो । यो सिद्धान्तले प्राथमिकता नपाएका कारण उहाँ निराश समेत हुनुहुन्थ्यो । नेपालीपनको पक्षधर पनि हुनुहुन्थ्यो ।

मेरो उहाँसँग नजिकको सम्बन्ध थियो । जुनबेला उहाँ रसिक जीवन अर्थात हाँस्ने, खेल्ने, नाच्ने, पिउने जीवन बताउनुहुन्थ्यो, त्यो समयदेखि पछिल्लो समयसम्म सबै कुरा त्याग गरेर बेग्लै प्रकारको जीवन उहाँले बाँच्नुभयो । त्यो समयको पनि गम्भीर प्रकृतिको छलफलमा उहाँसँग म हुन्थेँ ।

सोच पनि उहाँका गम्भीर, नेपाली लोकसंस्कृतिलाई असाध्यै माया गर्ने, असल चलचित्रकर्मीमा हुनुपर्ने सबै गुण भएको । आफ्नो जीवनकालमा आफ्नो परिकल्पना अगाडि बढाउन उपयुक्त किसिमको बातावरण उहाँले पाउनुभएन । यसकारण पनि चलचित्रकर्मसँग उहाँ एक प्रकारले निराश हुनुहुन्थ्यो । त्यसैले आफूलाई टाढा राख्दै आउनुभएको थियो ।

पछिल्लो समय साहित्यसँग बढी नजिक हुनुहुन्थ्यो । मूर्धन्य गीतकार हुनुहुन्थ्यो । उहाँको निधनले चलचित्र क्षेत्रको एउटा इतिहास यो बिन्दुमा आएर विर्र्सजन भएको महसुस भएको छ । उहाँका अनुभव हामीले सँगालेर राख्न सक्नुपथ्र्योे । केही भएका छन् । जति हुनुपर्ने हो, त्यो हुन सकेन ।

मैले उहाँबाट धेरै कुरा सिक्ने अवसर पाएको छु । उहाँ मेरा लागि एक प्रकारको शिक्षक हुनुहुन्थ्यो ।

राष्ट्रवादी र स्वाभिमानी

मोहन निरौला (चलचित्र लेखक तथा निर्देशक) 

विसं २०३८ सालमा एउटा नाटक प्र्रतियोगिता भएको थियो । त्यो समय उहाँ निर्णायक हुनुहुन्थ्यो । म त्यो नाटकको कलाकार ।

नाटक सकिएपछि उहाँले बोलाएर मलाई राम्रो अभिनय गरेछौ भन्नुभयो । त्यो समयदेखि उहाँसँग मेरो चिनजान भएको थियो । त्यसपछि उहाँले फिल्म ‘विश्वास’का लागि बोलाएर मलाई कलाकार बनाउनुभयो ।

उहाँको ‘मनको आँखा’ भन्ने भिडियो चलचित्र पनि अभिनय गरेको छु । त्यो दृष्टिविहीन र अपाङ्गको कथामा आधारित थियो । अपाङ्गको भुमिका स्वार्गीय आनन्द थापाले गरेका थिए । दृष्टिविहीनको भुमिकामा म थिएँ ।

त्यो समय म ‘अन्याय’ फिल्म खेल्दै थिएँ । ‘मनको आँखा’ खेल्ने सुरमा थिइनँ । उहाँले तँलाई हिरोको रोल दिन लागेको, किन छाडेको भनेका कारण त्यो फिल्ममा अभिनय गरेको थिएँ । त्यसपछि भुमरी फिल्ममा पनि अभिनय गरें । त्यही फिल्ममा मैले स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठलाई चेतन दाइसँग चिनाएर तीनवटा सिनेमा अभिनय गर्ने मौका दिलाएको थिएँ । त्यो श्रेष्ठको डेब्यु फिल्म थियो ।

धेरै गतिविधिमा उहाँसँगै हिँड्थे म । परिवर्तन नेपालको गतिविधिमा पनि उहाँ प्रोत्साहन गर्नुहुन्थ्यो । धेरै एनजीओ, आइएनजीकोका काम गर्दा मेरो स्क्रिप्ट उहाँले हेरिदिनुहुन्थ्यो ।

नेपाल प्रहरीको धेरैजसो गीत र र नाटकलगायत विषयवस्तु उहाँले हेर्नुहुन्थ्यो । केही दिन अगाडि पनि एक गीत रेकर्ड सकेर देहरादून जानुभएको थियो । गीतमा समेत राम्रो दख्खल भएको ब्यक्तित्व उहाँले लेखेको गीत लिँदा उहाँ नै भाकामा यसरी बन्नुपर्छ भन्नुहुन्थ्यो ।

पछिल्लो समय मेरा बुबाले अंग्रेजी, नेपाली, संस्कृतलगायतको शब्द कोष लेख्नुभएको थियो । उहाँले ती सबै भाषामा करेक्सन गर्दिनुभयो । उहाँ धेरै भाषाका ज्ञाता हुनुहुन्थ्यो उहाँ भाषा, साहित्य, चलचित्र निर्देशन लगायत सबै कुरामा ज्ञाता हुनुहुन्थ्यो । हिन्दीको समेत ज्ञाता उहाँ धेरै भाषामा दख्खल राख्नुहुन्थ्यो । उहाँमा संस्कृतको पनि ज्ञान थियो । धेरै कुरामा ज्ञाता भनेर चिन्दा हुन्छ । राष्ट्रवादी, स्वाभिमानी र कलाक्षेत्रमा लागेका सबैका लागि प्रेरणाको श्रोत हुनुहुन्थ्यो ।

प्रचार नचाने व्यक्ति । बिसं २०६०, ०६१ चलचित्र विकास बोर्डको अध्यक्ष उहाँलाई अफर गरिएको थियो, उहाँले त्यो अफर अस्वीकार गर्नुभयो ।

मिलनसार, मानिसलाई सधैं प्रोत्सान गर्ने, सिकाउने र सहजीकरण गर्ने स्वभावको हुनुहुन्थ्यो । उहाँले नेपालको पहिलो फिल्म निर्देशक ‘हिरासिंह खत्री’का नामबाट पुरस्कार स्थापना गर्नुुभएको छ ।

उहाँको पहिलो अन्तर्वार्ता मैले कामनामा गरेको थिएँ

मुरारी सिग्देल (कवि ) 

२०५२ सालमा पुल्चोकमा पहिलोपटक उहाँसँग भेट भएको थियो । त्यो समय म कामना पत्रिकामा काम गर्थें । उहाँको पहिलो अन्तर्वार्ता मैले कामनामा गरेको थिएँ । म पनि साहित्यमा रुचि राख्ने भएकाले र उहाँ साहित्यमा समर्पित व्यक्ति भएकाले हाम्रो धेरै कुरो मिल्दोजुल्दो थियो ।

त्यतिबेला मेरो पुल्चोकमा स्टेशनरी पसल पनि थियो । त्यहाँ हाम्रो दैनिक भेट हुन्थ्यो । हामी नजिकका मित्र, बाबुछोराजस्तै भएका थियौं ।

म पिम नेपालमा आवद्ध भए । त्यसबाट उहाँलाई सम्मान पनि गरिएको थियो । उहाँको नेतृत्वमा देहरादूनमा दुई देशका कविहरुको एउटा साहित्यिक कार्यक्रम भएको थियो । त्यसमा म पनि सहभागी भएको थिएँ ।

सम्झनु पर्दा उहाँ नेपाली साहित्य, चित्रकला पनि एक प्रतिभावान व्यक्ति हुनुहुन्थ्यो । उहाँजस्तो व्यक्ति न यस अगाडि थिए, न पछि पाउन सकिन्छ । एकदमै राष्ट्रवादी, नेपाल र नेपालीलाई माया गर्ने, कुनै पनि स्वार्थरहित । देशलाई सर्वोपरि ठान्ने । राजनीतिक वादभन्दा धेरै टाढा रहेका स्वाभिमानी व्यक्तित्व ।

व्यक्तिगतरुपमा उहाँ आर्मीको छोरा भएको हिसाबले आफू पनि अनुशासन र समयको पालना गर्नुहुन्थ्यो । अरु पनि अनुशासनमा बसेको, समय पालन गरेको रुचाउनुहुन्थ्यो । यो स्वभावका कारण केहीले उहाँलाई मुढी र सन्काहा पनि भन्थे । ‘हिटलर एक मिनेट ढिलो पुग्दा युद्ध हारेको थियो’ भन्ने उदाहरण दिएर सबैलाई समयको महत्व बुझाउनुहुन्थ्यो ।

गोपाल योन्जन, दिव्य खालिङसँग उहाँको नजिकको सम्बन्ध थियो । लेखनमा पनि उहाँको राम्रो दख्खल थियो । नजिकको साथीका रुपमा भुपी शेरचन थिए ।

उहाँ दिनमा ८ वटा कोकोकोला खानुहुन्थ्यो

करिस्मा मानन्धर ( फिल्म अभिनेत्री)

जतिबेला मैले चलचित्र अभिनयमा प्रवेश गरें, त्यो समयदेखि उहाँलाई चिन्दछु । त्यो समय उहाँलाई चलचित्रका लेखकका रुपमा चिन्दथें । पहिलोपटक भेट पोखरामा फिल्म ‘पहिलो प्रेम’ भन्ने सुटिङमा भएको थियो । त्यो समय म कलाकारितामा एकदमै ब्यस्त थिएँ । त्यो फिल्मबाट धिरेन शाक्यले अभिनयमा डेब्यु गरेका थिए । उहाँ निर्देशक हुनुहुन्थ्यो । हामी सुटिङ सकिएपछि बेलुका बसेर कुराकानी गथ्र्यौं । उहाँले जीवनको धेरै कुरा सुनाउनुभएको थियो ।

उहाँले सरकारी जागिर पनि गर्नुभएको सो समय भन्नुभएको थियो । त्यो समय उहाँले मेरी मीरा भन्ने चिट्ठी पनि देखाउनुहुन्थ्यो । मीरा भन्ने उहाँकी एउटी गर्लफ्रेण्ड रहिछन् ।  त्यतिबेला म जहिले पनि उहाँका बारेमा सुनाउनु भन्थें । उहाँले मीराको याद धेरै गर्नुहुन्थ्यो ।

फिल्मका र अन्य धेरै गीत लेख्नुभएको छ । राम्रो सम्बन्ध हुँदाहुँदै पनि मैले आफ्नो फिल्ममा उहाँलाई गीत लेख्न कहिल्यै दिइनँ । यो कुराको पछुतो छ अहिले ।

उहाँ दिनमा ८ वटा कोकोकोला खानुहुन्थ्यो । उहाँले सधैं सानोसानो बट्टामा छुर्पी र सुपारी राख्नुहुन्थ्यो । एकदमै प्रतिभाशाली हुनुहुन्थ्यो । उहाँले लेखेका गीतजस्तो अन्य कसैले लेखेका छैनन् । उहाँ धेरै क्षेत्रको ज्ञान भएको विशिष्ट प्रतिभा हुनुहुन्थ्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप