शनिबार, १७ चैत २०८०
ताजा लोकप्रिय

कर्णालीमा अक्सिजनको चरम संकट

दुईवटा मात्र प्लान्ट, १० जिल्लामा आपूर्ति
आइतबार, ०२ जेठ २०७८, २१ : २७
आइतबार, ०२ जेठ २०७८

सुर्खेत । कर्णाली प्रदेशमा यतिबेला बिरामीका लागि आवश्यक अक्सिजनको चरम संकट देखिएको छ । अक्सिजनकै अभावमा अस्पतालहरुले कोरोना संक्रमण भएका नयाँ बिरामी भर्ना लिन नसकिने बताउँदै आएका छन् । प्रदेशमा अक्सिजन उत्पादन गर्ने प्लान्ट दुईवटा मात्र रहनु र १० जिल्लामा आपूर्ति गर्नुपर्ने स्थिति रहेका कारण अक्सिजनको संकट निम्तिएको हो ।

प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेल भन्छन्, ‘अहिलेको कोरोनाको भेरियन्ट अलि जटिलखालको छ । त्यसैले अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्छ । तर, पर्याप्त अक्सिजन नहुँदा समस्या हुने गरेको छ ।’ अहिले कर्णालीमा दिन प्रतिदिन कोरोनाको नयाँ भेरियन्टसहितका संक्रमितको दर उकालो लाग्दो छ । निको हुने दर न्यून र संक्रमित थपिने दर उच्च हुने हुँदा अक्सिजनको अभाव हुने गरेको हो ।

हाल कर्णालीका दुई ठाउँमा मात्र अक्सिजन उत्पादन हुने गरेको छ । प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उत्पादित अक्सिजनले १० जिल्लाको माग धान्नुपर्ने अवस्था छ । प्रदेश अस्पतालमा केही समय अघिमात्रै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दैनिक एक सय अक्सिजन सिलिन्डर उत्पादन गर्ने अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएका थिए । अस्पतालमा रहेको पुरानो प्लान्टले दैनिक १० सिलिन्डर अक्सिजन उत्पादन गर्दथ्यो ।

तर, बिरामीको चाप बढेकाले त्यो अक्सिजनले उक्त अस्पतालकै मागसमेत धान्न मुस्किल भएपछि नेपालगञ्जबाट दैनिक सय सिलिन्डर आपूर्ति गर्ने व्यवस्था मिलाइएको थियो । समयमा आपूर्ति नहुँदा अस्पतालमा बिरामीका कुरुवाले सिलिन्डर खोसाखोस गर्नुपर्ने बाध्यता थियो । पछि प्लान्ट सञ्चालनमा आएसँगै केही सहज भएको अस्पताल प्रशासनको भनाइ छ ।

डा.पौडेलका अनुसार अस्पतालमा दैनिक ३ सयभन्दा माथि अक्सिजन सिलिन्डर आवश्यक पर्छ । तर, अझै बिरामीको संख्या बढेको खण्डमा यतिले पनि धान्न कठिन हुन्छ । अस्पतालका अनुसार हाल उपचार गराइरहेका प्रायः सबैजसो बिरामीलाई अक्सिजन आवश्यक छ ।

अक्सिजन उत्पादनका लागि कर्णालीका अन्य जिल्लाहरुमा अक्सिजन प्लान्ट नपुगेका भने होइनन् । डोल्पा लगायत जिल्लामा अक्सिजन उत्पादनका लागि मेसिन पुगे पनि जनशक्तिको अभावले सञ्चालन नभई थन्किएका छन् ।

अक्सिजन अभावकै कारण अन्य जिल्ला अस्पतालले जटिल संक्रमितलाई सुर्खेतस्थित प्रदेश अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता छ । अक्सिजनको उत्पादन क्षमता कम हुनु र अधिकांशलाई हाइफ्लो अक्सिजन दिनुपर्ने भएपछि अस्पतालले थप संक्रमितलाई भर्ना लिन नसक्ने अवस्थामा पुगेको अस्पताल स्रोत बताउँछ ।

नयाँ भेरियन्टसहितका बिरामीलाई अक्सिजनसहित उपचार सेवा दिनुपर्ने अवस्था रहेको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा. डम्बर खड्का बताउँछन् । उसो त कर्णाली प्रदेश सरकारले केही समय अघि प्रदेशमा उत्पादन क्षमता नभएकाले अक्सिजन आपूर्तिका लागि संघीय सरकारसँग समन्वय गर्ने बताउँदै प्रदेशमा अक्सिजनको कमी नहुने दावी गरेको थियो ।

तर, प्रदेश सरकारले यसका लागि अहिलेसम्म संघीय सरकारसँग कुनै समन्वय नगरेका कारण प्रदेशमा अक्सिजन संकट बढ्दै गएको जानकारहरु बताउँछन् ।

नागरिकको स्वास्थ्यमाथि खेलवाड गरेको भन्दै प्रदेश सरकारविरुद्ध उच्च अदालतमा दुईवटा रिट दायर भएका छन् ।

प्रदेशमा हाल ५ हजार ४९८ सक्रिय संक्रमित छन् भने संक्रमणका कारण १४९ जनाको मृत्यु भइसकेको छ ।

पहाडमा पीसीआर जाँचमा ढिलाइ

कर्णालीका अस्पतालहरुमा अक्सिजनको अभाव मात्र छैन, पहाडी जिल्लामा पीसीआर जाँच गर्ने मेसिन नहुँदा रिपोर्ट आउन एक सातासम्म कुर्नुपर्ने अवस्था छ । पहाडी जिल्लाबाट संकलन गरिएको स्वाब तराईका जिल्लामा ल्याएर टेष्ट गरिँदै आएका कारण पहाडी जिल्लाका जनताले पीसीआर परीक्षणको रिपोर्ट धेरै दिन कुर्नु परेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप