केन्द्रीय संस्करण

जीवनदर्शन : मित्रताको जादु

person explore access_timeजेठ ३, २०७८ chat_bubble_outline0

एक पटक हम्मरले साँचोसित भनेछ– ‘साँचो भाइ ! तिमी मभन्दा साना छौ तैपनि ठूलठूला ताल्चा सजिलै खोल्छौ तर म तिमीभन्दा निकै ठूलो छु । तथापि सानै ताल्चा खोल्न पनि निकै प्रयास गर्नुपर्छ किन होला ?’ हम्मरको कुरा सुनेर साँचोले भनेछ– ‘हम्मर दाजु ! कुरो सामान्य छ । खासमा भन्नुहुन्छ भने ताल्चा मैले खोलेको होइन, ऊ आफैँ खुलेको हो । म मित्रता गरी उसको मन जित्ने प्रयास गर्छु । त्यसपछि ऊ आफैँ खुल्छ मैले केही गर्नैपर्दैन तर तपाईं बल प्रयोग गर्नुहुन्छ । यसबाट तन जित्न त सकिन्छ तर मन जित्न सकिँदैन । त्यसैले निकै प्रयास गर्नुपरेको हो ।’ थाहा छैन सानैदेखि सुन्दै आएको यस कथामा केकति सत्यता छ तर मित्रतामा ठूलो शक्ति हुन्छ भन्ने कुरा भने सत्य हो ।

संसारमा सबै जित्न चाहन्छन् । हार कसैलाई पनि मन पर्दैन । प्रायः सुनिन्छ सन्तानसित हारेको मन पराउँछन् अविभाक तर त्यो पनि रूपमा मात्र हो । सारमा जित्न नै खोजिरहेका हुन्छन्, त्यही प्रयास भइरहेका हुन्छन् । बालबालिका जित्न चाहन्छन् अविभावकसित, पिरेर हुन्छ कि रोएर हुन्छ । सकेसम्म पिर्छन्, नसके रुन थाल्छन् । अभिवभावक जित्ने प्रयास गरिरहेका हुन्छन् उनीहरूलाई फकाएर हुन्छ कि हप्काएर हुन्छ । केही नलागे माग पूरा गरेर चुप गराउनतिर लाग्छन् तैपनि हार्न चाहँदैनन् । घरपरिवारको अवस्था त्यस्तै छ, समाजको अवस्था त्यस्तै छ, देशको अवस्था त्यस्तै छ । कमिलादेखि हात्तीसम्म, मानिसदेखि भुसुनासम्म सबै जित्न चाहन्छन्, जित्ने प्रयास गरिरहेका हुन्छ । भुस्याहा कुकुरहरूसमेत बरु पुच्छर लुकाएर भागिरहेका हुन्छन् तैपनि ङ्यारङुर गरी आफू हारेको छैन भन्ने सङ्केत गरिरहेका हुन्छन् तर जित्न भने कसैले पनि सकेका हुँदैनन् । कसैलाई त्यस्तो लागेको छ भने त्यो लागेको मात्र हो, वास्तविकता होइन ।

वास्तविक जित त्यतिबेला सम्भव हुन्छ जतिबेला मन जितिएको छ, जित्न सकिएको छ । कसैले कसैमाथि जित्न वा जितेको जस पाउन कसैले हारिदिनुपर्छ, हार स्वीकारदिनुपर्छ तर त्यो त्यतिबेला मात्र सम्भव हुन्छ जतिबेला मन जित्न सकिएको छ । मनैदेखि हार्न स्वीकारिएको छ । होइन भने जित्न खोजिएको मात्र हुन्छ, जितेको जस्तो लागिरहेको मात्र हुन्छ । वास्तवमा जितिएको हुँदैन । इतिहासले यही बन्छ, वर्तमानले यही देखाउँछ । हिजो पनि त्यस्तै थियो, आज पनि त्यस्तै छ । यसको अर्थ हो भोलि पनि त्यस्तै हुनेछ ।

आज संसारमा अभाव, अशान्ति, रोग, भोक, शोकजन्य जति पनि समस्या छन् यसको कारण यही हो । सबै तन जित्न चाहन्छन्, तन जित्ने होडमा छन् । यसैको कारण हावा दूषित भएको छ, पानी दूषित भएको छ । मन दूःषित भएको छ, माटो दूःषित भएको छ । आकाश दूषित भएको छ, जमिन दूषित भएको छ, जसले गर्दा नानाभाँतीका रोग उत्पत्ति भएका छन्, शोक उत्पत्ति भएका छन् । कतिको उपचार छ, कतिको उपचार नै छैन, कतिको उपचार पत्ता लाग्नै कति समय लाग्ने हो यसै भन्न सकिने अवस्था छैन । मानिसले मानिसलाई जित्न मात्र खोज्यो, सबैलाई जितेर अघि जान खोज्यो, अघि पुगेको देखाउन खोज्यो । फलतः आफैँसित हार्नुपर्ने अवस्था आयो । जबसम्म मानव समाज तन जित्ने दौडमा हुन्छ तबसम्म हुने यस्तै हो । साँच्चै जित्ने हो भने, जित्न चाहने हो भने मन जित्ने प्रयास गर्नुपर्छ त्यसपछि केही गर्नैपर्दैन । खोजेको चिज, चाहेको चीज त्यसैबाट प्राप्त भइरहेको हुन्छ ।

प्रश्न उठ्न सक्छ त्यस्तो कसरी ? उत्तर सहज छ, खासै गाह्रो छैन । यसका लागि न युद्ध गर्नुपर्छ न हातहतियारकै आवश्यकता पर्छ । जतिबेला एकले अर्कोलाई माया गर्न थाल्छौँ, प्रेम गर्न थाल्छौँ त्यसपछि केही गर्नै पर्दैन स्वतः एकले अर्कोको मन जितेर नसोचेको फाइदा लिरहेका हुन्छौँ । प्राचीन ऋषिमुनिले एउटा गीत गाएका छन्– ‘पूर्णस्य पूर्णमादाय पूर्णमेवा वशिष्यते ।’ यसको अर्थ हो संसारमा एउटा त्यस्तो फल छ जुन पूर्णबाट पूर्ण नै निकाल्दा पनि पूर्ण नै बाँकी रहन्छ । कुरो सुन्दा आश्चर्य लाग्न सक्छ, पूर्णबाट पूर्ण निकालेपछि खाली हुनुपर्नेमा कसरी पूर्ण नै बाँकी रहन सक्ला भन्ने तर आश्चर्य मान्नुपर्दैन । यो भनेको अरू केही होइन, यही माया, प्रेम र सद्भाव नै हो । जुन दिएर कहिल्यै सकिन्न । जति नै दिए पनि उति नै बाँकी रहन्छ ।

उदाहरण खोज्न त्यति टाडा जानै पर्दैन । आफ्नै वरिपरिको वातावरणलाई लिन सक्छौँ । जब हामी माया, प्रेम दिन थाल्छौँ तब पहरो टुसाउने थाल्नेछ, मरुभूमि रसाउन पुग्नेछ । बैला गाई भैँसी, बाख्री ब्याउने छन्, दूध, दही, घ्यु, बाच्छाबाच्छी, पाडापाडी, पाठापाठी दिने छन् । बाँजो जमिनले उर्वर बनेर अन्न, पात दिनेछन् । रुख, बिरुवा, वनस्पति हराभरा बनी फलफूल दिन थाल्ने छन् ।  हावा शुद्ध हुनेछ, पानी शुद्ध हुनेछ, माटो शुद्ध हुनेछ र समग्रमा जीवन ऊर्जा ऊर्जा प्रवद्र्धन हुन पुग्नेछ । जब जड पदार्थको त अवस्था त्यस्तो छ भने मानिसको कस्तो होला सोझै अनुमान लगाउन सकिन्छ ।

स्मरणीय के छ भने यहाँ कसैले पनि कतैबाट खोजेर दिएका होइनन्, दिएका हुँदैनन् । उनीहरूसित दिने चिज पहिले नै थियो । रुख बिरुवामा फलफूल थियो । जमिनमा अन्नपात थियो, पानीमा प्राण थियो । गाई, भैँसीमा दूध, दही, घ्यु थियो, यस्तैयस्तै तर त्यतिबेलासम्म दिएनन्, दिन सकेनन् जतिबेलासम्म हामीबाट केही पाएका थिएनन् । जब हामीले दिन थाल्यौँ तब उनीहरूले पनि दिन थाले । यी सब मन जितको करामत हो । मन जितियो सबै जितियो । होइन तन जित्न लागियो केही पनि पाइएन । भएको पनि गुम्दै गयो । यही हो मित्रताको चमत्कार, प्रेमको जादू, मायाको महत्त्व, स्नेहको शक्ति ।    

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.