बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैतडीमा जेठ १७ गतेसम्म निषेधाज्ञा

सोमबार, ०३ जेठ २०७८, १० : ३०
सोमबार, ०३ जेठ २०७८

बैतडीमा थप भएको निषेधाज्ञा  आजदेखि लागू भएको छ । थपिएको निषेधाज्ञा यही जेठ १७ गतेसम्म लागू हुनेछ । आइतबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले आदेश जारी गर्दै  निषेधाज्ञालाई १५ दिन थप गर्दै जेठ १७ गतेसम्म कायम गरेका हुन् ।  

यसअघि बैतडीमा वैशाख २० गतेदेखि जेठ २ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले गरेको सिफारिसअनुसार जेठ १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

जिल्लाका कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढिरहेकाले सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको जनाइएको हो । निषेधाज्ञाको समयमा सवारी साधन आवागमनमा पूर्ण रोक लगाइनेछ भने अनावश्यक कसैले पनि हिँडडुल गर्न पाइने छैन । खाद्यान्न तथा तरकारी पसल बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । यसअघि बिहान १० बजेसम्म पसल खोल्न पाइने निर्णयमा थप कडाइ गरिएको हो । 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले पनि आलोपालो मिलाई हप्तामा तीन दिन मात्रै दिनको दुई घण्टा सेवा दिनुपर्ने आदेशमा उल्लेख गरिएको छ । यसैगरी पूर्वस्वीकृति लिएका सवारी साधन मात्रै सञ्चालन गर्न पाइनेछ ।

कुनै निर्माणका काम गर्नुपरेमा सम्बन्धित कार्यालय प्रमुख र योजना प्रमुखले सिफारिस गरेमा आवश्यकताका आधारमा ती काम सञ्चालन गर्न दिने निर्णय भएको छ । कुनै विकास निर्माणका योजनाको काम अघि बढाउँदा सङ्क्रमण नफैलिने सुनिश्चितता भएको अवस्थामा त्यस्ता आयोजनामा मात्रै काम गर्न दिने र अन्यथा सबै विकास निर्माणका कामसमेत रोक्न भनिएको छ ।  
 
निषेधाज्ञाको अवधिमा सबै प्रकारका सभा सम्मेलन र बैठकहरुमा रोक लगाइएको छ भने विवाह, व्रतबन्ध, अन्तिम संस्कार जस्ता कार्य थोरै मानिसको सहभागितामा जिल्ला प्रशासन कार्यालयको समन्वयमा गर्न पाइनेछ । कसैले निषेधाज्ञाको उल्लङ्घन गरेमा सङ्क्रामक रोग ऐनअनुसार कारवाही हुने बताइएको छ । 

बैतडीमा कोरोनाका  सक्रिय सङ्क्रमितको सङ्ख्या ९१५ रहेको  छ । हालसम्म कोरोनाकै कारण ११ जनाको मृत्यु भइसकेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप