शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेलाई केले छेक्यो दासढुंगाबारे छानविन गर्न ?

विश्लेषक भन्छन्– घटना छोपछाप पार्ने षडयन्त्रमा सबै लागेका छन्
सोमबार, ०३ जेठ २०७८, १६ : २४
सोमबार, ०३ जेठ २०७८

काठमाडौं । हरेक वर्ष जेठ ३ गते भन्नासाथ धेरै नेपालीलाई एउटा त्रासदीपूर्ण घटनाको सम्झना हुन्छ, त्यो हो– २०५० सालको दासढुंगा प्रकरण । यो प्रकरणमा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको मृत्यु भएको थियो ।

दासढुंगा काण्ड जीप दुर्घटना मात्र हो कि षड्यन्त्र ? षड्यन्त्र हो भने को हो मदन भण्डारी र जीवराज आश्रितको हत्यारा ? र, अहिलेसम्म केले छेक्यो एमालेलाई दासढुंगा घटनाको छानविन गर्न ? २८ वर्षदेखि यी प्रश्नहरु अनुत्तरित छन् । उत्तर खोज्ने नागरिक तहबाट प्रयास भइरहे पनि जसले अग्रसरता देखाउनुपर्ने हो, त्यो पक्ष भने प्रायः मौन बस्ने गरेको छ ।

​हुन त २०५० साल जेठ ३ गतेयता त्रिशुलीमा धेरै पानी बगिसक्यो । एउटा सिंगै पुस्ता फेरियो । उतिबेला दासढुंगा काण्डको छानविन हुनुपर्छ भन्दै सडकमा उत्रने युवालाई पनि बुढ्यौलीले छोइसक्यो । उनै मदन भण्डारीले नेतृत्व गरेको पार्टी पटक–पटक सरकारमा पनि पुगिसक्यो । तर, अहँ, उक्त घटनाको न त छानविन गर्ने चासो नै रह्यो, न घटनाबारे नेपाली जनताले यथार्थ नै जानकारी पाए ।

हाल उनै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको पालककारुपमा आफूलाई उभ्याउन खोज्ने नेता केपी शर्मा ओली प्रधानमन्त्री छन् । मदनपत्नी विद्या भण्डारी राष्ट्रपति छिन् । तर, बर्षौंदेखिको यो रहस्यमय घटनाबारे सत्यतथ्य छानबिनमा भने उनीहरुको पटक्कै चासो छैन ।

औपचारिकताकै लागि भए पनि २८ औं मदन स्मृतिका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले दासढुंगा प्रकरणको रहस्य बाहिर नआएको भन्दै पत्ता लगाउन आग्रह गरेका छन् ।

कसरी भएको थियो दासढुंगा काण्ड ?

एमालेको पाँचौ महाधिवेशनबाट पारित जनताको बहुदलीय जनवादको सन्देश बोकेर मदन र जीवराज देशव्यापी अभियानमा थिए । अभियानकै क्रममा दासढुंगामा उनीहरु चढेको गाडी रहस्यमय ढंगले दुर्घटना भयो ।

कास्कीमा एमालेको जिल्ला अधिवेशनमा भाग लिन काठमाडौंबाट उनीहरु पोखरा गएका थिए । मदन र आश्रित पोखराको कार्यक्रम सकेर सोही दिन चितवन जाँदै थिए । चितवनमा हुने महिला अधिवेशनका प्रमुख अतिथि मदन भण्डारी नै थिए । तर, मदन र आश्रित चितवनको महिला अधिवेशनमा पुग्नै पाएनन् । पोखराबाट मुग्लिन हुँदै मदन चढेको गाडी चितवनतर्फ हुँइकिइरहेको थियो । त्यसैक्रममा २०५० साल जेठ ३ गते ५ बजेतिर दुई नेता चढेको बा अ प ८७९३ नम्बरको जिप त्रिशुलीमा खस्यो ।

गाडीका चालक अमर लामा गाडीबाट हामफालेर बाँच्न सफल भए पनि मदन भण्डारी र जीवराज आश्रित भने त्रिशुलीको भेलमा गाडीसहित बेपत्ता हुन पुगे ।

केही वर्षपछि मदनका गाडी चालक अमर लामालाई काठमाडौंको कीर्तिपुरमा माओवादीले गोली हानी हत्या गरे ।

किन भएन दासढुंगाको छानविन ?

तत्कालीन एमालेका नेता राधाकृष्ण मैनालीको अनुभवमा दासढुंगा प्रकरणको छानविन गर्न त्यसबेला एक आयोग बनाउने पहल नभएको पनि होइन । तर, हालका प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण उक्त प्रयास विफल हुन पुगेपछि त्यसयता बेलाबेलामा नागरिकस्तरबाट दासढुंगा प्रकरणमा चासो राखे पनि जिम्मेवार निकायले बेवास्ता गर्दै आएको हो ।

‘तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द नेतृत्वको राप्रपा र एमालेको सरकार भएका बेला वामदेव गौतमलगायत एमालेको टिमले दासढुंगाबारे छानविन गरौं भन्यो’, मैनाली सम्झन्छन्, ‘नरहरि संग्रौलालाई छानविन गर्न आयोग गठन गरेर नियुक्ति पनि गरियो । तर, त्यसबेला संग्रौलालाई छानविनको जिम्मा दिने कुरामा वर्तमान प्रधानमन्त्री रहेका केपी शर्मा ओलीले नै बबाल मच्चाउनुभयो र स्थगित हुन पुग्यो ।’

काँग्रेस नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेल दासढुंगा प्रकरणबारे एमालेले नै सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताउँछन् । ‘आजका दिन एमाले नेताहरुले मदनलाई सम्झँदै गर्दा छातीमा हात राखेर सत्यतथ्य के हो भन्ने कुरा भन्नुपर्छ’, कँडेल भन्छन्, ‘यदि जनतालाई भ्रमित पार्ने र स्टन्टको राजनीति गरिरहने हो भने भोलि फेरि यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न ।’

त्यस्तै बरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली दासढुंगा काण्ड छानविन गर्न ईच्छाशक्तिको अभाव भएको बताउँछन् ।

‘घटनाको छानविनको प्रयास भएको पनि थियो । तर, त्यसको सत्यतथ्यमा पुग्न सकिएको छैन’, ज्ञवाली भन्छन्, ‘दासढुंगा हत्याकाण्ड छानविन गर्न सरकारको इच्छाशक्ति हुनुपर्छ । ईच्छाशक्ति भएमा सरकार सत्यत–थ्यमा पुग्छ, पुग्न सकिन्छ । त्यसैले ईच्छाशक्ति हुन जरुरी छ ।’

नेकपा एमालेका नेता सुवास नेम्वाङ दासढुंगा घटनाबारे छानविनका लागि विगतमा पहल भए पनि परिणाम नआएको र अझै पनि त्यसलाई निष्कर्षमा पु¥याउन राज्यले पहल गर्नुपर्ने बताउँछन् ।

‘यो विषयलाई अलि जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संसारमा धेरै यस्ता घटनाहरु छन् । विकसित देशहरुमा पनि यस्ता कुरा चाँडै टुंगोमा पुगेको देखिँदैन’, उनको भनाइ छ ।

सुवास नेम्वाङले जस्तै बरिष्ठ नेता माधवकुमार नेपालले पनि दासढुंगाबारे यथार्थ पत्ता लगाउनुपर्ने बताएका छन् । मदन भण्डारीको निधनपछि करिब १० वर्ष पार्टीको नेतृत्वमा बसेका नेता नेपालले मदन–आश्रितको २८ औं स्मृति दिवसमा निकालेको प्रेस वक्तव्यमा भनेका छन्–

‘जननेता कमरेड मदन भण्डारी कमरेड जीवराज आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद निधन भएको २८ बर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर आएन । घटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनाले यस घटनालाई झनै रहस्यमय बनाएको छ । त्यसैले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गर्न चाहन्छु ।’

केपी ओलीले बबाल मच्चाउनुभयो : आरके मैनाली

दासढुंगा प्रकरण अहिलेसम्म रहस्यमै रहनुमा सरकारमा रहनेहरुकै भुमिका बढी देखिन्छ । मैले जानेसम्म तत्कालीन प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द नेतृत्वको राप्रपा र एमालेको सरकार भएका बेलामा वामदेव गौतमलगायत हाम्रो एमालेको टिमले दासढुंगा छानविन गरौं भनेर भनियो । नरहरि संग्रौलालाई छानविन गर्न नियुक्ति पनि गरियो । तर, त्यसबेला संग्रौलालाई छानविनको जिम्मा दिने कुरामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै बबाल मच्चाउनुभयो र स्थगित भयो ।

सुरुमा प्रस्ताव गर्ने फेरि ओलीजी नै हो । तर, पछि नरहरिलाई हटाउने कुरामा नेपाली काँग्रेसलाई समेत संसदमा प्रयोग गरेर संग्रौलाको नियुक्ति २७÷२८ दिनमै खारेज नगरी नहुने तहमा पु¥याउनुभयो र उहाँको नियुक्ति खारेज गरियो ।

ओलीसमेत बसेर दासढुंगा छानविन गर्ने हाम्रो आन्तरिक सहमति थियो । तर, पछि किन हो किन, उहाँ विरोधमा लाग्नुभयो, यो एउटा रहस्यमय कुरा छ ।

त्यसबेला ओली आफू भने सरकारमा हुनुहुन्थेन । यद्यपि पार्टीमा पकड राम्रै थियो । त्यही भएर त्यसको छानविन वा खोजविन हुनै दिनुभएन ।

अरु मसिना–मसिना कुरा गर्ने हो भने ओलीजी नै गृहमन्त्री भएका बेला पनि दासढुंगाको खोजविन गर्ने भन्दा पनि छलछाम गर्ने कुरामा उहाँको भुमिका माथि रह्यो । केही पाएका प्रमाणहरुलाई पनि मेटाउने कुरामा लाग्नुभयो, यी सबै रहस्यमै छन् ।

रहस्य भएकै कारण अहिले राष्ट्रपति र प्रधानमन्त्री दुबैजना सत्ताको नेतृत्व तहमा हुँदा पनि घटना छानविन गर्ने कुरा आएन ।

बरु एकजना माओवादीका चौधरी थरका नेताको अन्तरवार्ता आएको थियो, उनको भनाइअनुसार अमर लामालाई मार्ने बेलामा तत्कालीन माओवादीका नेता रामबहादुर थापा बादल र ओलीजीसमेत सहमत भएपछि माओवादीको चक्रव्यूहमा उनलाई मारिएको हो । 

यदि त्यसरी प्रतिशोधका आधारमा अमरलाई मार्नुभन्दा त उनको बयान लिनुपर्थ्यो । ती चौधरीले पनि दासढुंगाको प्रमाण मेटाउनकै लागि माओवादीसँग मिलेर उनकै भनाइमा एक विद्यार्थीको कोठामा विद्याजी, ओलीजी, बादल र अर्को एकजना नेता बसेर त्यो निर्णय गरिएको हो ।

यसरी यो प्रकरणमा नयाँ पहेली पनि आएका छन् । यी सबै कुरा हुँदाहुँदै पनि छानविनको चासो छैन । अहिले माधवकुमार नेपालले चासो राख्दा पनि ओलीको मुख खुलेको छैन ।

घटनाक्रमहरुलाई हेर्दा सीधारुपमा त्यो घटना रहस्यमै रहनुमा अहिलेका सत्तासीनकै हात थियो भन्न सक्ने अवस्था पनि छैन । होइन, उहाँहरुले त्यसको छानविन नगरेको सत्य अगाडि नै छ । किन खोजी गरेनन् भन्दा प्रमाण पाइँदैन भनेर भन्छन् । खोजविन गर्दा नयाँ नयाँ कुरा आउला, त्यसले आफूलाई पनि अप्ठेरो पार्न सक्छ भनेर खोजविन नगरेको पनि हुन सक्छ ।

यस घटनालाई नेपाली जनमानसबाट बिर्साउँदै लैजाने, मदनका राम्रा कुराको चर्चा गरिहने तर दासढुंगाको चर्चा नै नगर्ने प्रयासमा उहाँहरु लाग्नुभएको छ ।

हिजो तीन बर्षसम्म आफ्नै एकलौटी सरकार हुँदा त छानविन र खोजबिन भएन भने अब आजका दिनमा त सरकार नै कतिबेला ढल्छ भन्ने बेला र चुनावमा समेत जाने या के गर्ने भन्ने भइरहेका बेला दासढुंगाको खोजीमा अहिलेका प्रधानमन्त्री र राष्ट्रपति लाग्छन् भनेर भन्ने कुरै भएन । बरु यो घटनालाई छोपछाप पार्ने षडयन्त्रमा सबै लाग्छन् ।

यदि छानविन गर्न चाहने हो भने यसलाई कसैले रोक्दैन, रोकेको पनि छैन । रोकेको छ भने सत्तासीनहरुले नै रोकेका छन् । राष्ट्रपति र प्रधानमन्त्री यदि शक्तिशाली भएको र सेनासमेत आफ्नो हातमा आइसक्दा समेत छानविन गर्दा कसले रोक्छ ? बरु छानविन गर्दा छानविन टोलीले कुनै अत्तोपत्तो नपाउनु या दुर्घटना नै हो भन्ने ठाउँमा पुग्नु एउटा कुरा हो र चासो नै नराख्नु अर्को कुरा हो ।

पहल भएको हो, परिणाम नआएको मात्रै हो : सुवास नेम्वाङ

दासढुंगाबारे एमालेले किन छानविन नगरेको भनेर हामीले नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङसँग चासो राख्यौं–

दासढुंगा घटनाको छानविन गर्न एमालेलाई केले रोकिरहेको छ ?

रोक्न त केहीले पनि रोकेको छैन । तर, यसबारे विषयहरु उठिरहे पनि कुनै टुंगोमा पुग्न सकिएको छैन ।

२८ बर्ष बितिसक्यो, तपाई पनि एमालेको जिम्मेवार नेता हुनुहुन्छ । तपाई चाहिँ यो घटनाको कसरी छानविन होस् भन्ने चाहनुहुन्छ ?

यस्ता विषयहरु टुंगोमा पुग्नुपर्छ भन्ने कुरामा कसैको पनि दुईमत होलाजस्तो लाग्दैन ।

पटक–पटक एमाले सरकारमा पनि पुगेको छ । अहिले त प्रधानमन्त्री र राष्ट्रपति समेत एमालेकै हुनुहुन्छ । यस्तो बेलामा पनि छानबिनमा किन ध्यान पुगेन त ?

जुन दिन घटना भयो, त्यही दिनबाट यो विषय उठेको हो । त्यसैले अहिले आएर मात्रै प्रश्न उठेको चाहिँ होइन ।

यतिबेला थप अनुकुल समय हो कि ?

राष्ट्रपति, प्रधानमन्त्री हुनु र नहुनुले अनुकुलता हुने र नहुने भन्ने कुरा होइन । यो विषय त देशको, राज्यको विषय हो । यस्ता विषयमा सदा सर्वदा ध्यान जानुपर्छ ।

कनुनीरुपमा कुनै बाधा अड्चन पो भएर हो कि ?

कानुनीरुपमा केही बाधा अड्चन छैन । यसबारेमा सदा सर्वदा सबैले प्रयास र पहल गर्छौं भन्नुभएकै हो । तर, ठोस परिणाम मात्र नआएको हो । यो र त्यो भन्नुभन्दा पनि यो सत्य सबैका अगाडि प्रस्तुत भएको हो नि । यो विषयलाई अलि जिम्मेवारीपूर्वक सोच्नुपर्छ । संसारमा धेरै घटनाहरु छन् । विकसित देशहरुमा पनि यस्ता कुरा चाँडै टुंगोमा पुगेको देखिँदैन । त्यसैले, चाहना हामी सबैको यसबारेमा एउटा ठोस निष्कर्ष निस्कियोस् भन्ने नै हो । तर, निष्कर्ष निस्किएको छैन । यस्ता विषयलाई जिम्मेवारीपूर्वक हेर्नुपर्छ भन्ने दृष्टिकोण राखेर अगाडि बढ्नुपर्छ ।

ईच्छाशक्ति भए तथ्यमा पुग्न सकिन्छ : डा. चन्द्रकान्त ज्ञवाली

छानविन आयोग गठन भएर छानविनको प्रयास भएको थियो । तर, त्यसको सत्यतथ्यमा पुग्न सकिएको छैन । मलाई के लाग्छ भने दासढुंगा हत्याकाण्ड छानविन गर्न सरकारको ईच्छाशक्ति हुनुपर्छ । ईच्छाशक्ति भएमा सरकार सत्य–तथ्यमा पुग्छ, पुग्न सकिन्छ । त्यसैले ईच्छाशक्ति हुन जरुरी छ ।

यो रहस्यमय घटनाको छानविन गरेर यथार्थ बाहिर ल्याउनका लागि कतैबाट रोकतोक छजस्तो लाग्दैन । निष्पक्ष आयोग गठन गरेर छानविन हुनुपर्छ । जनताले पनि जवाफ खोजेका छन् । सरकार र दलहरुले ईच्छाशक्ति देखाउँदै आयोग बनाएर छानविन गर्न चाहे कानुनी अड्चन पनि रहँदैन ।

सत्यतथ्य के हो, एमालेले भन्नुपर्छ : देवेन्द्रराज कँडेल

दासढुंगा काण्ड धेरै चर्चामा आएको विषय हो । घटनामा मदन भण्डारी र जीवराज आश्रितको निधनलाई दुर्घटना भन्ने कुरा पनि आयो भने हत्या हो भनेर त्यसबेला नेकपा एमालेले आवाज पनि उठाएको थियो । घटनालाई लिएर निकै ठूलो आन्दोलन र तोडफोडसमेत भएको हो ।

त्यहीबेलादेखि निरन्तर एमालेजनले मदनका नाममा राजनीति पनि गर्दै आए । विभिन्न आरोप पनि लगाए । मदनका चालक अमर लामा थिए, उनको पनि रहस्यमय नै हत्या भयो । अहिले मुलुकको ठूलो पार्टी पनि एमाले नै छ । सरकार उनीहरुकै छ । छानविन गर्न कसैको रोकतोक पनि छैन । तर, वास्तविकतामा जानुभन्दा पनि विभिन्न प्रचारबाजी गरेर जनतामा भ्रमित गर्ने काम उनीहरुबाटै भइरहेको छ ।

आज एमाले नेताहरुले मदनलाई सम्झँदै गर्दा छातीमा हात राखेर सत्यतथ्य के हो, भन्नुपर्छ । यदि जनतालाई भ्रमित पार्ने र स्टन्टको राजनीति गरिरहने हो भने भोलि फेरि यस्ता घटना नदोहोरिएलान् भन्न सकिन्न ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप