शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एमाले कार्यदलमा अलमल : दुई दिन बित्यो, बैठक अनिश्चित

कसरी हुन्छ माओवादी नेताको व्यवस्थापन ?
मङ्गलबार, ०४ जेठ २०७८, ०९ : ४०
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विवाद मिलाउन गठित कार्यदल अलमलमा परेको छ । औपचारिक बैठक नै बस्न नसक्दा कार्यदल अलमलमा परेको हो । यद्यपि नेताहरुले औपचारिक बैठक नबसे पनि आन्तरिक परामर्श र गृहकार्य भइरहेको दावी गरेका छन् ।

आइतबार अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलबाट दुवैतर्फका पाँच÷पाँचजना गरी १० सदस्यीय कार्यदल बनेको थियो । कार्यदलले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भनिए पनि दुई  दिनसम्म औपचारिक बैठक नै बस्न सकेको छैन ।

आज मंगलबार कार्यदलको औपचारिक बैठक बस्ने÷नबस्ने अझै निश्चित नभएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । ‘अहिलेसम्म खबर आएको छैन, भरेसम्म हेरौं’, पाण्डेले बैठकबारे अनविज्ञता प्रकट गरे ।

उनले केही सदस्य काठमाडौं बाहिर भएकाले पहिलो दिनको कार्यदल बस्दा सबैजना बसौं भन्ने भएर केही ढिला भएको हुन सक्ने बताए । ‘तर थाहा छैन, बस्न पनि सक्छ’, पाण्डेको भनाइ छ ।

कार्यदल सदस्यहरुले सोमबारबाटै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालसँग अनौपचारिक  परामर्श भने भइरहेको बताएका छन् ।

दुवै नेताको सल्लाह र सुझावका आधारमा कार्यदलले आफ्नो काम अघि बढाउने उनीहरुको भनाइ छ । बैठक बस्न ढिला भएपछि कार्यदललाई प्रतिवेदन तयार पार्न समय लाग्ने भएकाले कार्यदलको समयसमेत लम्बिने भएको छ ।

अध्यक्ष ओली पक्षका कार्यदल संयोजक तथा स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले मंगलबार कार्यदलको बैठक बस्ने तयारी भए पनि समय निश्चित भैनसकेको बताए ।

‘आज मंगलबार बसौं भन्ने कुरा त भएको हो, तर नेताहरुको पनि समय म्यानेज गर्नुपर्ने भएकाले आज पनि बैठक बस्ने÷नबस्ने निश्चित भैसकेको छैन’, नेम्वाङले भने, ‘शंकर पोखरेलजी दाङबाट आएपछि बसौं भन्ने कुरा छ ।’

कार्यदलमा अध्यक्ष ओलीतर्फबाट नेम्वाङसहित नेताहरु विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य छन् । त्यस्तै नेता नेपालका तर्फबाट भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघुजी पन्त सदस्य छन् ।

एमालेको आन्तरिक विवादमा नेपाल पक्षले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउनु पर्ने बटमलाइन बनाएको छ । ओली र नेपालबीच गत बिहीबार बूढानीलकण्ठमा करिब चारघण्टा भएको वार्तामा पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट अगाडि बढाउने सहमति भएको थियो । तर, त्यसको मोडालिटी कस्तो हुने भन्नेबारे छलफल भैसकेको छैन ।

कसरी हुन्छ माओवादी नेताको व्यवस्थापन ?

पार्टीलाई जेठ २ मा फर्काउन अध्यक्ष ओली सहमत भैसकेकाले त्यस विषयमा धैरै छलफल गर्नपर्ने आवश्यक नभएको कतिपय नेताहरुको भनाइ छ । तर, अर्को पार्टीबाट आएका नेताहरुको व्यवस्थापन कसरी गर्ने भन्नेमा कार्यदललाई चुनौती हुने देखिएको देखिएको ती नेताको भनाइ छ ।

फागुन २३ को सर्वोच्च अदालतको निर्णयपछि माओवादी केन्द्र  छाडेर रामबहादुर थापा बादल सहित २३ जना नेता एमाले प्रवेश गरेका थिए । उनीहरुलाई माधव पक्षको अनुपस्थितिमै २८ फागुनमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा मनोनीत गर्दै विभागीय जिम्मेवारी दिएका थिए ।

त्यसपछि थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापालाई गएको १० वैशाखको बालुवाटार बैठकबाट स्थायी कमिटी सदस्यको जिम्मेवारी तोकिएको थियो ।

तर, कार्यदल सदस्य समेत रहेका स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे नेताहरुको व्यवस्थापनमा समस्या नपर्ने बताउँछन् । ‘व्यवस्थापन त गर्नै पर्छ । त्यसमा दुईमत नै भएन । अर्को पार्टीबाट आएको मान्छे आफ्नै घर जाउ भन्न मिल्दैन, कसैले पनि त्यस्तो सोच्दैन’, पाण्डेको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप