शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दासढुंगाको रहस्य : कसले, किन गर्‍यो अमर लामाको हत्या ?

मङ्गलबार, ०४ जेठ २०७८, १० : ३०
मङ्गलबार, ०४ जेठ २०७८

तनहुँ घर भएका अमर लामा मदन भण्डारीका गाडी चालक थिए । नेकपा एमालेका कार्यकर्तासमेत रहेका उनै लामाले चलाएको गाडी २०५० जेठ ३ गते दासढुंगाबाट त्रिशुली नदीमा खसेको थियो । मदन भण्डारी र जीवराज आश्रित त्रिशुलीमा डुबेर मरे, अमर लामाचाहिँ गाडीबाट ओर्लिएर बाँचे । एमालेले यो घटनालाई षड्यन्त्रपूर्वक भएको हत्या ठान्यो ।

दश वर्षपछि उनै अमर लामाको २०६० साल साउन ११ गते अपरान्ह पौने ४ बजे कीर्तिपुरमा गोली हानेर हत्या गरियो । लामाको टाउकोमा पछाडिबाट गोली लागेको थियो । उनको टाउकोमा प्रहरीले प्रयोग गर्ने ९–एम पेस्तोल र पोइन्ट सिक्स सेभेन सिक्सको गोली लागेको थियो ।

त्यसबेला अमर लामाको हत्या माओवादीले गरेको भनियो । लामाको हत्या माओवादीले गरेको प्रहरी रिपोर्ट रहे पनि माओवादीले चाहिँ यो घटनाको अहिलेसम्म जिम्मा लिएको छैन ।

केही वर्षअघि एमाले नेता माधवकुमार नेपालले अमर लामाको हत्या माओवादीले गरेको सार्वजनिक भाषण गरेका थिए । त्यसको जवाफमा प्रचण्डले लामाको हत्या माओवादीले नगरेको बताएका थिए ।

मदन–आश्रितको मृत्युको घटना २८ वर्षसम्म रहस्यमै रहेको भन्दै एमाले नेता माधवकुमार नेपालले सोमबार विज्ञप्ति जारी गरेर यसको यथार्थ बाहिर ल्याउन सम्बन्धित पक्षसँग आग्रह गरेका छन् । त्यो सम्बन्धित पक्ष भनेको नेपाल सरकार हो । र, प्रधानमन्त्री केपी ओली एवं गृहमन्त्री रामबहादुर थापा बादल हुन् । सरकार र माओवादी दूबैको सूचना गृहमन्त्री बादलसँग छ र उनी आफैंले बताउन सक्छन्, लामाको हत्या माओवादीले गरेको हो कि हैन ।

अहिलेसम्म अमर लामाको हत्या कसले र किन ग¥यो भन्ने खुल्न सकेको छैन । लामाको हत्याको उद्देश्य र हत्यारा पत्ता लगाउन सकेको खण्डमा मात्रै दासढुंगा काण्डको पर्दा उघार्न सकिने कतिपयको ठम्याइ छ ।

मदन भण्डारी र जीवराज आश्रित आफ्नो पनि आदरणीय नेता भएकाले आफूले हत्या नगरेको र त्यो दुर्घटना नै भएको लामाले बताउँदै आएका थिए । तर, यो घटनालाई सामान्य दुर्घटनाका रुपमा लिन एमालेजन अहिलेसम्म तयार छैनन् । तथापि २८ वर्षसम्म यसलाई नेकपा एमालेले न त दुर्घटना भनेको छ, न त ‘हत्यारा’को खोजी नै गरेको छ ।

अमर लामाको ट्रेजेडी

दासढुंगा काण्डपछि अमर लामा करिब ४ वर्ष जेलमा बसे । लापरवाही गरेर गाडी चलाएको आरोपमा चितवन जिल्ला अदालतले उनलाई आजीवन काराबास र सर्वस्वहरण गर्ने फैसला सुनाएको थियो । तर, सर्वोच्च अदालतले उनलाई दुई वर्ष कैद र ५ सय रुपैयाँ जरिवाना मात्र ग¥यो । सर्वोच्चको फैसलापछि उनी जेलमुक्त भए ।

दासढुंगा काण्डपछि पनि सामान्य परिवारका लामाको आर्थिक अवस्थामा कुनै फेरबदल देखिएन । उनको परिवार तनहुँको भानुमा सामान्य दुखजिलो गरेरै बस्यो भने लामाचाहिँ काठमाडौंतिर भौतारिएर बसे । उनी त्रशित एवं असुरक्षित थिए ।

यसबीचमा लामा आफूलाई सुरक्षित बनाउन एमाले छाडेर नेपाली काँग्रेसमा प्रवेश गरे । उनी नयाँ बानेश्वरमा डेरा लिई बस्थे, कालिकास्थानमा कार्यालय रहेको ताजाखबर साप्ताहिकको प्रवन्ध सम्पादक भएर कार्यालय जान थाले ।

तर, कार्यालय गएको एक साता पनि नपुग्दै उनी ताजाखबरको कार्यालयबाटै ०६० साल साउन ११ गते दिउँसै अपहरणमा परे र त्यसको केही घण्टामै कीर्तिपुरमा मारिए ।

​लामालाई तीनजनाले हामी प्रहरी हेडक्वार्टबाट आएका हौं भन्दै कार्यालयबाटै अपहरण गरेर बा १ ज २५६० नम्बरको रातो रंगको भाडाको ट्याक्सीमा हालेर कीर्तिपुर पु¥याएका थिए ।

लामालाई त्यहाँबाट उपत्यका बाहिर लैजाने कोसिस गरिएको देखिन्छ । तर, कीर्तिपुरमा सेनाको चेकिङ भएकाले अपहरणकारीले आफू बच्नका लागि लामालाई त्यहीँबाट भाग्न लगाएर पछाडिबाट गोली हानेको त्यसबेलाको प्रहरी अनुसन्धानले देखाएको थियो ।

लामाको हत्याबारे नेपाल प्रहरीका डीएसपी डेगबहादुर जीसीले अनुसन्धान रिपोर्ट तयार पारेका थिए । उता, गृहमन्त्रालयले हत्याको भोलिपल्टै ०६० साल साउन १२ गते पुनरावेदन अदालत पाटनका न्यायाधीश मधुसुधनलाल श्रेष्ठको नेतृत्वमा एक सदस्यीय जाँचबुझ आयोगसमेत बनाएको थियो । १५ दिनमा रिपोर्ट पेश गर्ने गरी गठित सो जाँचबुझ समितिको प्रतिवेदन अहिलेसम्म गृहमन्त्रालयले गुपचुप राखेको छ ।

चाहे भने गृहमन्त्री बादलले लामाको हत्यासम्बन्धी त्यो फाइल अहिले पनि खोल्न सक्छन् । र उनले अमर लामाका हत्यारा एवं त्यसको उद्देश्य पत्ता लगाउन सक्छन् ।

दासढुंगा चलचित्रका निर्देशक मनोज पण्डितले फिल्म निर्माणपूर्व अमर लामाका विषयमा पनि अनुसन्धान गरेका थिए । यस क्रममा लामाको हत्या कसले ग¥यो जस्तो लाग्छ भन्ने प्रश्नमा पण्डितले माओवादीकै छापामारबाट लामाको हत्या भएको आफूले बुझेको बताए । तर, कुन उद्देश्य र किन उनको हत्या भयो भन्नेचाहिँ आफूले अहिलेसम्म बुझ्न नसकेको पण्डित बताउँछन् ।

अमर लामाको हत्यालाई दासढुंगासँग नजोडी स्वतन्त्र रुपमा अनुसन्धान गर्ने हो भने तथ्यमा पुग्न सकिने पण्डित बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप