शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मधेसका विज्ञको प्रश्न : एमालेलाई प्रधानमन्त्री, जसपालाई के ?

‘महन्थ ठाकुरबाट ठूलो भूल भयो, मधेस बिचरा भयो’
मङ्गलबार, ०४ जेठ २०७८, ११ : ०६
मङ्गलबार, ०४ जेठ २०७८

मधेस मामिलाका जानकारहरुको विश्लेषणमा सत्ता समीकरणको पछिल्लो परिघटनाबाट सबैभन्दा बढी फाइदा एमालेलाई भएको छ । सबैभन्दा धेरै घाटाचाहिँ जनता समाजवादी पार्टी (जसपा) लाई भएको छ ।

एमालेले सरकारको नेतृत्व पायो र आफनो फुट्न लागेको पार्टी पनि जोगायो । यसले माओवादी केन्द्रलाई खासै असर गरेन । काँग्रेसले पनि आफ्नो अधिवेशनको तयारीमा लाग्न पाएकै छ । तर, जसपा भने केपी ओलीलाई सरकारमा टिकाउने कि हटाउने भन्ने विवादमा रुमलिएर आफू चाहिँ फुटको सँघारमा पुगेको छ ।

विश्लेषकहरुका अनुसार सत्ता समीकरणको खेलमा सबै दलले केही न केही पाएकै छन्, जसपाले मात्रै गुमाएको छ । केपी ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि जसपा लगभग विभाजन हुने अवस्थामा पुगेको छ, घोषणा हुन मात्र बाँकी छ ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई हटाउनका लागि काँग्रेस, माओवादी केन्द्रसँग मिलेर गठबन्धन बनाए भने अर्का अध्यक्ष ठाकुर र बरिष्ठ नेता राजेन्द्र महतो ओलीलाई प्रधानमन्त्री बनाउन तटस्थ बसे । तर, तटस्थका नाममा उनीहरुले बालुवाटार र भक्तपुरमा एमाले नेताहरुसँग उठबस गरेर केपी ओलीलाई साथ दिए ।

अर्काकै लागि लडेर सकियो : चन्द्रकिशोर

जसपा राजनीतिक षडयन्त्रको शिकार भएको र यसमा सो पार्टीका नेताहरु प्रयोग भएको राजनीतिक विश्लेषक एवं वरिष्ठ पत्रकार चन्द्रकिशोर टिप्पणी छ । उनी भन्छन्, ‘लामो समयदेखि राजनीतिमा उकुस–मुकुस थियो, त्यसले कतै न कतै झट्का मार्थ्यो, जसपालाई मार्यो ।’

पूर्वसमाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण हुनुपर्छ भन्ने मधेशको माग थियो तर जुन परिस्थितिमा एकीकरण भयो, त्यो अस्वाभाविक भएकाले त्यसको असर अहिले देखिइरहेको चन्द्रकिशोरले बताए । उनले भने, जसपाले अझै पनि आफ्नो धरातल र आफ्नो पहिचान बनाउन सकेन, जहिले पनि अर्काकै लागि लडेर समाप्त भयो ।’

महन्थ ठाकुरबाट ठूलो भूल भयो : कर्ण

मधेस मामिलाका जानकार एवं पूर्वराजदूत विजयकान्त कर्ण ओलीलाई पुनः प्रधानमन्त्रीमा फर्काउनु नेपाली राजनीतिमा धेरै ठूलो भूल भएको टिप्पणी गरे । संसदमा जसरी ओली असफल भएका थिए, त्यसलाई दलहरुले निरन्तरता दिनुपथ्र्यो । तर, त्यसमा चुकेको उनले बताए ।

जसपाका अध्यक्ष महन्थ ठाकुरबाट ठूलो भुल भएको कर्णले बताए । उनले भने, ‘महन्थजीलाई लाग्दैछ कि प्रधानमन्त्री ओलीले हाम्रा सबै माग पूरा गरिदिनुहुन्छ । तर, मलाई त्यस्तो लाग्दैन, केही मुद्दाहरु फिर्ता भए, तर रेशम चौधरीको रिहाइ, संविधान संशोधन, नागरिकता लगायतका माग पूरा गर्न ओलीले सक्नुहुन्न र उहाँले गर्न पनि चाहनुभएको छैन ।’

ओलीले मधेसी नेतालाई प्रयोग गरेको बताउँदै कर्णले ओलीका कारण जसपा बनेको थियो, उनकै कारण विभाजन हुने अवस्थामा पुगेको बताए ।

तर, यसले गर्दा मधेस कमजोर भएको बताउँदै कर्णले ओलीको चाहना नै मधेसलाई कमजोर पार्नु थियो र उनी आफ्नो मिसनमा सफल भएको बताए । उनी भन्छन्, ‘यो खेलमा सबैभन्दा बढी एमालेलाई फाइदा भएको छ । त्यसपछि काँग्रेस र माओवादी केन्द्रलाई । तर, जसपा समस्यामा परेको छ ।’

अन्तराष्ट्रिय खेलमा जसपा मोहरा भयो : तुलानारायण साह

संसदीय राजनीति भनेको पावरको गेम हो, संसदमा यदि एउटा कुनै दलको बहुमत छैन भने शक्तिका लागि खेल हुनु स्वभाविक हो । विश्वमा नै यस्तै भइरहेका हुन्छन् । तर, यो समग्र खेलमा जसपा मोहरा बनेको छ विश्लेषकहरू बताउँछन् ।

राजनीतिक विश्लेषक तुलानारायण साह भन्छन्, ‘यो खेलका कारण जसपा विभाजनको अवस्थामा पुगेको छ । सबैभन्दा बढी विवाद एमालेमा थियो, माधव नेपाल पक्षका सांसदहरु राजीनामा दिने अवस्थामा पुगिसकेका थिए, अर्को दल दर्ता गराउने कुरा पनि आइसकेको थियो । तर, एमाले एकीकृत भयो, जसपामा विभाजन आयो ।’

नेपालको पछिल्लो राजनीतिमा जे–जस्तो भयो, त्यो अन्तराष्ट्रिय चासोका कारण भएको कुरा कसैबाट नलुकेको बताउँदै उनले नेपालको निर्वाचन, आन्दोलन तथा सत्तामा अन्तराष्ट्रिय शक्तिको चलखेल हुने गरेको छ र यसको शिकार जसपा पनि भएको बताए ।

को कसका लागि प्रयोग भए, त्यो अहिले भन्न नसकिए पनि विस्तारै खुल्दै जाने साह बताउँछन् । प्रधानमन्त्रीमा जसरी ओली पुनः आए, यो राम्रो संकेत नभएको उनी बताउँछन् ।

साहको विचारमा पनि जसपाको अप्राकृतिक एकता भएको थियो, नेताहरुका बीचमा मन मिलेको थिएन । तर, एउटा अवस्थाका कारण एकता भयो, जुन आवश्यक थिएन, त्यसैले एक वर्ष नबित्दै विभाजनको अवस्थामा पुगेको छ ।

महन्थ पक्षको कामले दुःख लागेको छ : सत्यनारायण साह

मधेसका अर्का बुद्धिजीवी सत्यनारायण साहले जसपाको महन्थ ठाकुर पक्षले गरेको कामले आफूलाई दुःख लागेको बताए । इन्जिनियरसमेत रहेका साह जुन व्यक्तिले संसद विघटन गरे, उनैलाई पुनः प्रधानमन्त्री बनाएर राजनीतिमा एउटा ठूलो भूल गरेको टिप्पणी गरे ।

महन्थ ठाकुरको एउटा गलत निर्णयका कारण देश अर्कै मोडमा पुगेको बताउँदै साहले जसपाको गतिविधिका कारण मधेस बिचरा बनेको टिप्पणी गरे ।

उपेन्द्र र महन्थ दुबै ठीक : जय निशान्त

राजनीतिक विश्लेषक जय निशान्तको धारणा अलि फरक छ । उनी भन्छन्, ‘जसपामा देखिएका दुई धार कृत्रिम र अल्पकालीन हुन्, जो एउटा विन्दुमा गएर पुनः एक हुन्छ ।’

उपेन्द्र यादव र महन्थ ठाकुर आ–आफ्नो ठाउँमा दुबै ठीक रहेको विश्लेषण गर्दै उनले भने, ‘प्रधानमन्त्री ओली प्रतिगमनकारी भएकाले उनलाई साथ दिनुहुँदैन भन्ने उपेन्द्र यादवको भनाइ ठीक छ । मधेसको माग जसले पूरा गर्छ, त्यसलाई साथ दिने महन्थ ठाकुरको भनाइ पनि ठीक छ ।’

उनी अगाडि भन्छन्, ‘महन्थ ठाकुरले ओलीको राजनीतिलाई समर्थन गर्नुभएको छैन, उहाँँले मुद्दालाई समर्थन गर्नुभएको छ । उता, उपेन्द्र यादवले ओलीको कदमलाई विरोध गर्नुभएको छ, तर मधेसको मुद्दालाई समर्थन गर्नुभएको छ । त्यसैले दुबैजना आ–आफ्नो ठाउँमा ठीक हुनुहुन्छ ।’

आगामी दिनमा मधेसमा मुद्दा केन्द्रित राजनीति गर्नुपर्ने बताउँदै निशान्तले दुवै पक्षमा देखिएको असमझदारीलाई आपसमा मिलाएर अगाडि बढ्नु आवश्यक रहेको बताए ।

उनी भन्छन्, ‘एमाले, काँग्रेस र माओवादीमा कस्ता–कस्ता विवाद थिए, नेताहरुले बसेर मिलाए । जसपामा कुनै ठूलो विवाद छैन, केही कुरामा असमझदारी भएको हो, त्यसलाई मिलाउन सकिन्छ ।’

यद्यपि दुई धार एक ठाउँमा आएनन् भने मधेस कमजोर हुने र पुनः चुनौति थपिने निशान्तको बुझाइ छ । उनी भन्छन्, ‘अहिलेको समाधान भनेको चुनाव नै हो, यदि छिट्टै चुनाव भएन भने देशमा झन धु्रवीकरण बढ्छ र देशले अर्कै मोड लिन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप