शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारमा नजाने महन्थ–उपेन्द्रबीच सहमति, मौका पाए जसपाकै नेतृत्वमा सरकार बनाउने !

मङ्गलबार, ०४ जेठ २०७८, १३ : ४६
मङ्गलबार, ०४ जेठ २०७८

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने र प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने सहमति भएको छ । बरु दुई नेताबीच आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने सहमति भएको छ । 
 पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनेको हो । दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । 

तर, राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्ने दुई नेताबीच सहमति भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मतसम्बन्धी प्रस्तावलाई फेल गराएर जसपा नेपालकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत बनेको बताइएको छ । 

पार्टीमा उत्पन्न भएका समस्याहरुलाई पार्टीभित्र छलफल गरी विधान अन्तरगत रहेर समाधान गरिनुपर्नेमा  दुई अध्यक्षको विज्ञप्तिमा जोड दिइएको छ ।

यस्तै पार्टीभित्र कसैले पनि व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, पार्टी नेताहरुविरुद्ध भ्रम फैलाउने जस्ता कार्य अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने विषयमा पनि दुई नेताबीच सहमति भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप