बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

केनले स्पर्सलाई भने, ‘म क्लब छाडेर जान चाहन्छु’

मङ्गलबार, ०४ जेठ २०७८, १४ : २३
मङ्गलबार, ०४ जेठ २०७८

ह्यारी केनले यो सिजनपछि क्लब छाड्न चाहेको टोटनह्यामलाई जानकारी दिएका छन् । क्लबले शीर्ष तहमा प्रतिस्पर्धा गर्न नसकेकोमा निराश बनेपछि २७ वर्षीय खेलाडीले यो निर्णय लिएको बताइएको छ । स्पर्सले अर्को सिजन च्याम्पियन्स लिगमा खेल्ने सम्भावना अन्त्य भइसकेको छ ।

यसअघिसम्म स्पर्सले इंग्ल्याण्डको कप्तानलाई अनुबन्ध गर्ने अन्य क्लबको अफरलाई नकार्दै आएको थियो । तर, अब भने क्लबले ती प्रस्तावहरूमाथि पुनर्विचार गर्न सक्ने गोलडटकमले जनाएको छ ।

स्पर्स छाडेपनि केन प्रिमियर लिगमा रहन चाहेको पनि बताइएको छ । त्यसैले उनका लागि डेनियल लेभीले ठूलो रकम माग गर्ने अनुमान गरिएको छ । म्यान्चेस्टर युनाइटेड, म्यान्चेस्टर सिटी र चेल्सीलाई केनको सम्भावित गन्तव्यको रुपमा हेरिएको छ । तर, यो डिल पूरा हुन्छ या हुँदैन भन्नेमा अझै आशंका रहेको छ । तीनै महारथीले आफ्ना आक्रमणलाई पुनः जाग्रित गर्न खोजिरहेका छन् र कोरोना महामारीका बावजुद उनीहरुसँग खर्च गर्न सक्ने क्षमता पनि रहेको छ ।

म्यान्चेस्टर युनाइटेडको सम्बन्धमा भने टोलीले एडिन्सन काभानीको करार थप गरिसकेको छ । त्यसैले युनाइटेडले स्ट्राइकरको साटो अब दाहिनेपट्टीको विंगर खरिद गर्न इच्छा देखाएको छ । यसमा बोरुसिया डर्टमन्डका जाडोन सान्चोको नाम अग्रपंक्तिमा रहेको छ ।

युरोपियन च्याम्पियनसिप अघि नै केनले यो प्रक्रिया टुंग्याउन चाहेको पनि बुझिएको छ । पछिल्ला केही अन्तरवार्तामा केनले स्पर्समा आफ्नो निराशा खुलेर व्यक्त गरेका थिए र उपाधि जित्ने टोलीबाट खेल्न चाहेको बताएका थिए । ‘व्यक्तिगत अवार्ड राम्रो हो,’ उनले भनेका थिए, ‘करियरको अन्त्यमा म यसबारे सोच्ने छु । तर अहिले खेलाडीको रुपमा मेरो उद्देश्य भनेको टोलीले पनि उपाधि जितोस् भन्ने हो । म टोलीबाट ठूलो उपाधिहरू जित्न चाहन्छु तर अहिले हामीले त्यो गर्न सकिरहेका छैनौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप