बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जथाभावी आइसोलेसन सेन्टर नखोलौँ : स्वास्थ्य मन्त्रालय (भिडियो सहित)

मङ्गलबार, ०४ जेठ २०७८, १५ : २०
मङ्गलबार, ०४ जेठ २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पुरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ ।  कोभिड १९ संक्रमणका विरामीको संख्या बढेसँगै विभिन्न संघ–संस्थाहरुले आइसोलेसन सेन्टर खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्ड विनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ । ठूलो हल वा कोठामा बेड, ओढ्ने ओछ्याउने, अक्सिजनका सिलिन्डर लगायत सामाग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजी जस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरु, उपचारमा चाहिने उपकरणहरु, औषधीहरु र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाव दिए । उनले सामान्य भौतिक पूर्वाधारको व्यवस्था मात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरु स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्ने चेतावनी दिए ।

उनले भने– ‘पछिल्लो समय आइसोलेसनको नाममा मानिसहरु जम्मा गरेर बस्न मिल्ने ठाउँहरु धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर हामी सबैले बुझ्नुपर्ने विषय चाहिँ मानिसहरु आइसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नुभन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन ।’

उनले थप भने, ‘स्वास्थ्य जटिलता, अलिकति गाहे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आईसोलेसन केन्द्रहरु चाहिँ स्वास्थ्यका हिसावले अर्को घातक हुनसक्छ कि भन्ने डर छ । हामी संक्रमणको आशंकामा पुग्यौ भने अलग्गिएर बस्ने, परीक्षण गराउने, संक्रमण पुष्टि भइसकेपछि पनि आफ्नो घर परिवारको अरु सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्यौ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आइसोलेसन सेन्टरहरु स्थापना गर्दा स्वास्थ्यकर्मीहरु, त्यहाँ चाहिने उपकरणहरु, औषधीहरु र त्यहाँ गाहे हुने वित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौ भने हामीलाई गाहे हुन्छ ।’

अधिकारीले टोल टोलमा आईसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामाग्रीहरुको ठूलो खपत हुने र साँच्चै आवश्यक पर्ने अस्पतालहरुमा उपचार सामाग्रीको अभाव हुन सक्ने स्थिति श्रृजना भएकाले आफुहरु चिन्तित बनेको बताए । 
अधिकारीले कोभिड १९ को उपचार नभइरहेको अवस्थामा संक्रमण रोक्ने किसिमका गतिविधिमा विशेष ध्यान दिन पनि आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप