शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणबाट ४ जिल्लामा २१ जनाको मृत्यु

मङ्गलबार, ०४ जेठ २०७८, २३ : ०६
मङ्गलबार, ०४ जेठ २०७८

कोरोना सङ्क्रमणबाट आज रुपन्देही, बाँके, दाङ र रुकुममा थप २१ जनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत पाँचको मृत्यु भएको छ ।  मृत्यु हुने मध्ये चार रुपन्देहीका र एक अर्घाखाँचीका हुन् ।

सङ्क्रमणबाट सियारी–३ रुपन्देहीका २९ वर्षीय पुरुष, अर्घाखाँची खनदहका ४३ वर्षीय पुरुष,  तिलोत्तमा २ रुपन्देहीका ७९ वर्षीय पुरुष, बुटवल– १२ का ४० वर्षीय महिला, बुटवल –२ का ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

दाङमा थप दश जनाको मृत्यु

पछिल्लो २४ घण्टामा दाङमा दश  सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका स्रोत ब्यक्ति कमल चन्दका अनुसार तुलसीपुरका पाँच, घोराही उपमहानगरपालिका र बबई गाउँपालिकाका दुई÷दुई र दंगीशरण  गाउँपालिकाका १ को मृत्यु भएको हो । अहिलेसम्म जिल्लामा मृत्यु हुनेको सङ्ख्या एकसय ६९ पुगेको छ । जिल्लाबाट पछिल्लो २४ घण्टामा ४५ को डिस्चार्ज भएका छन् भने  २०७ नयाँ संक्रमित थपिएका छन् । जिल्लामा अहिलेसम्म दुई हजार ६ सय ६० सक्रिय सङ्क्रमित रहेका छन् ।  

बाँकेमा थप पाँच सङ्क्रमितको मृत्यु

बाँकेका अस्पतालमा आज थप पाँच सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज स्थित भेरी अस्पतालमा चार र शिक्षण अस्पताल कोहलपुरमा एक गरी थप पाँचजना सङ्क्रमितको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं.२ निवासी ५१ वर्षीय पुरुषको विहान ८ः३० बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं १९ निवासी ५७ वर्षीय पुरुषको विहान ८ः३५ बजे, नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ७ निवासी ५० वर्षीय पुरुषको दिउँसो १ बजे र बर्दिया बढैयाताल गाउँपालिका वडा नं। ६ निवासी ५७ वर्षीय पुरुषको दिउसो २ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । 
यसैगरी शिक्षण अस्पताल कोहलपुरमा उपचाररत पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं.१० रुकुम पूर्व निवासी ६० वर्षीय पुरुषको विहान ८ः४० बजे मृत्यु भएको हो । यसअघि गएराती बाँकेका दुई अस्पतालमा चार जनाको मृत्यु भएको थियो । 
योसँगै  सङ्क्रमणका कारण हालसम्म जिल्लामा उपचारका लागि बाहिर जिल्लाबाट आएका दुई सय जना र जिल्लाकै दुई ४५ गरी चार सय ४५ जनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति वलीले जानकारी दिए ।   

रुकुम -पूर्वमा थप एक जनाको मृत्यु

रुकुम (पूर्व) मा कोरोना सङ्क्रमणबाट एमाले नेताको मृत्यु भएको छ ।  पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछी गाउँका सतमान पुनको आज निधन भएको हो । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम –पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो । 

नेता पुनलाई केही दिन अघि  सङ्क्रमण पुष्टि भएको थियो ।  कोरोना भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल सल्ले रुकुम –पश्चिममा लगिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको थियो । मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए। यससँगै अहिलेसम्म रुकुम पूर्वका चारको  सङ्क्रमणबाट मृत्यु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप