शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जेठ र असारमा अक्सिजन चाहिने संक्रमित अझै बढ्ने सरकारको अनुमान

असारमा मात्र २ लाख ३३ हजार सिलिन्डर चाहिने आँकलन
बुधबार, ०५ जेठ २०७८, १४ : ५३
बुधबार, ०५ जेठ २०७८

नेपालमा गत हप्ता अक्सिजनको चरम अभाव भयो । अक्सिजनको अभावको हल्ला बजारमा चल्न थालेपछि केही पहुँचवालाले व्यक्तिले स्टक राख्नाले अस्पतालमा अक्सिजनको हाहाकार भएको कोभिड उपचारमा संलग्न चिकित्सकहरुले आरोपसमेत लगाएका थिए । जसले गर्दा धेरै कोभिड बिरामीले समयमै अक्सिजन नपाउँदा मृत्युसमेत भयो । अक्सिजनकै अभावमा कति संक्रमतिको ज्यान गयो भन्ने तथ्याङ्क चाहिँ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग छैन ।

कोरोना संक्रमितमध्ये सामान्य अवस्थाका १० प्रतिशत संक्रमितलाई अक्सिजन चाहिन्छ । यस्तै जटिल अवस्थामा पुगेमा ७ प्रतिशत संक्रमित अक्सिजनको आवश्यकता पर्छ । र ३ प्रतिशत संक्रमितलाई आइसीयू र भेन्टिलेटर आवश्यक पर्ने स्वास्थ्य मन्त्रालयको अनुमान छ ।

अहिले पनि अक्सिजन, हाइ डिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने बिरामीको बढ्दै गइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबारसम्म १ हजार ५ सय ९० आईसीयू र ३९० जना भेन्टिलेटरमा उपचाररत छन् । संक्रमित संख्या बढेसँगै जेठ र असार महिनासम्म जटिल केस थप बढ्ने स्वास्थ्य मन्त्रालयले आँकलन गरेको छ । त्यसका लागि जेठमा १ लाख ९० हजार र असार महिनामा २ लाख ३३ हजार सिलिन्डर चाहिने आँकलन गरिएको छ ।

​यसरी अक्सिजनको माग बढ्दै गएपनि सरकारलाई दैनिक ६ हजार सिलिन्डर अक्सिजनको आपूर्ति गर्न हम्मेहम्मे भइरहेको छ । यी दुवै महिनामा गरि २८ करोड ७५ लाख ६ हजार ८३७ लिटर अक्सिजन आवश्यक पर्ने सरकारको अनुमान छ । तर, संक्रमित बिरामीलाई आवश्यकताको आधार सहज रुपमा उपलब्ध गराउन सकेको छैन ।

अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डरभन्दा बढि रहेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ सिलिन्डर रहेको छ । तर, कोभिड बिरामीले आवश्यकताको आधारमा सहजरुपमा अक्सिजन पाउन सकिरहेका छैनन् ।

जेठ, असारमा जटिल खालका संक्रमितको केस बढ्ने

सरकारले जेठ महिनामा नयाँ संक्रमितको संख्या बढ्ने प्रक्षेपण गरेको छ । मन्त्रालयका अनुसार १ लाख ७ हजार बढी नयाँ संक्रमित थपिने छन् । जसमध्ये अक्सिजन, हाइडिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा गर्ने बिरामी थपिने सरकारको आंकलन छ । संक्रमितमध्ये ८० हजार ६ सय जनाको सामान्य अवस्था रहने छ ।

१० हजार ७५ अर्थात १० प्रतिशत अक्सिजनसहित अस्पतालमा उपचाररत रहने छन् । जटिल केसका ७ हजार ५३ जना अर्थात ७ प्रतिशत एचडीयू र ३ हजार २३ अर्थात ३ प्रतिशत संक्रमित बिरामी आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अनुमान छ ।

यस्तै असार महिनामा १ लाख २३ हजार बढी कोरोना संक्रमित हुने अनुमान गरिएको छ । जसमध्ये ८० प्रतिशत संक्रमित सामान्य अवस्था रहने छन् ।  १० प्रतिशत अर्थात १२ हजार ३ सय २६ जनालाई अक्सिजन आवश्यकता पर्ने छ । ७ प्रतिशत संक्रमित बिरामीलाई एचडीयू चाहिने अनुमान गरिएको छ । र ३ हजार ६ सय ९८ अर्थात् ३ प्रतिशतलाई आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अनुमान गरिएको छ ।

कोरोना संक्रमित क्रिटिकल बिरामीलाई प्रतिमिनेट १० लिटरका दरले अक्सिजन चाहिन्छ भने एकदिनमा १४ हजार लिटर अक्सिजन आवश्यक पर्दछ ।

यस्तै एचडीयूमा उपचाररत बिरामीलाई प्रतिदिन १२ हजार लिटर अक्सिजन चाहिन्छ । र अक्सिजनसहित उपचार गर्नुपर्ने बिरामीलाई प्रतिमिनेट ४ लिटरका दरले अक्सिजन आवश्यक पर्ने पर्छ । अस्पतालमा अक्सिजनसहित उपचार गर्ने बिरामीलाई प्रतिदिन ६ हजार लिटर चाहिन्छ । यद्यपि कोरोना संक्रमित बिरामीलाई अक्सिजन प्रयोग विशेषज्ञको निगरानीमा मात्रै प्रयोग गर्नुपर्ने उपचारमा संलग्न चिकित्सकको भनाइ छ ।

यस्तै, कोभिड बिरामीले चिकित्सकको सल्लाहबिना घरमै मेडिकल अक्सिजन प्रयोग गर्दा पनि धेरैले ज्यान गुमाएको गएको त्रिवि शिक्षण अस्पताल (टिचिङ) का फोक्सो रोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए । होमआइसोलेशनमा बसेका सामान्य लक्षण देखिएका कोरोना संक्रमित बिरामीलाई जुनसुकै बेला अक्सिजन चाहिन सक्ने भन्दै स्टक गरी अनावश्यक रुपमा अक्सिजन सिलिन्डर राख्ने गरेको पनि पाइएको छ । होमआइसोलेशनमा बसेका कतिपय संक्रमितले श्वासप्रश्वासमा समस्या आएपछि आफै अक्सिजन प्रयोग गर्ने गरेका छन् । यसरी आफूखुसी अक्सिजन प्रयोग गर्नु खतरनाक हुने र यही कारण कतिपय संक्रमितको ज्यान गएको फोक्सो रोग विशेषज्ञ डा. दासले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप