शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हवाइ उडान : नेपालीलाई बन्द, भारतीयलाई खुल्ला

नेपाललाई ट्रान्जिट बनाएर भारतीयहरु धमाधम वैदेशिक रोजगारीमा
बुधबार, ०५ जेठ २०७८, २० : ०३
बुधबार, ०५ जेठ २०७८

सरकारले निषेधाज्ञा घोषणा गरेर नेपालीहरुलाई विदेश जान दिएको छैन । विदेशमा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकले स्वदेश फर्कन पाएका छैनन् । तर, नेपालीका लागि विमानस्थल बन्द गरेको सरकारले भारतीय नागरिकलाई भने दिनहुँ खाडी राष्ट्रमा रोजगारीका लागि उड्ने छुट दिइरहेको छ ।

कोरोनाको उच्च जोखिममा रहेका भारतीयहरु नेपालको बाटो भएर विदेश जाने क्रम निषेधाज्ञामा पनि रोकिएको छैन । ठमेल र गौशाला एरियामा करिब एक हजार बढीको संख्यामा भारतीयहरु अरब जानका लागि फ्लाइट कुरेर विभिन्न होटलमा बसिरहेका छन्  ।

मन्त्रिपरिषदले वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ । अन्तर्राष्ट्रिय उडान रोकिएसँगै विदेशबाट छुट्टीमा घर आएका र रोजगारीका लागि टिकट काटेर बसेका नेपाली नागरिकहरु विदेश उड्नबाट रोकिएका छन् । तर, भारतीय नागरिकचाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक सयौँको संख्यामा साउदी अरेबियाको राजधानी रियाद र दमाम उडिरहेका छन् ।

 


 

भारतबाट आएर काठमाडौंको ठमेल, गौशाला र नयाँ बसपार्क लगायतका होटलमा बसेका भारतीय नागरिक मंगलबार ५ वटा विमानमार्फत साउदी उडेका थिए । त्रिभुवन अन्तर्राष्टिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार मंगलबार मात्रै ८१७ जना भारतिय नागरिक साउदी गए ।

भारतीय दूतावासको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय नागरिक लैजानका लागि विमानलाई चार्टर्ड अनुमति दिएको हो । यति ग्रुपको स्वामित्वमा रहेको हिमालय एयरलाइन्स र सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमका जहाजले दमाम र रियादमा चार्टर्ड उडान भरिरहेका छन्, तर नेपालीका लागि हैन, भारतीयहरुका लागि ।

निषेधाज्ञाका कारण नेपालमा रोकिएका भारतीयलाई उद्धार गरेर दिल्ली लैजानुको साटो नेपाललाई ट्राञ्जिट बनाएर तेस्रो देशमा पठाउन पर्यटन मन्त्रालयले भारतीय दूतावासको अनुरोधमा स्वीकृति दिएको हो ।

‘जेठ ४ मा हिमालय एयरलाइन्सका ३ वटा र नेपाल एयरलाइन्सका दुईवटा विमानले चार्टर्ड उडान भरेका छन्’ अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीले रातोपाटीसँग भने, ‘बुधवार दुईवटा विमानले चार्टर्ड उडान भर्ने अनुमति लिएका छन् ।

जेठ ४ मा दमाम उडेको हिमालय एयरको एचजी–५६०१ विमानमा १७५ जना भारतीय बाहेक चारजना इजिप्टका नागरिक थिए । सो विमानमा ओमानका एकजना नागरिक साउदी गएको अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ ।

मंगलबार र बुधवार यो समाचार तयार पार्दासम्म ८६७ भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तेस्रो देशमा गएका छन् ।

आउँदो शनिबारसम्म भारतीयलाई साउदी लैजानका लागि १० वटा विमानले चार्टर्ड अनुमति लिएको विमानस्थलका महाप्रबन्धक तिवारीले रातोपाटीलाई बताए ।

नेपालको बाटो गरेर वैदेशिक रोजगारीमा

काठमाडौंबाट भारतीय दूतावासको संयोजनमा विमान चार्टर्ड गरेर तेस्रो मुलुक गइरहेका भारतीय नागरिकहरु साउदीबाट छुट्टी मनाउन घर आएका थिए । कोभिड–१९ संक्रमणको जोखिमका कारण भारतले साउदी आवत–जावत गर्ने उडानमा रोक लगाएपछि उनीहरु नेपाल छिरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख (सहसचिव) सुशील वैधले रातोपाटीसँग भने, ‘उनीहरुलाई रियाद र दमाममा काम गर्छन् ।’

जेठ ८ सम्म करिब २५ सय  भारतीय नागरिक नेपालको बाटो भएर साउदी अरेबिया जाँदैछन् । उडान कुरिरहेका भारतीयहरु काठमाडौंका विभिन्न होटलमा बसिरहेका छन् ।

सरकारले उडान बन्द गरेर नेपाली नागरिकलाई चाहिँ विदेशमा रोजगारीका लागि जान रोक लगाएको छ । तर, सरकारको भारतीप्रति चाहिँ आफ्ना नागरिकलाई भन्दा बढ्ता मायामोह दर्शाएको छ ।

भारत यतिबेला कोरोनाको नयाँ भेरियन्टसँग देखिएको जोखिमयुक्त राष्ट्र हो । त्यसैले भारतीय नागरिकलाई नेपालमा ट्रान्जिट बनाउन दिँदा कोरोनाको जोखिम बढ्ने भन्दै सीसीएमसीमा समेत यसबारे आवाज उठेको थियो । तर, यसलाई रोक्न नसकिएको सीसीएमसीमा कार्यरत एक उच्च सुरक्षा अधिकारीले बताए । भारतीय नागरिकलाई खाडी मुलुकमा पठाउने क्रम नरोकिएकोमा कर्मचारी प्रशासनमा समेत असन्तुष्टि देखिएको ती अधिकारीले बताए ।

नेपालमा रोकिएका भारतीयलाई उद्धार गरेर दिल्ली लैजानु स्वभाविक भए पनि तेस्रो देशमा रोगजारीका लागि नेपालबाट पठाउने कार्य तत्काल बन्द हुनुपर्ने आवाज सीसीएमसीमा समेत उठेको ती अधिकारीले बताए ।

सीसीएमसीका  सदस्य समेत रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली भने मानवीय नाताले भारतीयहरुलाई खाडी मुलुकमा जान दिइएको बताउँछन् । अब काठमाडौंमा धेरै भारतीयहरु बाँकी नरहेकाले केही दिनमै यो क्रम रोकिने मन्त्री ज्ञवालीले रातोपाटीलाई बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप