बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना महामारीका कारण जानकी महोत्सव प्रभावित

बिहीबार, ०६ जेठ २०७८, १२ : ५७
बिहीबार, ०६ जेठ २०७८

 वैशाख शुक्लपक्षको नवमी तिथि अर्थात् हिन्दु धर्मावलम्बीले देवीको अवतारका रुपमा लिने जानकी (सीता) को जन्मदिन । जनकपुरधाम लगायतमा धुमधामका साथ मनाइने जानकी नवमी पर्व यस वर्ष भने कोरोना संक्रमणका कारण प्रभावित भएको छ ।

पछिल्लो वर्षसमेत कोरोना संक्रमणकै कारण राम्ररी मनाउन नसकिएको जानकी नवमी पर्व यस वर्ष पनि कोरोनाभाइरसकै कारण प्रभावित भएको हो । जानकी नवमीका दिन भक्तजनहरुको घुइँचो लाग्ने जानकी मन्दिर अहिले सुनसान छ ।

जानकी नवमीको दिन अहिले जानकी मन्दिरको मुल प्रवेशद्वार नै बन्द  छ । फाट्टफुट्ट एकदुईजना मन्दिर दर्शनका लागि आउने गरे पनि जानकी नवमी पर्व खल्लो लागेको बताएका छन् ।

स्थानीय रिमा यादवले कोरोना संक्रमणका कारण जानकी मन्दिर दर्शन गर्न बिहानै आए पनि यस वर्ष कुनै किसिमको कार्यक्रम नहुँदा खल्लो लागेको बताइन् ।

जानकी मन्दिरका पुजारी रामरोशन दासले श्रद्धालु भक्तजनलाई घरबाटै पूजा आराधना गर्न भनिएको बताए ।

‘कोरोनाको संक्रमण रोकथान तथा नियन्त्रणका लागि लगाइएको निषेधाज्ञा, भौतिक दूरी पालन गर्नुपर्ने बाध्यताका कारण यस वर्ष श्रद्धालु भक्तजनलाई घरबाटै पूजाअर्चना गरि मनाउन आग्रह गरेका छौं,’ पुजारी रामरोशन दासले भने । उनका अनुसार आ–आफ्नो घरमा साँझ ७ बजे आरतीका साथै दियो बालेर दिपावली मनाउन आग्रह गरिएको छ ।

मिथिलाका नरेश राजर्षि जनकको पुत्रीको रुपमा वैशाख शुक्ल नवमीकै दिन जानकीको जन्म भएको ग्रन्थहरुमा उल्लेख भएअनुसार आजको दिनलाई जानकी जन्मोत्सवको रुपमा मनाउने गरिन्छ ।

जानकी मन्दिरमा जानकी जन्मोत्सव धुमधामसाथ मनाउने गरिन्थ्यो । अन्य वर्ष जानकी नवमीको अवसरमा जानकी मन्दिरमा विशेष पूजा अर्चना तथा नाचगान हुन्थ्यो । जन्मको गीत ‘सोहर’ गाएर भक्तजनहरुले जानकी जन्मजयन्ती मनाउने गर्दथे ।

जानकी नवमीको अवसरमा मन्दिरमा हुने शोभायात्रा, गीत संगीत, नाचगान सबै कार्यक्रम कोरोना महामारीकै कारण स्थगित गरिएको छ । आज साँझ जानकी मन्दिरमा मिथिला परम्परा अनुसार विधिपूर्वक जानकी जन्ममहोत्सव तथा पूजा गरिनेछ ।

यसवर्ष जनकपुरधामको प्रसिद्ध धार्मिक स्थलमध्ये एक रहेको बिहारकुण्ड समेत सुनसान देखिएको छ । बिहारकुण्ड जानकीको बाल्यावस्थामा आफ्नो साथीसँग खेल्ने स्थल रहेको धार्मिक मान्यता छ ।

बिहारकुण्डमा अन्य वर्ष भक्तजनहरुको भिड लाग्ने र भव्यताका साथ जानकी नवमी पर्व मनाउने गरिए पनि यस पटक कोरोना महामारीका कारण निर्धारित कार्यक्रमहरु समेत स्थगित गरिएको सिया रघुवर कुञ्जका महन्थ रामकिशोर दासले बताए ।

बिहारकुण्डमा जम्मा ११ वटा मन्दिर छन् । सबै मन्दिरमा जानकी जन्मको अवसरमा विशेष कार्यक्रम हुँदै आएको थियो । तर ती सबै मन्दिर यस पटक कोरोना महामारीका कारण बन्द छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप