बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

शनिबार, ०८ जेठ २०७८, १९ : ४४
शनिबार, ०८ जेठ २०७८

बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गइरहेको कोभिड–१९ सङ्क्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ । नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीबारको छलफल नेपाललाई सहयोग गर्ने विषयमा केन्द्रित थियो । निकै छोटो चलेको बैठकमा नेपालले बेलायतका हरेक मोर्चामा सहयोग गरेको र हामीले हाल नेपालले भोगेको सङ्कटमा सहयोग गर्नुपर्ने वक्ताहरूको राय थियो ।

आफ्नो भनाइ राख्दै लर्ड ल्याङ्कास्टर अफ किम्बोल्टनले नेपाललाई २० लाख खोप उपलब्ध गराउन अनुरोध गरेका छन् । नेपाल लगायत विकासोन्मुख राष्ट्रहरूलाई बेलायतले खोप उपलब्ध गराउन पहल गरी सकेको र नेपालका लागि करीब तीन लाख पचास हजार कोभ्याक्स छुट्याई सकेको कुरा सदनलाई सरकारको तर्फबाट लर्ड अहमद अफ विम्बल्डनले जानकारी दिएका थिए ।

दुई दिन अगाडि मात्र नेपालका परराष्ट्रमन्त्रीसँग छलफल भएको र यहाँस्थिति नेपाली दूतावासका प्रतिनिधिसँग पनि छिट्टै भेटेर आफ्नो योजना राख्ने अहमदले सदनलाई बताए । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले पनि यहाँका सम्बन्धित निकायमा निरन्तर रूपमा सम्वाद भइराखेको र सकारात्मक प्रतिकृया आएको बताए ।

केहि दिन अगाडि मात्र बेलायतकी चर्चित नायिका जुवाना लुम्लेलगायत यहाँ करीब पचास जना बेलायतीहरूले नेपाललाई खोप उपलब्ध गराउन यहाँको सरकारलाई पत्र लेखेर आग्रह गरेका थिए । यहाँका नेपाली सङ्घसंस्थाले संस्थागत रूपमै पिटिसनमार्फत ऐक्यबद्धता चलाएर दबाब दिन समाजसेवी रमेशराज पण्डितले अभियान नै सञ्चालन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप