शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

युगकविको सम्झना गरिँदै

आइतबार, ०९ जेठ २०७८, १४ : २७
आइतबार, ०९ जेठ २०७८

युगकवि सिद्धिचरण श्रेष्ठको ११० औँ जन्मजयन्ती आज मनाइँदै छ । विसं १९६९ साल जेठ ९ गते आजकै दिन ओखलढुङ्गामा उनको जन्म भएको थियो । यस वर्ष पनि कोरोना कहरकाबीच उनको सम्झना गरिँदैछ ।
सोही अवसरमा ‘मेरो प्यारो ओखलढुङ्गा’ कविताको भिडियो आज सार्वजनिक गरिएको छ । यसमा युगकविको रचना एवं स्वर सम्राट नारायण गोपालको स्वर  छ ।  

युगकवि सिद्धिचरण प्रतिष्ठानले तयार गरेको उक्त भिडियोलाई दिनेश डिसीले निर्देशन गरेका छन् । युगकविको जन्मस्थलसम्मको खोजमूलक यात्रालाई प्रस्तुत गरिएको भिडियोमा समीक्षा पोखरेल, महेश खड्का एवं  डिसीको अभिनय छ ।
कोरोना कहरका कारण युगकविको जन्मजयन्ती औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको उनका छोरा रविचरण श्रेष्ठले जानकारी दिए । युगकविको परिवारले काठमाडौँको न्युरोडस्थित धर्मपथमा रहेको शालिकमा माल्यार्पण गरी जन्मजयन्ती मनाएको छ  ।

विगत वर्षमा विविध साहित्यिक कार्यक्रम गरेर जन्मभूमिमा सिद्धिचरणको जन्मजयन्ती बनाउने गरिए पनि यस वर्ष कुनै औपचारिक सभा समारोह राखिएका छैनन् । सिद्धिचरण सङ्ग्रहालय समिति र स्थानीय साहित्यिक व्यक्तिले आआफ्नै किसिमले युगकविलाई सम्झिएको समितिका ध्रुवकुमार राजभण्डारीले बताए ।

युगकवि  नेपाली साहित्यमा स्वच्छन्दतावादी काव्य धारका प्रवर्तक मानिन्छन् । उनी  नेपाल भाषामा कविरत्नका रुपमा पनि  चिनिन्थे । उनले आफ्नो जीवनको साढे ६ दशक  साहित्य साधनाका सन्दर्भमा फुटकर कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरणलगायत विधामा सफलतापूर्वक कलम चलाएका थिए ।

उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘शबरी’, ‘जूनकीरी’ लगायत मर्मस्पर्शी रचना सर्वाधिक चर्चामा छन् । उहाँका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत खण्डकाव्य ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँसु’ लगायत कृति  छन् ।  युगकविको २०४९ साल जेठ २२ गते निधन भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप