शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

इजरायली विमान हाइज्याक गर्ने प्यालेस्टाइनी महिला

आइतबार, ०९ जेठ २०७८, १४ : ३५
आइतबार, ०९ जेठ २०७८

२९ अगस्ट १९६९ मा रोम हवाई अड्डामा सेतो सुट, सनह्याट र ठूलो चस्मा लगाएकी एक २५ वर्षीय युवती फ्लाइट TWA 840 को प्रतीक्षामा थिइन् । उनी भित्राभित्रै निकै नर्भस थिइन् । हलिउड अभिनेत्री अडरी हेपबर्नजस्तै देखिने यी युवती विमानस्थलका सुरक्षाकर्मीलाई धोका दिएर एउटा पेस्तोल र दुईवटा ह्यान्ड ग्रिनेडभित्र ल्याउन सफल भएकी थिइन् ।

वेटिङ लाउन्जमा बसेका अर्का व्यक्ति सलिम इसाबीलाई नचिनेजस्तो देखाउने कोसिसमा उनी थिइन् । यी व्यक्ति पपुलर फ्रन्ट फर लिबरेसन अफ प्यालेस्टाइनको चे ग्वेभारा कमाण्ड युनिटका एक महत्त्वपूर्ण सदस्य थिए । ती युवती लैला खालिद थिइन् । उनी बेरुतबाट एक्लै उडेर रोम पुगेकी थिइन् ।

१९७३ मा प्रकाशित आफ्नो आत्मकथा ‘माई पिपुल स्याल लिभ’ मा लैलाले लेखिकी छिन्, ‘किनकि म र इसाबी अलग–अलग बसेका थियौँ । त्यसैकारण सिकागोमा रहने एक ग्रिक अमेरिकनले मलाई ज्यादा नै चासो दिइरहेको थियो । उसले के भनेको थियो भने १५ वर्ष अमेरिका बसेपछि आफ्नी आमासँग भेट्न ऊ ग्रिसस्थित घर जाँदैछ । एकपटक त मलाई यो विमान छाडेर अर्को विमान समात भन्न पनि मन लागेको थियो तर फेरि मैले आफैँलाई सम्हालेँ ।’

विमानमा लैला खालिद र सलिम इसाबीको सिट आसपास थियो । एयरहोस्टेसले लैलालाई कफी र इसाबीलाई बियर सर्भ गरिन् । तर यसपछि एयरहोस्टेसले निकै कर गरे पनि लैलाले केही खाइनन् । बरु उनले आफूलाई चिसो लागेर पेट दुखेको भनेर एयर होस्टेसलाई भनिन् र अतिरिक्त कम्बल मगाइन् । कम्बल पाउनसाथ लैलाले आफ्नो ह्यान्ड ग्रिनेड र पेस्तोललाई कम्बलमुनि राखिन् ।

‘सुट द वुमेन फस्र्ट’ की लेखिका एलिन म्याकडोनाल्डलाई दिइएको अन्तरवार्तामा लैला खालिदले भेनकी छिन्, ‘जब विमानकर्मीहरूले खान ल्याउन सुरु गरे । सलिम कुदेर ककपीटसम्म पुग्यो । उनको पछि–पछि म अनि आफ्नो काममा राखेको ह्यान्ड ग्रिनेड लिएर दौडिए । यस चक्करमा एयर होस्टेसको हातबाट ट्रे तल झर्यो र उनी जोड जोडसँग चिच्याइन् । त्यसक्रममा मेरो कम्मरमा रहेको पेस्तोल मेरो प्यान्टभित्रबाट विमानको भुइँमा गिर्यो । मैले र इसाबीले फर्स्ट क्लासका सबै यात्रु र विमानकर्मीलाई इकोनोमी क्लासमा जानका लागि जोडले चिच्याएर भन्यौँ ।

यस हाइज्याकिङमा लैला खालिदलाई पाइलट र एयर ट्राफिक कन्ट्रोलसँग कुराकानी गर्ने भूमिका दिइएको थियो । सुरुमा लैलाले पाइलटसमक्ष विमानलाई इजायलको लोद हवाई अड्डा लैजान भनिन् । (अहिले यो विमानस्थललाई डेभिड बेन गुरियोँ भनिन्छ ।)

इजरायली क्षेत्रमा विमान प्रवेश गरेलगत्तै तीनवटा इजरायली मिराज विमान यसको दुवैतर्फ उड्न लागे । यो विमानमा बसेका यात्रीहरू आतङ्कित भए, उनीहरूलाई इजरायली विमानले आफ्नो विमान गिराउनेछ भन्ने त्रास भयो ।

लैला खालिदले लोदको एयर ट्राफिक कन्ट्रोलमा सम्पर्क गरेर भन्न लगाइन्, ‘अब हामीलाई फ्लाइट TWA 840 ​नभएर PFLP​ अर्थात् फ्री अबर प्यालेस्टाइन भनेर सम्बोधन गर्नुस् ।’  विमानका पाइलटले पहिले लैलाको यस्तो निर्देशन मान्न तयार थिएनन् । तर लैलाले ह्यान्ड ग्रिनेड देखाएपछि उनले विरोध गर्न छाडिदिए ।

केवल इजरायलीहरूलाई धोका दिनका लागि लोदतर्फ विमानलाई लगिएको थियो । लोद विमानस्थलमाथि यो विमानस्थल उडिरह्यो, तल सयौँ इजरायली सैनिक र ट्याङ्क यसलाई ध्वस्त पार्नका लागि खडा थिए । तब लैला खालिदले विमानलाई दमास्कसतर्फ लैजान पाइलटलाई आदेश दिइन् ।

लैलाले आफ्नो आत्मकथामा लेखेकी छिन्, ‘जब मैले हामीबाट प्यालेस्टाइनलाई हेरेँ । तब एक मिनेटका लागि मैले म कुनै अभियानको हिस्सा हुँ भन्ने नै भुलेँ । यहाँ रहेकी आफ्नी हजुरआमा, आफ्ना फुपूहरू र हरकोहीलाई चिच्याएर घर आउँदैछु भनौँ कि जस्तो लाग्यो । त्यसपछि पाइलटले पनि के भन्यो भने जब हामी हायफामाथिको आकाश उडिरहेका थियौँ तब मेरो अनुहारमा काँडाजसरी रौँ खडा भएको उसले देखेको थियो ।’

दमास्कस विमानस्थलमा उत्रिएपछि कर्मचारी र यात्रु सबैलाई बाहिर निकालियो । सलिम इसाबीले विमानको ककपिटमा विस्फोट पदार्थ राख्यो र त्यस विमान ध्वस्त ग¥यो (विमानमा सवार कर्मचारी र यात्रु सबै सकुशल रहे)  । उसको नजरमा प्यालेस्टाइनी जनतातर्फ विश्वको ध्यान खिच्ने यो सबैभन्दा प्रभावकारी तरिका थियो ।

लैला खालिदलाई प्रायः पहिलो महिला हाइज्याकर भनेर पनि चिनिन्छ । तर कमैलाई थाहा छ, तीन वर्षअघि १९६६ मा कोनडोर्स सङ्गठनका तर्फबाट विमान हाइज्याक गरेर फकल्याट टापू लैजाने हाइज्याकर पनि एक महिला नै थिइन् ।

एलिन म्याकडोनल्डले आफ्नो पुस्तक ‘सुट द वुमेन फस्र्ट’ मा लेखेकी छिन्, ‘PFLP​ को नेतृत्व यस हाइज्याकिङबाट मिलेको प्रचारले निकै खुसी भयो । उनीहरूले आफ्नी स्टार कमरेड लैला खालिदलाई मध्य–पूर्वी देशहरूको यात्रामा पठाए । इजरायलीहरूले लैलालाई अपरहण गर्न र मार्न सक्छन् भन्ने थाहा हुँदाहुँदै पनि उनलाई अरब देशहरूको यात्रामा पठाइयो । यद्यपि उनको चारैतर्फ अङ्गरक्षकहरू तैनाथ थिए । लैला यतिबेलासम्म अरब विश्वको एक नायिक बनिसकेकी थिइन् ।

आफ्नो हुलिया फेर्न र दोस्रो हाइज्याकिङका लागि तयार रहने यसपछि लैलाले आफ्नो नाक, गाला, आँखा र मुखमा ६ स्थानमा प्लास्टिक सर्जरी गराइन् । सेप्टेम्बरमा १९७० मा लैला खालिदले लेबनानबाट युरोपको यात्रा गरिन् । चार सेप्टेम्बरमा स्टुटर्गाट जर्मनीमा उनले प्याट्रिक आरग्युलोसँग भेटघाट गरिन्, यी व्यक्तिले दोस्रो हाइज्याकिङका लागि उनलाई साथ दिँदै थिए ।

उनीहरूबीच यसअघि कहिल्यै भेटघाट भएको थिएन । ६ सेप्टेम्बरमा दुवैजना न्युयोर्कको टिकट लिएर स्टुटगार्टबाट आम्सटर्डम एकसाथ गए  । आरग्युलो अमेरिकामा जन्मिएका एक निकागुअन थिए । अम्सटर्डमा उनीहरू दुवैजना न्युयोर्क जाने इजरायली एयरलाइन्स ELAI 219 ​को बोइङ 707 विमानमा सवार भए । सारा इरविङले आफ्नो पुस्तक ‘लैला खालिद आइक अफ प्यालेस्टाइन लिबरेसन’ मा लेखेकी छिन्, ‘जब यी दुवै विमानमा सवार भए त्यतिबेला उनीहरूलाई के थाहा थिएन भने उनीहरूलाई हाइज्याकिङमा सहयोग गर्नेवाला अन्य दुई साथीलाई ELAI​ का कर्मचारीले सिट दिन अस्वीकार गरिसकेका थिए ।’

‘हाइज्याकिङको योजना बनाएकै समय ELAI को विमान हाइज्याक गर्दा दुईभन्दा धेरै मानिस जरुरी हुन्छन् भन्ने तय भइसकेको थियो । किनभने यो विमानमा हतियारयुक्त सुरक्षा गार्ड रहन्थे र विमानमा सवार हुने मानिसको तीनपटक खानतलासी हुन्थ्यो ।’

यसपटक लैला खालिद र उसका साथी इकोनोमी क्लासमा बसेका थिए । लैला खालिदले बीबीसीसँग कुराकानी गर्दै भनेकी थिइन्, ‘आरग्युलोलाई थाहा थियो उसले के गर्नुपर्छ र मलाई पनि थाहा थियो मैले के गर्नुपर्छ । हामीसँग हाम्रा हतियार थिए । मसँग दुईवटा ह्यान्ड ग्रिनेड थिए । प्याट्रिकसँग पनि एउटा ह्यान्ड ग्रिनेड थियो । मैले निकै छोटो स्कर्ट लगाएकी थिएँ । मैले सारा नक्सा त्यस स्कर्टभित्र लुकाएको थिएँ ।’

जब खालिद दौडिएर ककपिटतर्फ गइन्, तब पाइलटले पहिल्यै उसको ढोका भित्रबाट बन्द गरिसकेको थियो । डेभिड राबले आफ्नो पुस्तक ‘टेरर इन ब्ल्याक सेप्टेम्बर’मा लेखेका छन्, ‘लैला खालिदले आफ्नो विशेष रूपमा बनाइएको ब्राबाट दुईवटै ह्यान्ड ग्रिनेड निकालिन् तर यतिबेलासम्म विमानमा सवार मार्सलहरूले गोली चलाउन सुरु गरिसकेका थिए । प्याट्रिकले जवाफी फायर गरे, जो मार्सल स्लोमो वाइडरको खुट्टामा लाग्यो । यसबीच प्याट्रिकलाई पनि गोली लागिसकेको थियो । खालिदमाथि दुई गार्ड र यात्रुहरूले हमला गरे । मानिसहरूले उनलाई बेस्सरी कुट्न थाले ।’ यहीक्रममा पाइलट चालकले अचानक तल डाइभ गरिदिए, जसकारण लैला खादिल असन्तुलित भएर लडिन् ।

यात्रीहरूमा यसको कुनै असर दखिएन किनभने उनीहरूले सिट बेल्ट लगाएका थिए । विमान निकै तल आइसकेपछि  ग्रिनेडबाट बिस्फोट भई नै हाले पनि कम नोक्सान हुने अवस्था थियो ।

बीबीसीसँग कुराकानी गर्दै लैला खालिदले आफूलाई त्यस समय के भएको थियो भन्ने अनुभव साटिन् । ‘आधा घण्टापछि हामी खडा भयौँ र मैले आफ्नो दाँतको सहयोगले ह्यान्ड ग्रिनेडको पिन निकाल्ने कोसिस गरेँ । जब हामी खडा भएर चिच्यायौँ तब पछाडि रहेका सुरक्षाकर्मीहरूले पनि फायरिङ सुरु गरे । कसैले ककपिटको म्याजिक आईबाट हामीलाई हेरिरहेको मैले देखेँ । मैले तीनसम्म गन्छु भनेर उनीहरूलाई चेतावनी दिएँ । यदि तिमीहरूले त्यतिबेलासम्म ककपिटको ढोका खोलनौँ भने म जहाजलाई नै उडाइदिन्छु भनेर चेतावी दिएँ । तर म विमानलाई ध्वस्त गर्न चाहन्न थिएँ । उनीहरूले ढोका खोलेनन् । केही क्षणपछि कसैले मेरो टाउकोमा पछाडिबाट हिर्कायो र म बेहोस भएँ ।’

लैला खालिदले आफ्नो आत्मकथामा लेखेकी छिन्, ‘मैले देखेँ एक मार्सलले रगतमा लत्पतिएको आग्र्युलोको कम्मरमा खडा भएर उसको पिठ्यँुमा चार गोली हान्यो ।’

लण्डनमा विमान स्थलमा आपत्कालीन ल्यान्डिङ गरेको केही क्षणमै ELAI​ को एक दोस्रो विमान लन्डनको हिथ्रो विमानस्थलबाट टेक अफ गर्नेवाला थियो ।

डेबिड राबले आफ्नो पुस्तक ‘टेरर इन ब्ल्याक सेप्टेम्बर’मा लेखेका छन्, ‘आग्र्युलोमाथि गोली चलाउने मार्सल बार लेवावलाई जहाजको ह्याचबाट उतारेर ELAI को दोस्रो विमानमा चढाइयो ।  ताकि उनी ब्रिटिस अधिकार क्षेत्रबाट बाहिर निस्किउन् र उसले आग्र्युलोको मृत्युको जिम्मेवार ठहर गर्न नमिलोस् । लैला खालेदलाई केही यात्रुहरूको टाईको सहयोगले बाँधेर जर्बजस्ती विमानको भुइँमा पल्टाइयो । लैला खालेदको भाग्य राम्रो थियो किनभने इजरायली सुरक्षा बलले उनलाई बन्दी बनाएनन् र ब्रिटिस पुलिसले गिरफ्तार ग¥यो ।’

‘विमान ल्यान्ड हुनासाथ प्याट्रिक आग्र्युलोको शवलाई एक एम्बुलेन्समा हालेर लगियो,’ लैला खालेदले आफ्नो आत्मकथा ‘माई पिपुल स्याल लिभ’ मा लेखेकी छिन्, ‘मैले सुरक्षाकर्मीहरूसँग आफ्नो हात खोलिदिन अनुरोध गरेँ ।’

‘मैले प्याट्रिकको शव अगाडि खडा भएर उसको हात पकडिएँ । मित्रताको भावनाले उनको ओठमा चुम्बन गरेँ र फेरि रोएँ । मेरा लागि यो निकै दुःख लागे थियो किनकि मैले उसको ठाउँमा म मरेको भएँ हुन्थ्यो भनेर सोचेँ । किनकि यो हाम्रो लडाइँ थियो, ऊ त हाम्रो सहयोग गर्न आएको थियो ।’

लैला खालिदलाई लन्डनको इलिङ पुलिस स्टेसन लगियो, जहाँ केही दिनसम्म चिफ सुपरिटेन्डेन्ट डेभिड प्रिउले सोधपुछ गरे । जेलमा लैलासँग राम्रो व्यवहार भएको थियो । केही महिला प्रहरीले उनीसँग टेबुल टेनिस पनि खेलेँ ।

लैलाले पढ्नका लागि केही सामग्री मागिन् । उनलाई पढ्नका लागि केही महिला पत्रिका दिइएको थियो तर उनले आक्रोशित भएर ती पत्रिका पढ्न अस्वीकार गरिन् । त्यसपछि उनका लागि समाचारपत्र उपलब्ध गराइयो । लैलालाई नुहाउनका लागि स्टेसन प्रमुखको बाथरुम दिइएको थियो । उनका लागि सफा कपडा र तौलिया ल्याइयो ।

उनको कोठामा एक महिला गार्डलाई राख्ने कोसिस जब गरियो तब लैलाले आक्रोशित भएर जवाफ दिइन्, ‘म आफूलाई मार्न गइरहेको छैन । मलाई अझै अभियानहरूमा भाग लिनु छ ।’

लैला खालिदले केही समय खुला हावामा सास लिने इच्छा प्रकट गरेपछि जेलको माथिल्लो तलामा उनलाई लगेर झ्यालहरू खुला गरेर राखियो । ताकि उने खुला हावाको आनन्द लिन सकून् । उनलाई प्रतिदिन ६ वटा रोथमेन सिगरेट पिउने अनुमति दिइएको थियो । कतिपटक पुलिसकर्मीहरूले उनलाई ६ भन्दा धेरैपटक सिगरेट पिउन थिएका थिए ।

लैला खालिदसँग सोधपुछका दौरान डेभिड प्रिउले उनलाई के जानकारी दिए भने ELAI​ को विमानबाहेक स्विस एयर, TWA, PANAM​ र ब्रिटिस एयका विमानहरू पनि हाइज्याक गरिएका छन् । यो सुन्नासाथ लैला खालिदले ब्रिटिस एयरको विमान हाइज्याक गर्ने योजना नबनेको बताइन् । फ्रिउले ९ सेप्टेम्बरमा बहराइनबाट लन्डन आइरहेको ब्रिटिस एयरको विमानलाई हाइज्याक गरेर जोर्डनस्थित डोसन फिल्डमा लगिएको बताए ।

लैला खालिदले ती अपहरणकारीको माग के छ भनेर सोधिन् । तब फ्रिउले जवाफ दिए, ‘उनीहरू तिम्रो रिहाइ चाहन्छन् ।’

२८ सेप्टेम्बरमा सुरक्षाकर्मीहरूले लैलालाई रुँदै गरेको देखेँ । त्यस दिन पत्रिकामा इजिप्टका राष्ट्रपति जमाल अब्दुल नासेरको मृत्युको खबर छापिएको थियो ।

अन्त्यमा बन्धक बनाइएका आफ्ना १ सय १४ यात्रुहरूको रक्षा गर्नका लागि ब्रिटिस सरकारले लैलालाई रहा ग¥यो । २४ दिनसम्म ब्रिटिस जेलमा बसेकी लैला खालिदलाई लिएर १ अक्टुबर १९७० मा रोयल एयरफोर्सको विमान काहिराका लागि उड्यो ।

यस घटनाको वर्षौंपछि बीबीसीले लैलासँग सोध्यो, ‘तपार्इंले जे गर्नुभयो यसका लागि तपाईंलाई दुःख लाग्छ ?’

लैलाको जवाफ थियो, ‘बिल्कुल लाग्दैन ।’

उनले थपिन्, ‘म के कुरामा माफी माग्नसक्छु भने उनीहरूलाई आघात पुग्यो तर उनीहरू अन्ततः सुरक्षित रहे । यस कारबाहीको उद्देश्य उनीहरूलाई नोक्सान पु¥याउनु थिएन । तर तपार्इंले के पनि हेर्नुपर्छ भने एक मानिसका रूपमा हामी र हाम्रो मानवअधिकारको पनि नजरअन्दाज गरिएको थियो ।’ ७७ वर्षीय लैला अहिले अम्मानमा बस्छिन् ।  चिकित्सक फयान्ज रसी हिलालसँग बिहे गरेकी उनका दुई छोराछोरी छन् । उनलाई देख्दा अहिले कसैलाई उनी कुनै समय प्यालेस्टाइनी सङ्घर्षकी सबैभन्दा ठूलो पोस्टर गर्ल थिइन् भन्ने लाग्दैन ।

बीबीसी हिन्दी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप