बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नियमन नहुँदा बिरामीहरुको पहुँच बाहिर एम्बुलेन्स

अटो एम्बुलेन्स पनि बिरामी छाडेर यात्रु ओसार्दै
मङ्गलबार, ११ जेठ २०७८, १० : ५२
मङ्गलबार, ११ जेठ २०७८

मकवानपुरमा विभिन्न संघसंस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सहरूको नियमन नहुँदा विपद्का समयमा बिरामीहरुले सेवा पाउन सकेका छैनन् । मकवानपुरमा सञ्चालित एम्बुलेन्सहरू विपद् तथा महामारीको समयमा बिरामीको पहुँचमा नहुने गरेको गुनासो बढ्न थालेको छ । ती एम्बुलेन्स कहाँ र कुन अवस्थामा छन् भन्ने बारेमा सरोकारवाला निकायसमेत अन्योलमा छन् ।

जिल्लामा एम्बुलेन्स सञ्चालन, अनुगमन र नियमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले पनि यस विषयमा फिटिक्कै चासो नदेखाएको सरोकारवालाहरुको भनाइ छ । प्रशासन कार्यालयसँग मकवानपुरमा कतिवटा एम्बुलेन्स छन्, कस–कसले सञ्चालन गरिरहेका छन् र कहाँ–कहाँ छन् भन्नेबारे कुनै जानकारी छैन । पछिल्लो समय मकवानपुरमा कोरोना संक्रमणको जोखिम बढेसँगै एम्बुलेन्स अभाव हुने गरेको उपभोक्ताहरुको गुनासो छ । एम्बुलेन्सले मकवानपुरमा चर्को शुल्क असुल्ने, नजिकैका स्वास्थ्य संस्थामा जाँदा भाडा कम हुने भन्दै जान नमान्ने गरेको गुनासो बढेको हो ।

यस्तो छ मकवानपुरमा एम्बुलेन्सको अवस्था

गत वर्ष कोरोनाको संक्रमण देखिए लगत्तै मकवानपुरमा एम्बुलेन्सको अभाव देखियो । कोरोना संक्रमणको जोखिम रहेको भन्दै एम्बुलेन्स चालकहरुले संक्रमित बोक्न आनाकानी गरेपछि उनीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीसहित एम्बुलेन्समा पार्टेसन गरी चालक र बिरामी बस्ने ठाउँलाई विभाजित गरियो ।

एम्बुलेन्स पार्टेसनको काम सकिए लगत्तै मकवानपुरमा कोरोना संक्रमणको दर क्रमिक रुपमा कम हुँदै गयो र केही सहज भयो । सहजताका बीच पनि मकवानपुर प्रशासनले एम्बुलेन्सको नियमन गर्न खासै चासो देखाएन । जसका कारण अहिलेको संकटपूर्ण अवस्थामा नागरिकहरु एम्बुलेन्सको सेवा पाउन सकिरहेका छैनन् ।

कोरोना संक्रमणको दर बढ्दै गएपछि एकाएक मकवानपुरमा एम्बुलेन्सको अभाव सुरु भयो । एम्बुलेन्स अभाव टार्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले सरोकारवालासँग छलफल ग¥यो । छलफलबाट मकवानपुर प्रशासनले एकद्वारमा एम्बुलेन्स सञ्चालनका लागि हटलाइन नम्बर सुरु गर्‍यो तर, त्यो त्यति प्रभावकारी देखिएको छैन ।

नागरिकको सहजताका लागि एम्बुलेन्स चालकहरुको सम्पर्क नम्बर सार्वजनिक पनि गरियो । तर, पनि त्यो उपलब्धिमुलक हुन सकेन । संक्रमितहरुलाई अस्पतालसम्म पुर्‍याउनका लागि एम्बुलेन्स अभावलाई टार्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौंडा बजार क्षेत्रमा अटोलाई एम्बुलेन्सको रुपमा प्रयोगमा ल्याएको छ ।

मकवानपुरको थाहा नगरपालिकाले पनि अटो एम्बुलेन्स सञ्चालनमा ल्याएको छ ।

तर, एम्बुुलेन्स अभावको संकट भने अझै टरेको छैन । गाउँपालिकाको अवस्था कठिन हुँदै गएपछि मकवानपुरगढी गाउँपालिकाले जनप्रतिनिधिले प्रयोग गर्दै आएको सरकारी सुविधाको सवारीलाई एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको
छ ।

मकवानपुरका तत्कालीन प्रजिअ गोविन्दप्रसाद रिजालले एम्बुलेन्समा जीपीएस जडान गर्ने निर्णय गरेका भए पनि उनी सरुवा भएर गएपछि त्यो निर्णय अलपत्र परेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उक्त निर्णय कार्यान्वयनमा चासो देखाएका छैनन् ।

एम्बुलेन्समा जीपीएस जडान तथा समीक्षा बैठक सञ्चालनका लागि बागमती प्रदेश सरकाले वार्षिक कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि २ लाख बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालयमार्फत् उक्त रकम जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरको खातामा पठाइएको जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सो विषय जिल्ला प्रशासन कार्यालयको भएको बताउँदै पन्छिने गरेको छ । ‘एम्बुलेन्स सञ्चालन तथा अनुगमन समितिको सदस्यसचिव जिल्ला स्वास्थ्य कार्यालय हो । सोही हैसियतमा रहेर हामीले काम गर्ने हो । हाम्रो काम समन्वय गर्नेमात्र हो,’ जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका कोल्ड चेन निरीक्षक मनिर आलम अन्सारीले बताए । 

सम्पूर्ण जिम्मेवारी प्रदेशको सामाजिक विकास मन्त्रालय र जिल्ला प्रशासन कार्यालय मकवानपुर मातहत रहेकोले आफूहरुले यसबारे केही गर्न नसक्ने उनले बताए ।

मकवानपुरका १० वटा स्थानीय तहमा विभिन्न संघसंस्थाका ३९ वटा एम्बुलेन्स सञ्चालनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । ३९ वटा एम्बुलेन्समध्ये ५ वटा बिग्रिएर थन्किएका छन् भने ३३ वटामात्रै सञ्चालनमा छन् ।

स्वास्थ्य कार्यालयका अनुसार हेटौंडा उपमहानगरपालिकामा मात्र १५ वटा एम्बुलेन्स सञ्चालनमा छन् । थाहा नगरपालिकामा ५ वटा, भीमफेदी गाउँपालिकामा एउटा, बागमती गाउँपालिकामा ३ वटा, मनहरी गाउँपालिकामा ४ वटा एम्बुलेन्स छन् । कैलाश, इन्द्रसरोवर र राक्सिराङ गाउँपालिकामा १÷१ वटा र बकैया गाउँपालिकामा २ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

अटो एम्बुलेन्स पनि बिरामी छाडेर यात्रु ओसार्दै

मकवानपुरमा कोरोना संक्रमणको दर बढ्दै गएपछि एम्बुलेन्स अभाव टार्न हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा २÷२ वटा अटोलाई एम्बुलेन्सका रुपमा प्रयोग गरिँदै आएको छ ।

ती अटो एम्बुलेन्सहरु कोरोना संक्रमितभन्दा पनि दैनिक भाडा असुल्दै स्थानीय यात्रुहरु ओसार्न व्यस्त छन् ।

यात्रु ओसार्दै गर्दा दुईवटा अटो एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निर्देशन विपरीत काम गरेको भन्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले उक्त अटोलाई निषेधाज्ञा अवधिभर नियन्त्रणमा राख्ने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप