शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसरी असफल भयो एमालेको एकता बचाउने ‘याक एण्ड यति’ को अन्तिम प्रयास !

मङ्गलबार, ११ जेठ २०७८, १२ : ४०
मङ्गलबार, ११ जेठ २०७८

सत्तारुढ नेकपा एमालेको विभाजन रोक्न जेठ ९ गते भएको अन्तिम प्रयास पनि असफल भएको छ । दोस्रो तहका नेताहरुले होटल याक एण्ड यतिमा भेला भएर एकता जोगाउने अन्तिम गृहकार्य गरेका थिए ।

एमालेलाई फुटबाट रोक्न ओली पक्षबाट एमाले नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली लागि परेका थिए । त्यस्तै, माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई पनि त्यसैगरी जुटेका थिए । दुबै पक्षका ६ जना नेताहरुले होटल याक एण्ड यतिमा आइतबार चार घण्टा लामो अन्तिम गृहकार्य गरेका थिए ।

स्रोतका अनुसार उनीहरुबीच साझ साढे ५ बजेदेखि ११ बजेसम्म भएको छलफल र गृहकार्यमा अध्यक्ष ओलीले के गर्ने र माधव नेपाल पक्षले के गर्ने भन्ने मोटामोटी ड्राफ्ट नै तयार भएको थियो । तर, सोमबारसम्म आइपुग्दा उक्त ड्राफ्ट काम नलाग्ने अवस्थामा पुग्यो ।

आइतबार रातिसम्मको यो प्रयास असफल भएसँगै अध्यक्ष ओलीले सोमबार माधव नेपाल पक्षका ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेका छन् भने बाँकी १२ जनलाई पनि २४ घण्टे स्पष्टीकरण सोधेका छन्, जसमा घनश्याम भुसालसमेत परेका छन् ।

के भएको थियो याक एण्ड यतिमा ?

जेठ १० गते सोमबार काँग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल समुहका सांसदहरु प्रतिनिधिसभा विघटन बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिने अन्तिम तयारीमा थिए ।

जेठ ९ गते आइतबार नै त्यसको तयारी भए पनि बहुमत सांसदहरुको हस्ताक्षर नपुगेकाले हस्ताक्षर जुटाएर विपक्षी गठबन्धनले सोमबारलाई समय सारेको थियो । माधव नेपाल र झलनाथ खनालसहितका ११ जनालाई सोधिएको स्पष्टीकरणको २४ घण्टे अल्टिमेटम पनि सोमबार बिहान सकिँदैथियो ।

यीनै दुईवटा विषयलाई मध्यनजर गर्दै नेकपा एमालेका ६ जना नेताहरु जेठ ९ गते आइतबार बेलुका काठमाडौको होटल याक एण्ड यतिमा छलफलमा बसेका थिए । एमालेको एकता जोगाउने यो प्रयासमा अध्यक्ष ओलीको समेत चाहाना रहेको एमाले नेताहरुको दाबी छ ।

करिव चार घण्टा भएको उक्त छलफलमा खासगरी दुईवटा विषयमा कुराकानी भएको थियो । जसमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष समेत रहेका केपी शर्मा ओली जेठ २ मा फर्कन सहमत भएको सार्वजनिक अभिव्यक्ति दिने र आवश्यक परे लिखित प्रतिवद्धता नै जनाउने । अर्कोतर्फ माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरु सर्वोच्च अदालत जानबाट पछि हट्ने । मुख्य सहमतिको विन्दु यिनै दुईवटा बनाइएको थियो ।

सोहीअनुसार सोमबार ओली र नेपालसँग कुरा गर्ने सहमति गरेर याक एण्ड यतिबाट उठेका ओली पक्षका नेताहरुले यसबारे ओलीलाई ब्रिफिङ गरेका थिए । र, यसमा ओलीले सहमति जनाएको सो समूहका नेताहरुको दाबी छ  ।

तर, सोमबार बिहानै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने रिट निवेदनमा हस्ताक्षर गर्न याक एण्ड यतिमा छलफलमा बसेकै केही नेताहरु सक्रिय भएपछि अन्ततः एकताको अन्तिम प्रयास पनि विफल हुन पुगेको ओली पक्षका नेताहरुको तर्क छ ।

‘आइतबार भएको छलफल अनुसार सहमति गर्दा पार्टी पनि नफुट्ने र माधव पक्षलाई कारबाहीसमेत नगर्नेमा अध्यक्षसँग समेत सहमत भइसक्नुभएको थियो’, याक एण्ड यतिको छलफलमा सहभागी भएकामध्येका एक नेताले रातोपाटीसँग भने, ‘यसैका लागि अध्यक्ष ओलीले सोमबार दिउँसो १ बजेसम्म कुर्नुभयो तर, सकारात्मक परिणाम आएन ।’

ती नेताका अनुसार सोमबार माधव नेपालसहितका १४६ जना सांसदको हस्ताक्षर सर्वोच्चमा पुग्नुअघि पनि विष्णु पौडेललगायतका नेताहरुले सिंहदरवारमै माधव नेपाल पक्षका नेताहरुसँग भेटेर पुन छलफल गरेका थिए ।

​पौडेलसँगको छलफलपछि नेता सुवास नेम्वाङ र प्रदीप ज्ञवाली माधव पक्षको सन्देशसहित प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई नेताको प्रस्तावमा ओलीले सहमति जनाउँदै ‘पार्टी जोगिन्छ भने ल यो गरौं’ भनेका थिए ।

नेम्वाङ र ज्ञवालीले ओलीसँग छलफल गरेपछि बालुवाटारबाटै माधव पक्षका केही नेतालाई फोन गरेर सोमबार साढे १२ बजे बालुवाटार बोलाइयो । माधव नेपाल पक्षबाट कार्यदलमा समेत रहेका नेता भीम रावलले सुरुमा हुन्छ भन्ने जवाफ दिएका थिए । सोही अनुसार बालुवाटारमा ओली पक्षबाट कार्यदलमा रहेका ५ जना नेतासहित अध्यक्ष ओलीसमेत माधव पक्षका नेतालाई १ बजेसम्म कुरेर बसे ।

‘तर साढे १२ बजे बालुवाटार आउनुको सट्टा भीम रावलले फोन गर्नुभयो र भन्नुभयो, हाम्रोसमेत हस्ताक्षर अदालत गइसके छ । अब त्यसलाई लिएर किन यताउता गर्ने ? रिट हुँदै गर्छ, हाम्रो काम कारवाही पनि हुँदै गर्छ भन्ने जवाफ दिनुभयो । त्यसपछि भैसकेको सहमति पनि भताभुंग भयो’, याक एण्ड यतिमा छलफलमा बसेका अर्का नेताको भनाइ छ । 

 

के हुन्छ अब एमाले ?

ओली पक्षको कारवाही र माधव नेपाल पक्षले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएपछि अब एमाले सग्लो नरहने दुवै पक्षका नेता कार्यकर्ताको अन्तिम बुझाइ बन्न पुगेको छ ।

‘उहाँहरुको गतिविधिले कारवाही गर्नैपर्ने बाध्यता भयो । संसदीय इतिहासमा दलीय अनुशासन सवैभन्दा ठुलो कुरा हो । दलकै निर्देशन नमान्ने भएपछि त्यस्ता व्यक्ति पार्टीमा रहनु र नरहनुमा खासै भिन्नता रहन्न’, अध्यक्ष तथा प्रधानमन्त्री ओली निकटका एक नेता रातोपाटीसँग भन्छन्, ‘तर व्यवहारिकरुपमा यसरी सवैलाई कारवाही गर्दै जाँदा नेता कार्यकर्तामा निराशा आउने र राम्रो सन्देश नजाने पनि निश्चित ।’

ओली पक्षको कारबाहीपछि माधव पक्षका नेताहरुले ओलीको कारवाहीको कुनै अर्थ नभएको टिप्पणी गरिरहेका छन् । उनीहरुको टिप्पणीलाई आधार मान्ने हो भने कारवाहीमा परेका नेताहरु अझै एमालेकै नामबाट राजनीतिक गतिविधि गरिरहनेछन् ।

माधव पक्षका नेता भीम रावल ओलीको कारवाही हास्यास्पद भएको तर्क गर्छन् । ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लंघन गर्ने देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ’, रावलको भनाइ छ ।

नेता रावलले कारवाहीको प्रशंग केपी ओलीको फुटवादको निरन्तरता समेत भएको बताएका छन् । ‘यो केपी गुटको फुटबाटको निरन्तरता बाहेक अरु केही होइन’, उनको भनाइ छ ।

कारवाहीपछि कसरी अघि बढ्ने भन्नेमा थप छलफल बाँकी नै रहेको भन्दै रावलले आन्तरिक छलफलपछि मात्रै भन्न सकिने बताए ।

झिनो आशा बाँकी नै छ : पाण्डे

माधव नेपाल पक्षका नेता सुरेन्द्र पाण्डे नेकपा एमाले विभाजनमा भित्री र बाहिरी शक्तिकेन्द्रहरुले खेलेपनि त्यसलाई असफल पार्न जरुरी रहेको बताउँछन् । उनी अझै आफ्नो तहबाट प्रयास जारी राखेको भन्दै धेरै बिग्रिसके पनि प्रयास कायमै राख्दा कहिलेकाहीँ सकारात्मक परिणाम पनि आउन सक्ने बताउँछन् ।

‘बाहिरी र सतही कुरा गरेरमात्रै हुँदैन । यो षडयन्त्रमा बाहिरी शक्ति को हो कसरी लागेको छ भन्ने तपाईहरुले बुझ्नु नै भएको छ । पहिला पार्टी लथालिङ्ग पारेर देशलाई लथालिङ्ग पार्ने उद्देश्यअनुसार यो काम भइरहेको छ’, पाण्डे भन्छन्, ‘कुरा नबुझी सतहमा आएका कुरामा मात्रै कुद्ने हाम्रो बानी छ । यसले राम्रो परिणाम दिँदैन’, पाण्डेको भनाइ छ ।

उनले यो कुरा बुझेरै अझै पनि पार्टी एकता जोगाउने पक्षमा आफू लागिरहेको र त्यो झिनो आशा बाँकी नै रहेको बताए । ‘अझै म सानोतिनो चुकुल बाँकी छ कि भनेर मिलाउने प्रयासमै छु’, पाण्डेको भनाइ छ । नेता पाण्डेले एमाले पार्टी जोगाउनु सबै नेता कार्यकर्ताको कर्तव्य भएको पनि बताए ।

गल्ती माधव पक्षबाट भयो : सुवास नेम्वाङ

ओली पक्षका नेता सुवास नेम्वाङ गलत काम ओलीबाट भन्दा पनि माधव नेपाल पक्षबाटै भएको दावी गर्छन् । ‘केही नेताका कारण पार्टीको स्थिति यो अवस्थामा आयो । एमाले विभाजन हुँदा हामी कसैलाई फाइदा छैन । त्यो कुरा हामी सबैले बुझेको हो । तर, आफ्नो दलको नेता हटाउन विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने र पार्टीको ह्वीप नमान्नु सबभन्दा ठूलो कमजोरी हो । यसका कारण एमालेको स्थिति जटिलतातिर गइरहेको छ’, नेम्वाङको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप