बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

घरमा पनि बालबालिका असुरक्षित, घटेन संक्रमण दर

मङ्गलबार, ११ जेठ २०७८, २२ : १२
मङ्गलबार, ११ जेठ २०७८


कोरोनाभाइरस कोभिड—१९ को पहिलो लहरमा बालबालिका कम प्रभावित भएका थिए । तर, दोस्रो लहरमा नयाँ भेरियन्ट देखिएसँगै बालबालिकाको संक्रमण ह्वात्तै बढेको छ । मंगलबार सार्वजनिक गरिएको रिपोर्टमा नयाँ संक्रमितमध्ये ९ वर्ष मुनिका १८३ जना बालबालिका संक्रमित भएका छन् भने ६७६ जना १० देखि १९ वर्षसम्म उमेर समूहका रहेका छन् । गत २४ घण्टामा कूल ८५९ जना बालबालिका संक्रमित भएका छन् ।

संक्रमणको दोस्रो लहरको सुरुवातकाल अर्थात् झण्डै एक महिना अगाडिदेखि नै काठमाडौँ उपत्यकासँगै पोखरा लगायतका स्थानमा बालबालिकामा कोरोनाभाइरसको यूके भेरियन्टको संक्रमण पुष्टि भएको पत्ता लागेको थियो ।

पछिल्लो समय नेपालमा पुष्टि भएका तीनवटा भेरियन्टमध्ये भारतमा पहिलो पटक पत्ता लागेको बी १.६१७.२ भेरियन्ट मुख्य रुपमा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नयाँ भेरियन्ट बी १.६१७.२ सबै उमेर समूहमा तीव्र रुपमा फैलिएको छ ।

जेठ ५ गते बुधबार ९ वर्ष मुनिका बालबालिका १९० र १० देखि १९ वर्ष उमेर समूहका ५२८ जना संक्रमण पुष्टि भएको थियो । बिहीबार ९ वर्षका मुनिका बालबालिका २२७ संक्रमित भएका थिए भने ७ गते शुक्रबार १८८, शनिबार २२०, आइतबार १५६ र सोमबार १७३ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार अघिल्लो दिनभन्दा १० जना बढी संक्रमति अर्थात १८३ बालबालिका संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

जेठ १ गतेदखि ११ गतेसम्म बालबालिकामा कोरोना संक्रमण दर

कोरोना महामारीका कारण ९ वर्ष मुनिका ३२ जना बालबालिकाको मृत्यु भएको छ । यस्तै १० देखि १९ वर्ष उमेर समूहका ३२ जनाकै ज्यान भएको   स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बालबालिका घरभित्र सिमित रहँदा पनि संक्रमण दर घटेन

कोरोनाभाइरस कोभिड—१९ संक्रमित बालबालिकाको   संख्या बढ्दै गइरहेको छ । निषेधाज्ञा जारी गरेको २७ दिन पुग्दासमेत अपेक्षाकृत रुपमा संक्रमितको संख्या कम भएको छैन । निषेधाज्ञामा घरभित्र सिमित बालबालिकामा संक्रमण दर नघट्नु चिन्ताको विषय बनेको बालरोग विशेषज्ञ डा. आरके चौधरी बताउँछन् ।

नयाँ भेरियन्ट अझ बढी संक्रामक भएकाले बालबालिका चाँडै प्रभावित हुने चौधरीको भनाइ छ । त्यसैले बालबालिका घरभित्रै छन् भनेर सावधानी अपनाउन छाड्न नहुने उनको भनाइ छ । काम विशेषले बाहिर निस्कने परिवारका सदस्यले घरभित्र भएका बालबालिका लागि भएपनि जनस्वास्थ्य मापदण्ड पूर्ण रुपमा अपनाउन उनको आग्रह छ ।

 

घरमा बालबालिका भएका परिवारका सदस्य संक्रमित भएर होम आइसोलेशनमा बस्दा झन् बढी ध्यान दिन जरुरी रहेको उनको भनाइ छ । प्रायः बालबालिका अभिभावक तथा अन्य सदस्यबाट संक्रमित भएको उनी बताउँछन् । ‘अस्पतालमा कोभिड भएर उपचार गराउन आउने बालबालिकामध्ये प्रायलाई अभिभावकबाट नै सरेको पाइएको छ,’ उनी भन्छन्, ‘बालबालिकालाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउन पनि गाह्रो हुन्छ । उनीहरु एकछिन पालना गर्छन्, छिनमै भुलिदिन्छन् । त्यसैले परिवारका सदस्य बालबालिकाप्रति अझै बढी गम्भीर हुनैपर्छ ।’

कोरोना पोजेटिभ बालबालिका धेरैमा पखाला लागेको देखियो

चौधरीका अनुसार कोरोना पोजेटिभ देखिएका बालबालिकामा अन्य उमेर समूहका व्यक्तिमा देखिने जस्तै लक्षण देखिन्छ । कहिलेकाहीँ परिवारका सदस्य लक्षणविहीन संक्रमित हुने तर बालबालिकामा संक्रमणको लक्षण देखिन सक्छ । ‘परिवारका सदस्यमा कसैलाई पनि कोरोना संक्रमणको लक्षण देखिएका छैन र पनि बालबालिकामा ज्वरो, खोकी, श्वासप्रश्वास समस्या, पखाला, खानपानमा रुची देखाएनन् भनेपनि चिकित्सकको सल्लाह लिनुपर्छ,’ उनी भन्छन्, ‘सा—साना शिशुले भन्न नसक्ने भएकाले अभिभावकले साना–साना कुरालाई पनि शंकाको दृष्टिले हर्ने र ख्याल गर्नुपर्छ ।’ सामान्य रुघाखोकी लाग्ने कोरोना परीक्षणको दायरामा नआएको कारण अझै धेरै बालबालिका संक्रमित भएको हुनसक्ने उनले सुनाए ।

बालबालिकालाई उपचार गर्ने जनशक्ति र पूर्वाधार कम छ

नेपालमा बाल अस्पतालको संख्या न्यून छ । जनरल अस्पतालमा बालबालिकाको उपचार गर्ने वार्ड भएपनि जनशक्ति र स्वास्थ्य उपकरण तथा पूर्वाधार अन्य उमेर समूहको तुलनामा कम भएको डा. चौधरी बताउँछन् । बालबालिकालाई उपचार गर्ने स्वास्थ्य उपकरण फरक हुने भएकाले सबैले अस्पतालले भर्ना नलिने पनि उनले सुनाए ।

कोरोना संक्रमित बिरामीको उपचार गर्दै आएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बालबालिकाको उपचार गरिँदैन । सबैभन्दा पुरानो अस्पतालका रुपमा रहेको वीर अस्पतालमा बाल उपचार कक्ष नै छैन । डा. चौधरी भन्छन्, ‘बाल अस्पताल बाहेक अन्य अस्पतालमा बाल उपचार कक्ष भए पनि २÷३ वर्षका मुनिका बालबालिका संक्रमित भइ उपचार गर्न समस्या हुन्छ । अन्य उमेर समूहका कोभिड बिरामीको उपचारको लागि जनशक्ति र उपकरण बढाएझैँ संक्रमित बालबालिकालाई उपचार गर्ने स्वास्थ्य पूर्वाधार बढाउन अतिआवश्यक भएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप