बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप आयातमा १० दिनभित्र ब्रेक थ्रु हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

शुक्रबार, १४ जेठ २०७८, १७ : ४७
शुक्रबार, १४ जेठ २०७८


काठमाडौं — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कोभिड —१९ विरुद्धको खोपबारे दश दिनभित्र ब्रेक थ्रु हुने बताएका छन् । यसका लागि चीन र अमेरिकासँग कुटनीतिक छलफल भइरहेको उनले बताए । नेपालले कोरोनाविरुद्धको खोपका लागि चीन, बेलायत, अमेरिका रुससँग औपचारिक तथा अनौपचारिक रुपमा पहल गरिरहेको मन्त्री ज्ञवालीले जानकारी दिएका हुन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको एक कार्यक्रममा खोपका विषयमा यी चार राष्ट्रमध्ये चीन र अमेरिकासँग सकारात्मक छलफल र पहल भइरहेको उनले बताए ।  ‘कोरोनाविरुद्धको खोपहरू क्लिनिकल ट्रायलको क्रममा रहँदै खोप उत्पादन गर्ने देश र कम्पनीलाई नेपालले गरेको पत्राचारको प्रतिउत्तर सकारात्मक आएको थियो, अहिले चीन, रुस, अमेरिका, बेलायतलाई पत्राचार गरिसकेका छौँ,’ उनी भन्छन्, ‘चीन र अमेरिकासँग खोप खरिदका बारेमा बढी केन्द्रित भएर अघि बढिरहेकाले आगामी दश दिनभित्र खोपको ब्रेक थ्रु हुन्छ, त्यसमा दुईचार दिन तलमाथि सक्छ ।’

चीनले खोप ९० राष्ट्रलाई सहयोग र व्यापारिक सम्झौतामा उपलब्ध गराएको हुँदा चीनले नेपाललाई खोप दिने विश्वास व्यक्त गरे । अमेरिकासँग पनि ६ करोड एस्ट्राजेनेकाको खोप स्टक भएको पहल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले बताए ।

‘अमेरिकाले एस्ट्राजेनिका खोप प्रयोग गरेको छैन । एस्ट्राजेनिकाको खोप उपलब्ध गराइदिन अनुरोध गरेका छौं,  अमेरिकाको प्रक्रिया कति लामो हुँदो रहेछ भने सबैभन्दा पहिला त्यहाँको फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले स्वीकृत, औषधी विभाग ,रेगुलेटरी बोर्ड र त्यहाँका सुरक्षा निकायले ओके गरेपछि मात्र वितरण हुनाले हुने भएकाले केही समय लाग्न सक्छ,’ उनी भन्छन्, ‘नेपाललाई अमेरिकाले प्राथमिकतामा राखेको उहाँहरुले जानकारी  दिनुभएको छ ।’

नेपालले पहिलो चरणमा चीनसँग ५० लाख जोड र जोनसोन एण्ड जोनसोनसँग ५० लाख जोड खरिद गर्ने उनले बताए । ‘खोप एकैपटकमा धेरै ल्याएर हामीसँग भण्डारण गर्ने क्षमता छैन,’ उनी भन्छन, ‘२०२१ सम्म लक्षित समुहलाई खोप लगाउन अभियान सञ्चालन गर्नेछौं ।’

असमान खोप वितरणले विकासशील राष्ट्र मर्कामा

कोरोनाविरुद्धको खोप असमान तरिकाले वितरण गर्दा विकासशील राष्ट्रहरुले समस्या भोगेको उनले बताए । ‘विश्वमा खोपको असमान वितरणले असाध्यै डरलाग्दो समस्याको रुपमा देखिएको छ, संयुक्त राष्ट्र संघ महासचिव, विश्व स्वास्थ्य संगठनका महासचिव, विकासशील देशका धेरै प्रधानमन्त्री र राष्ट्रपतिहरूले खोपको असमान वितरण बारे बोलिरहनुभएको छ,’ उनी भन्छन्, ‘९५ प्रतिशत खोप १५ विकसित देशहरुमा सिमित छन्, बाँकी ५ प्रतिशत खोप १६० भन्दा बढी देशमा अभियान चलाइएको छ ।’ 

कोरोनाविरुद्धको खोपमा व्यापक कोलाब्रेसनमा जरुरी देखिएको उनको भनाइ छ ।  भविष्यमा यस्तै खालको समस्या आउन सक्छ भनेर सुरुमै  विश्व स्वास्थ्य संगठन, गाभी लगायतका संस्थाले समन्वय गरेपनि समयमै खोप उपलब्ध गराउन नसकेको उनले बताए ।

कोभ्याक्सले मार्च महिनासम्म १९ करोड डोज खोप प्रदान गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म ५ करोड डोज खोप मात्रै उपलब्ध गराएको छ । विश्वमा खोपको असमान वितरण डरलाग्दो समस्याका रुपमा रहेको भन्दै उनले खोप खरिदका लागि बजेट सुनिश्चित भएपनि असमान वितरणका कारण नै खोप समयमै उपलब्ध हुन नसकेको जानकारी दिए । कोभ्याक्स सुविधामार्फत नेपाललाई १९ लाख मात्रा खोप उपलब्ध गराउन भनिएको थियो । तर, नेपालले कोभ्याक्समार्फत ३ लाख ३८ हजार कोभिशिल्ड खोप प्राप्त गरेको छ ।

कोभिड खोप खरिदका लागि ३६ अर्ब सुनिश्चित 

परराष्ट्रमन्त्री  ज्ञवालीले कोरोनाविरुद्धको खोप खरिदका लागि ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको जानकारी दिएका छन् । खोप खरिदका लागि बजेट सुनिश्चत भएपनि असमान वितरणले खोप प्राप्त गर्न समस्या भएको उनको भनाइ छ ।  ‘हामीलाई श्रोतको अभाव पनि छैन, हामी अनुदानको खोप मात्र पर्खिएर बसेका पनि छैनौं,’ उनी भन्छन, ‘मुख्य समस्या उत्पादन र आपूर्ति ग्याप छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप