केन्द्रीय संस्करण
लघुकथा

सरकारसँग जीवनको भिख

person explore access_timeजेठ १७, २०७८ chat_bubble_outline0

च्यान्टी काठमाडौँ सहर पसेको १५ वर्ष भयो । ग्रामीण परिवेशमा आर्थिक अभावमा हुर्केकी च्यान्टीले कहिल्यै राम्रोसँग सुखको अनुभूति  गरिन । बर्सेनि जन्मिएका भाइ, बहिनी, बाबाको थाप्लामा सधैँको नाम्लो  भारी देख्छे । सधैँ सुत्केरी हुनुपर्दा पोख बसिसकेकी आमा, घरधन्दा मेलापातमा भोगिरहेको पीडा देख्छे ।  कहिल्यै बाआमाको अनुहारमा हाँसो सुख देख्न पाइन । ग्रामीण स्तरको सरकारी विद्यालयमा कक्षा आठ पढ्दापढ्दै गाउँकै वीरेसँगको प्रेममा पर्छे । भर्खरै जवानी सुरु भएकी च्यान्टीको यौवन दिन दुई गुना रात चौगुणा हुँदै जान्छ । अनुहारमा लाली चढ्न थाल्छ ।  १६ वर्षकी च्यान्टीले घरमा  बाआमाको दुःख, देख्दा देख्दै दिक्क बनेकी हुन्छे ।  किशोरी अवस्थामा के निर्णय गर्दा ठीक हुन्छ सोच्नै सक्दिनँ । फेरि  वीरेसँगको मायाको डोरो झन् बलियो हुँदै गएको छ । प्रत्येक दिन उनीहरूको विद्यालयमा भेटघाट, कुराकानी हुन्छ । बिदाको दिन पनि सँगै मेलापात, गाई चराउन जाने गर्दथँे । अब त उनीहरू एकअर्कालाई छोडेर बाँच्न नसक्ने अवस्थामा पुगिसकेकी हुन्छे । वीरेले च्यान्टीसँग घरबार बसाइँ सहर पस्ने सपना पनि देख्न थालेको थियो । च्यान्टीको पुरानो कुर्था सुरुवालमा राम्रो साडी, चोलो, जवानीको लाली चढेको निधारमा रातो टीका, सिउँदो भरी सिन्दुर, डोला  नारीमा रातो चुरा लगाइदिने चाहना एकाएका भरिँदै  गएका थिए ।

एक दिन शनिबारको दिन थियो । दुवै जना सल्लाह गरी खरबारीमा घाँस काट्न गएका थिए ।  वीरेले च्यान्टी आज तिमीसँग एक प्रस्ताव राखौँ  भन्छ ।  च्यान्टी पनि अब सारा सपना वीरेसँग देखेकी हुँदा नजिकै लहसिँदै मन्द मुस्कान भर्दै हुन्छ अनि भन्छे, तिमीलाई पनि सधैँको दुःख, बा, आमा, भाइ, बहिनी हेर त अब पढाइ छोडी  देऊ ।  बाआमालाई कतिन्जेल दुःख दिन्छ्यौ । तिमी र म भोलि भञ्ज्याङको देउरालीमा बिहे गरी काठमाडौँ सहर पसौँ । उतै बसौँ धेरै ठूलो सहर छ रे । राजधानीमा केही न केही जागिर गरौँला अक्षर चिनेकै छौँ क्यारे । पैसा कमाउँला यता बाआमालाई पनि पठाउँला । फेरि तिम्रो दुःख मेरो दुःख एउटै हो । बाआमालाई पनि  भाइ बहिनी पढाउन सहयोग हुन्छ  क्यारे । प्रस्ताव राख्छ । च्यान्टी पनि वीरेको प्रस्तावलाई सहजै स्वीकार गर्छे । किनभने  घरजम गरी सहरमा बसी पैसा कमाएर  बाआमालाई पठाए भने भाइ बिहनीले पढाइलाई निरन्तरता दिन्छन् । बाआमालाई पनि कहिलेकाहीँ मीठो चोखो खानका लागि सहयोग  हुन्छ । दुवैको स्वीकृतिमा भोलि बिहानै भागी भञ्ज्याङको देउरालीमा भेट्ने भनी वाचा गरी घासको भारी लिएर आआफ्ना घरतिर लाग्छन् ।

बिहानै भाले नबास्दै च्यान्टी घरबाट निस्कन्छे । दुवैको देउरालीमा भेट  हुन्छ । च्यान्टीलाई वीरले सधैँभरी साथ दिने बाँचा गर्दै आजदेखि तिमी मेरी भयौँ । दुई शरीरका एक मुटु भयौँ । सधैँ तिम्रो आँखामा खुशी भर्न सकुँ भन्दै देउराली  माईलाई साक्षी राखी सिन्दुर टीका, चुरा, पोते, औँठी लगाइदिन्छ । दुवै केही समय एकअर्कामा हराउँन पुग्छन् । छिटोछिटो गाउँबाट काठमाडौँका लागि छुट्ने बस चढी राजधानी बेलुका झण्डै ७ बजे आइपुग्छन् । वीरेका बाको सानीमाको छोरा श्यामको डेरा बौद्ध जोरपाटीमा हुन्छ । त्यतैतिर लाग्छन् । घर पुगी वीरेले सबै कुरा दाइ श्यामलाई सुनाउँछ । राजधानीको बसाइ सारै गाह्रो हुन्छ । दुई चार दिन त यहाँ मिलेर बसौँला । त्यसपछि काम खोज्नुपर्छ । काम त पाइन्छ । धन्दा नमान भनी खानपिन पछि आराम गर्छन् ।

यता गाउँमा च्यान्टी र वीरे भञ्ज्याङको देउरालीलाई साक्षी राखी सिन्दुर हाली भागेर राजधानी सहर गएको थाहा हुन्छ । च्यान्टीले आफू सुत्ने सिरानीमुनि एउटा पत्र लेखेर छाडेकी हुन्छे । बाआमा मलाई माफ गर्नुहोस् । मैले हजुरहरूको मान मर्यादा, इज्जतमा दाग लगाउँने काम  गर्दैछु । घर सधैँ हजुरहरूको दुःख देख्न नसकी वीरेसँग बिहे गरी राजधानी सहरमा गई धेरै पैसा कमाएर भाइ बहिनीको पढाइलाई पूरा गर्ने र हजुरहरूको अनुहारमा केही भए पनि खुशी खोज्न यो कडा कदम चाले मलाई माफ गर्नु हजुरको छोरी च्यान्टी भनेको पत्र कान्छी छोरीले पढेर सुनाउँछे । बा अँध्यारो मुख लाउँछन् । आमा रुन थाल्छिन् । आरिख छोरीले सधैँको दुःख पीडाले गर्दा यस्तो कदम चाली फेरि वीरे पनि गाउँको राम्रै परिवार एक छाक खान पुग्ने परिवारको  मान्छे भएको हुँदा चित्त बुझाउँछन् ।

हप्ता दिन  भएको थियो राजधानी झरेको । दुवैले जागिर पाउँछन् । च्यान्टी माडबारीको कपडा पसलमा काम पाउँछे । वीरे अपार्टमेन्टमा सुरक्षा गार्डको नोकरी पाउँछ । दुवैमा खुशीको दिन  सुरु हुन थाल्छ । दुवैको गरीे महिनामा पैँतीस हजार जति आम्दानी हुन्छ । छुट्टै कोठा लिई बस्न थाल्छन् । च्यान्टी त बिहान, साँझ शनिबार अरूको घरमा लुगा धुने, भाँडा पनि माझ्ने गर्छे । पैसाको दुःख हुँदैन । गाउँमा भाइ बहिनीको पढाइका लागि र घर खर्चका लागि भनी  आठ दस हजार पठाइदिन्छे । गाउँमा बाआमाले छोरीले पैसा पठाउँदा खेरी हर्षले आँसु खसाल्छन् । जागिर खाएको पनि पाँच वर्ष हुन थाल्यो । दुईको तलब पनि वृद्धि हुन्छ । दुवैको सल्लाहमा एक छोरीको जन्म दिन्छन् । अलि कति रकम बैङ्कमा पनि बचत गरेका हुन्छन् । एक छाक खान, लगाउन, घरभाडा तिर्न खासै गाह्रो थिएन । समयसँगै छोरी पनि स्कुल जाने भइन् । समय वित्दै थियो । अचानक कोरोना महामारी आयो । लामो समयको लक डाउनले गर्दा उद्योग, व्यापार, कल कारखना, स्कुल कजेज बन्द भए । उनीहरूको जागिर पनि गयो । पहिलो महामारीमा बैङ्कमा अलि अलि जम्मा गरेको रकमबाट खानलाई खासै गाह्रो भएन । केही महिना गाउँतिर बस्न पनि गए ।

महामारी कम भई दैनिकी सुरु भयो । उनीहरू पुनः राजधानी फर्किए । धेरै समयदेखि जागिर खाएका इमानदारी भएका हुँदा पहिलेकै ठाउँमा जागिरको निधो भयो  । काम राम्रै थियो । दिन बित्दै गएका थिए । फेरि अचानक महामारीको डढेलो लाग्यो । पसलहरू बन्द र व्यापार व्यवसाय ठप्प दुवैको जागिर गयो । यस पालि त बैङ्कमा सञ्चित धन पनि थिएन । दिन प्रतिदिन गाह्रो हुँदै जान थाल्यो । वरपर एक दुई घरमा पोछा लगाउँने, भाडा माझ्ने काम गर्थिन च्यान्टी । जेनतेन  साँझ बिहानको गर्जो  टरेको थियो । मानसिक तनाव, राम्रोसँग भोक मेट्नका लागि  जोहो गर्न पनि धौँ धौँ परेको थियो । अचानक मौसमी रुघा खोकी लाग्न थाल्यो । भाँडा माझ्न जाँदा च्यान्टी तिमीलाई त रुघा खोकी लागेको रहेछ । कोरोनाको डर भोलिदेखि काममा नआउनु भनी घरभेटीले बिदा दिइन् । अब त साँझ बिहानको भोक मेट्ने बाटो पनि बन्द भयो । मानसिक तनावमा भोकभोकै  दिन बित्दैछन् । गाउँ फर्की जानका लागि यातायात बन्द छ । फेरि साथमा एक रुपैयाँ पनि छैन । हप्तौँ हिडेर जान पनि सकिँदैन । सानी छोरी, ममी भोक लाग्यो भन्दा खान दिने कुरा केही छैन । मागी हिँड्न कता जानु जताततै महामारी त्रास छ । भोक मेट्नका लागि राहत पनि कता पाइन्छ । थाहा छैन । सरकार विन्ती केही समय यो प्राण थाम्नका लागि भोकमा भोजन उपलब्ध गराई देऊ । बाँच्न चाहन्छौँ । सधैँ यस्तो त हुँदैन होला । रात पछि दिन आउला । परिश्रम गरी खाने यी पाखुरीलाई बचाइदेऊ । दुःखी, भोका र नाङ्गाको सहारा सरकार छ भन्ने भान दिलाइदेऊ । विन्ती सरकार भोक मेटी केही छिन्, बाँच्न चाहान्छौँ । सहज भएपछि गरी खान्छौँ । यस सहरमा म जस्ता भोका, दुःखी धेरै छन् । भोकसँग लड्ने बनाई मृत्युबाट बचाइदेऊ भन्दै अलाप विलाप गर्दै यतिखेर च्यान्टीले जीवन जोगाउन सरकारसँग भिख मागिरहेकी छे ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.