मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी खोप कति र कहिले आउँछ थाहा छैन : स्वास्थ्य मन्त्रालय

आइतबार, २३ जेठ २०७८, १९ : ५८
आइतबार, २३ जेठ २०७८

अमेरिकाले नेपाललाई उपलब्ध गराउने भनेको खोप कहिले र कति आउँछ थाहा नभएको स्वास्थ्य मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले अमेरिकाले खोप दिने भनेको सुनेको भएपनि त्यसबारे हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको बताए । 

प्रवक्ता पौडेलले भने, ‘सुरुमा अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने भन्ने हल्ला चल्यो । तर नेपाललाई मात्रै नभएर विभिन्न एसियाली मुलुकलाई ७० लाख डोज दिने घोषणा भएको रहेछ । तर उक्त खोपमध्ये नेपाललाई कुन खोप, कति डोज र कहिले दिने भन्नेबारे केही जानकारी आएको छैन ।’

प्रवक्ता पौडेलका अनुसार हालसम्म स्वास्थ्य मन्त्रालयमा अमेरिकाले दिने खोपबारे कुनै औपचारिक जानकारी आएको छैन । अमेरिकी दूतावासमार्फत परराष्ट्र मन्त्रालय हुँदै जानकारी आउने भएकाले केही समय लागेको हुनसक्ने पौडेलले बताए । 

यसअघि गत बिहीबार राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले अमेरिकाले नेपाललाई कोरोनाविरुद्धको ५० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको भन्दै सामाजिक सञ्जालमा लेखे ।  राष्ट्रपतिका सञ्चारविज्ञ मात्रै नभएर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने भन्दै त्यसलाई सरकारको सफलता भएको दाबी गरेका थिए । 

यद्यपि तथ्य भने त्यस्तो थिएन । गत बिहीबार राती ह्वाइट हाउसले गरेको घोषणामा नेपाल सहितका केही एसियाली मुलुकलाई ७० लाख डोज खोप उपलब्ध गराउने उल्लेख थियो । उक्त घोषणामा भारत, नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्युगिनी, ताइवान र अन्य प्यासेफिक टापुहरूलाई ७० लाख डोज खोप दिने उल्लेख थियो । तर बाइडेन प्रशासनको घोषणालाई बंग्याएर राष्ट्रपतिका सञ्चारविज्ञ र प्रधानमन्त्रीका प्रेस सल्लाहकारले अमेरिकाले नेपाललाई ५० लाख डोज खोप दिने भन्दै प्रचारबाजी गरेका थिए । यद्यपि पछि राष्ट्रपतिका सञ्चारविज्ञ र प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ती दुबै ट्वीट डिलिट गरेका थिए । 

ह्वाइट हाउसले नेपालसहितका एसियाली मुलुकहरूलाई ७० लाख डोज खोप दिने भनेपनि त्यसबाट नेपालले कति पाउने हो, घोषणामा त्यो कुरा उल्लेख गरिएको छैन । यस्तै अमेरिकाले उक्त खोप कहिले उपलब्ध गराउने, कुन खोप उपलब्ध गराउने र कति मात्रा उपलब्ध गराउने भन्ने जानकारी हालसम्म नेपाललाई दिएको छैन । स्वयं स्वास्थ्य मन्त्रालय पनि यसबारे अनविज्ञ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप