शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘सर्वोच्चको फैसलापछि नयाँ पार्टी घोषणा हुन्छ, ओलीसँग एकताको सम्भावना क्षीण’

अनौपचारिक कुराकानी अहिले पनि चलिरहेको छ त्यो चल्दै जान्छ : युवराज ज्ञवाली
आइतबार, २३ जेठ २०७८, २० : ३९
आइतबार, २३ जेठ २०७८

नेकपा एमालेको माधव समूहले विहीबार शुक्रबार लगातार दुई दिन केन्द्रीय समिति स्थायी समिति बैठक बोलाएर नयाँ पार्टी गठन गर्ने वा ओलीसँग एकता गर्ने भन्ने बहस चलायो । बहसका क्रममा सहभागीहरुमध्ये अधिकांशले ओली नसुध्रने भएकाले नयाँ पार्टी गठनमा जोड दिए ।

दुवै बैठकपछि एमालेको माधव समूह के गर्छ त ? ओलीसँग एकता वा नयाँ पार्टी गठन ? नेता युवराज ज्ञवालीलाई रातोपाटीले प्रश्न गरेको छ । ज्ञवालीको भनाइमा ओलीसँगको वार्ता र नयाँ पार्टी गठन प्रक्रिया सँगसँगै चल्नेछ ।

केन्द्रीय समिति र स्थायी समिति बैठकको निश्कर्ष तथा नयाँ पार्टी गठनबारे भइरहेको तयारीबारे प्रस्तुत छ नेता ज्ञवालीसँग गरिएको कुराकानी :

तपाईहरुले आफूपक्षीय केन्द्रीय समिति र स्थायी समिति बैठक बोलाउनुभयो । यो बैठकको सार के हो ?

केन्द्रीय समिति र स्थायी समितिका बैठकले खासै नयाँ निर्णयहरु गर्न बोलाइएको थिएन । वर्तमान सन्दर्भमा पार्टीभित्र प्रमुख रुपमा उठेका प्रश्नहरूका बारेमा केन्द्रीय सदस्यहरूका राय सुझाव बुझ्ने उदेश्यले बैठक राखिएको थियो । त्यसक्रममा सबै साथीहरुले आफ्नो मनमा उठेका विषयहरु बैठकमा राख्दै विभिन्न महत्वपूर्ण सुझावहरु पनि दिनुभएको छ ।

ती सुझाव र प्रश्नहरु आफैंमा धेरै महत्वपूर्ण र मनन योग्य छन् । जसले स्थायी कमिटी र पार्टीका सवै नेताहरुलाई अघि बढ्न सघाउ पुर्याउँछ भन्ने हाम्रो निश्कर्ष छ र बल पनि पुगेको छ । किनभने, अब कुन तरिकाले र कसरी जानुपर्छ होला भन्नेमा हामीलाई सजिलो पनि भएको छ । केन्द्रीय समिति सदस्यहरुले उठाएका कुराहरुलाई हामीले स्थायी कमिटीमा छलफल गरेर एउटा साझा निश्कर्ष बनाएका छौं ।

पार्टी संकटमा परेका बेला बसेको बैठकमा महत्वपूर्ण सुझावहरु आए भन्नुभयो, ती सुझावहरु कस्ता थिए ?

मुलभूतरुपमा हामीले अझै पनि पार्टी एकताकै लागि प्रयत्न गर्नुपर्छ र पार्टी एकताका लागि हामीले आधार पनि प्रस्तुत गरिसकेका छौं । जुन जेठ २ गतेको संगठनात्मक संरचना छ, त्यहाँ पुगेर निर्णय गरेर अघि बढ्नुपर्छ भन्ने नै हो । ठोसरुपमा भन्नुपर्दा एकीकरणभन्दा पहिलेको स्थायी कमिटी र केन्द्रीय कमिटी, पोलिटब्युरोको बैठक बसेर तिनै कमिटीबाट निर्णय गरेर जे जे गर्नुपर्ने हो, गर्नुपर्छ । त्यसका लागि जेठ २ को अवस्थाको स्थायी कमिटी बैठक बोलाउनुपर्छ भन्ने हाम्रो समूहको साझा निश्कर्ष हो ।

यदि ओलीजी त्यो गर्न तयार हुनुभएन भने विलम्ब नगरी नयाँ कम्युनिस्ट पार्टी, नयाँ क्रान्तिकारी पार्टी गठन गर्नका लागि विभिन्न तयारी गर्नुपर्ने आवश्यक्ता छ, त्यो गर्दै जाने र नयाँ क्रान्तिकारी पार्टी गठन गरेर देशको कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउनुपर्छ भन्ने हाम्रो निश्कर्ष हो ।

वार्ता र संघर्ष सँगसँगै लैजाने भन्ने हो ?

हो । एकताका लागि वार्ता तोड्नु पनि हुँदैन र सँगसँगै छलफललाई पनि निरन्तरता दिनुपर्छ । तर, केपी ओलीले धोका पनि दिन सक्नुहुन्छ । त्यो सम्भावना बढी र एकताको सम्भावना क्षीण भएकाले एकाधबाहेक नयाँ पार्टी पुनर्गठनको तयारीमा जुट्नुपर्छ भन्ने समग्र धारणा आएको छ । र, गर्नुपर्ने पनि त्यही हो ।

अन्तिमसम्म एकताको प्रयास गर्ने त्यो नभए नयाँ पार्टी गठन गर्ने भनेको पनि धेरै समय भैसक्यो । तर, तपाईंहरुको बटमलाइन मान्न ओली तयार नदेखिनुभएको अवस्थामा अन्तिम समय कहिले सम्मलाई मान्नुहुन्छ ? कहिलेसम्म पर्खनुहुन्छ ?

केपी शर्मा ओलीमा रुपान्तरण हुने सम्भावना अत्यन्त कम देखिन्छ, यो सत्य कुरा हो । तर, नेकपा एमालेको अध्यक्ष भनेर जुन पार्टी उहाँले चलाइरहनुभएको छ, त्यो पार्टीभित्र हजारौं हजार नेता कार्यकर्ता छन् । ती नेता–कार्यकर्तामा पार्टी एकतावद्ध हुनुपर्छ भन्ने राम्रो सदीक्षा छ । गण्डकी र लुम्बिनी प्रदेशमा हेर्नुभयो भने ओली पक्षीय अध्यक्षहरुले नै कुनै हालतमा पार्टी एकता गरेर जानुपर्छ भन्नुभएको छ । जहाँ ओली समूहको नै पकड भएको ठानिन्छ, त्यहाँका अध्यक्षहरुले नै वक्तव्य निकालेका छन् । अथवा देशभरीकै कार्यकर्ताको मान्यता जेठ २ को संगठनात्मक ढाँचामा गएर त्यहीबाट पार्टीलाई एकीकृत गर्नुपर्छ भन्ने मान्यता जर्वजस्त देखिन्छ । ८० प्रतिशत भन्दा बढी कार्यकर्ता हामीले एकीकरणको सन्दर्भमा उठाएका मापदण्ड वा शर्त जे छन्, त्यसलाई स्वीकार्न तयार भएको अवस्था छ ।

तर, उहाँहरुले केपी ओलीसँग सिधा भन्न मात्रै सक्नुहुन्न । नेतृत्व तहमै रहेका कतिपय साथीहरुमा पनि त्यो देखिन्छ, कतिपयमा मात्रै छलछामको नीति देखिन्छ । यस्तो अवस्थामा केपी ओलीमा परिवर्तन आइहाल्ने सम्भावना हामीले देख्दैनौँ । उहाँ प्रतिगमनको यात्रामा निरन्तर, अनवरत र उल्टो दिशामा हिँडिरहनुभएको छ ।

हाम्रो आशा के हो भन्दा केपीको मातहतमा रहेका साथीहरु जो–जो हुनुहुन्छ, उहाँहरुले त्यहाँ दवाब सिर्जना गर्ने अवस्था आउँछ कि भन्ने हाम्रो बुझाइ छ । किनभने, तल तल जिल्ला, गाउँ तहका कार्यकर्तासँग हाम्रो निरन्तर अन्तक्र्रिया भइरहेको छ, सोही कारण हामीले एकतामा जोड दिएका हौं ।

अहिले फेरि सर्वोच्चमा मुद्दा पनि छ । त्यसले निर्क्योल गरिसकेपछि, जुनसुकै निर्णय गरेपनि स्वभाविक रुपमा नेपालको राजनीतिलाई प्रभावित गर्नेछ । जसले हाम्रो एकीकरणको प्रयासलाई पनि कति सम्भव या असम्भव या छिनोफानो गर्न पनि एउटा परिस्थिति निर्माण गर्नेछ । त्यसकारण अदालतको फैसलापछि कसरी जाने भन्ने अन्तिम टुंगोमा पुग्न सकिन्छ । तर, यसको तात्पर्य अदालतको निर्णयको प्रतिक्षामा बसेर कुनै पनि तयारी गर्नुहुँदैन भन्ने होइन । आवश्यक तयारी जारी राख्नुपर्छ भन्ने लाग्छ ।

अबको वार्ता कार्यदलमार्फत हुन्छ कि ओली र माधव नेपालबीच सिधै हुन्छ ? के देख्नुहुन्छ ?

औपचारिक वार्ता गर्नुपर्ने हुन्छ । किनभने, ठोस योजना बनाउनुपर्छ । एकीकरण गर्दा अन्तिममा गर्नुपर्ने काम भनेको सर्वप्रथम जेठ २ गतेको स्थायी समितिको बैठक बस्नुपर्छ । त्यहाँ पुग्नका लागि औपचारिक वार्ता गर्नुपर्छ । औपचारिक वार्ताका लागि नेताहरु माथिको कारवाही फुकुवा हुनुपर्छ । त्यो फुकुवा भएपछि प्रमुख नेताहरुबीच गर्ने वा फेरि कार्यदल बनाएर गर्ने भन्ने जुनसुकै तरिका अपनाउन सकिन्छ । औपचारिक वार्ताका लागि नेताहरुको कारवाही पहिला फुकाउनुपर्यो, । तर, अनौपचारिक कुराकानीचाहिँ अहिले पनि चलिनै रहेको छ त्यो चल्दै जान्छ ।

अहिले चलिरहेको अनौपचारिक वार्ताले कुनै सकारात्मक संकेत पनि दिएको छ कि ? वार्ताका लागि वार्ता मात्रै ?

कहिलेकाँही अनौपचारिक वार्ता औपचारिक वार्तामा रुपान्तरण हुन सक्छ, र औपचारिक वार्ताले सफलता प्राप्त गर्न सक्छ । यस्ता वार्ताका हामीसँग धेरै अनुभवहरु छन् । त्यसो भएकाले यो अनौपचारिक वार्ता नै निर्णायक हुँदैन । त्यसले औपचारिक वार्तामा पुर्याउनका लागि वातावरण मिलाउन सक्छ ।

भनेपछि ओली विरुद्धको गतिविधिलाई निरन्तरता दिँदै नयाँ पार्टी निर्माणका लागि समानान्तर गतिविधिलाई पनि जारी राख्ने तपाईंहरुको रणनीति हो ?

अहिले त्यसरी नै गइरहेको छ । ओलीविरुद्धको  संघर्ष र समानान्तर गतिविधि चलाइनै रहेका छौं । भर्चुअल रुपमा पनि हाम्रा जिल्ला जिल्लामा बैठकहरू बसेकै छन् । जनवर्गीय संगठन, स्थायी र केन्द्रीय समिति बैठकहरू जारी छन् ।

नयाँ पार्टीको घोषणा कहिले गर्ने ?

यसबारेमा अन्तिम टुंगोमा पुग्न कमसेकम सर्वोच्चमा मुद्दा चलिरहेकाले त्यसको फैसला कुर्नुपर्छ । यद्यपि, हाम्रो चाहाना पार्टी एकता गर्ने नै हो । अर्को पार्टी बनाउने हाम्रो चाहाना भन्दा पनि बाध्यता हो । केपी ओलीले हामीलाई सकभर नमिलाउने,एमालेलाई अलगथलग बनाउने उहाँको नीति हो यसमा हामी प्रष्ट छौं । धेरै साथीहरुले भनिसक्नु पनि भएको । हामी एकतावद्ध हुन चाहने ओलीजी पार्टी फुटाउन चाहने भइरहेको यो हो । यदि हामीले उठाएका कुरा ओलीले नमानी हामीलाई जबर्जस्ती धकेलेको अवस्थामा अलग पार्टी गठन गर्नु बाध्यता हुन्छ । नयाँ शिराबाट अघि बढ्नुपर्ने बाध्यता हुन्छ । त्यो अवस्था आउँछ ।

पहिला जेठ २ लाई तपाईहरुले बटमलाइन बनाउनुभयो । अहिले फेरि संसद विघटनमा आत्मालोचना गर्नुपर्ने र कारवाही फिर्ताका शर्त पनि थपिएको छ । उता हस्ताक्षर फिर्ताको कुरा छ । यो हेर्दा त अब एमालेको एकता जोगिएला भनेर त विश्वास गर्ने आधार नै देखिदैन नि ?

यी सबै कुराको समाधान छ । हस्ताक्षर फिर्ता हुदैन, किनभने सर्वोच्चमा मुद्दा चलिरहेको छ । किनभने यो राजनीतिक र आम रुपमा गरिएको कुरा हो । दोस्रो कुरा औपचारिक वार्ताका लागि कार्यदलमा रहेका नेताहरुको कारवाही भएको छ त्यो कारवाही खारेज हुनुपर्छ, त्यसपछि बल्ल औपचारिक वार्ता हुन्छ । तर, अनौपचारिक वार्ता र कुराकानी चलि पनि रहेको छ अझै पनि चल्नसक्छ ।

त्यसकारण हामीले तयारी दुवैतिर गर्नुपर्छ । एकताका लागि पनि हामी अनौपचारिक वार्ता पनि गर्ने र आवश्यक भए औपचारिक पनि गर्ने । यो काम हामीले गर्दै पनि आएका छौं र पछि पनि गर्नेछौं । तर, यसको तात्पर्य बैकल्पिक पार्टी निर्माण गर्ने कुराबाट पछि हट्ने भन्ने होइन बरु आन्तरिक रुपमा तयार भएर बस्नुपर्छ । त्यसका लागि विचार, दृष्टिकोणका लागि तयार भएर बस्नुपर्छ जतिबेला परिस्थिति परिपक्व हुन्छ, अर्थात नगरी नहुने अवस्था देख्छौं । त्योबेला तत्कालीन परिस्थितिको ठोस विश्लेषण गरेर त्यो अवस्थामा नयाँ पार्टी औपचारिक रुपमा खोल्ने अबस्थामा पुग्छौं । तर, पनि त्यो बाटोमा जानु नपरोस् भन्ने हाम्रो सोच हो ।

सर्वोच्चको फैसला आउन बाँकी नै छ । सर्वोच्चको फैसलाले संसद पुर्नस्थापना गरिदियो भनेपनि तपाइँहरु त अप्ठ्यारोमै पर्ने देखिनुहुन्छ नि ? किनभने गठबन्धन त देउवासँग छ, यस्तो अवस्थामा संसद पुनर्स्थापना भयो भने गठबन्धन कसरी अघि बढ्ला ?

भविष्यमा के हुन्छ, त्यो अहिले नै भविष्यवाणी गर्न उचित नहोला । सर्वोच्चले जेसुकै फैसला गर्ला त्यो उसको कुरा हो । यद्यपि त्यो संविधानअनुसार नै होला । त्यसबेलासम्म एकता प्रक्रिया कहाँ पुग्छ । विश्वसनियताको कुरा कहाँ पुग्छ, त्यो एउटा पक्ष हुन्छ भने सर्वोच्चको निर्णय के हुन्छ भन्ने कुराले हामीलाई निष्कर्षमा पुग्न मद्दत पुग्नेछ ।

जस्तोसुकै कठिन अवस्था देखापरे पनि हामीले दुईमध्ये एक विकल्प रोज्नुपर्ने हुन्छ त्यो हामी गर्छौं । अप्ठेरो पर्यो भन्दैमा रोकिनुपर्ने अवस्था छैन ।

केपी ओलीका लगातारका कदम, जस्तो कि दोस्रो पटक संसद विघटन, नागरिकता अध्यादेश र जसपालाई सरकारमा समावेश यी घट्नाक्रमलाई कसरी लिने एकता प्रक्रियासँग जोडेर हेर्दा ?

यी घट्नाक्रमहरु हेर्दा ओलीजी निरन्तर प्रतिगमनकै दिशामा उन्मुख हुनुहुन्छ । संसद विघटन मात्रै होइन कि त्यसपछि एकपछि अर्को गर्दै उहाँ प्रतिगमनकै यात्रालाई निरन्तरता दिइरहनुभएको छ । त्यो राष्ट्र, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनका लागि घातक छ । त्यसकारण हामी यी तीनवटै चिज जोगाउन र बचाउन चाहान्छौँ ।

पहिला मुलुक र राष्ट्रियता त्यसपछि संविधान र लोकतन्त्र जोगाउँदै त्यसपछि कम्युनिस्ट आन्दोलन जोगाउन चाहान्छौँ । हाम्रा गतिविधि, क्रियाकलाप, निर्णय र कामहरु राष्ट्र, देश, जनता र कम्युनिस्ट आन्दोलनसँगै लोकतान्त्रिक परिपाटीसँग प्रत्यक्ष सरोकार राख्ने विषय हुन् । सोही अनुसार हामी अघि बढ्छौँ ।

तपाईहरुले त्यसो भन्दै गर्दा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीको मन्त्रिपरिषदका एक उपप्रधानमन्त्रीले बहुराज्यको कुरा गर्दै हुनुहुन्छ नि ?

उहाँको त्यो अभिव्यक्तिको आम रुपमा विरोध भैसक्यो । सायद आम विरोध भएकैले फिर्ता पनि भैसक्यो । हाम्रो स्थायी समिति, पाँच दलीय गठबन्धनले पनि विरोध गरिसकेको छ । अरु जनवर्गीय संगठन, नागरिक समाज,पत्रकार सवै आम जनताको तहबाट यसको विरोध भएको छ । उहाँको अभिव्यक्ति मात्रै होइन, ढुंगा गिटी बालुवाको कुरा नै किन नहोस् जनताको तहबाट त्यसको विरोध भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप