शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रशिक्षक बालगोपाल महर्जनको नजरमा जोर्डनविरुद्ध कहाँ चुक्यो नेपाल ?

मङ्गलबार, २५ जेठ २०७८, १७ : ०१
मङ्गलबार, २५ जेठ २०७८

जोर्डनसँग ३–० ले पराजित भएपछि विश्वकप छनोटको आगामी चरणमा पुग्ने नेपालको संभावना समाप्त भएको छ । तर, एशिया कपको आगामी चरण पुग्ने सम्भावना जीवितै छ । यस्तो अवस्थामा नेपाली राष्ट्रिय टिमसामु के–कस्ता चुनौती छन् ? यही विषयमा पूर्व खेलाडी तथा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक बालगोपाल महर्जनसँग रातोपाटीले कुराकानी गरेको छ । खेलाडी छँदा सन् १९९३ मा दक्षिण एशियाली खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण जितेका महर्जनले प्रशिक्षकका रुपमा नेपाललाई बंगबन्धु गोल्डकप र थ्री नेसन्स कप जिताए । काठमाडौंमै आयोजित २०१९ को दक्षिण एशियाली खेलकुद प्रतियोगितामा फुटबलतर्फ स्वर्ण जित्ने नेपाली यु–२३ टोलीलाई पनि उनैले प्रशिक्षण दिएका थिए । प्रस्तुत छ, महर्जनसँगको कुराकानीको सम्पादित अंश :

नेपाली टोलीको अहिलेको प्रदर्शनलाई कसरी लिनु भएको छ ?

नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नयाँ सेटअप तयार गर्नु भएको छ । युवाहरुले भरिएको जोशिलो टिम छ । उनीहरुले ईराकसँगको मैत्रिपूर्ण खेलमा निकै राम्रो खेले । गोल गर्ने, खेल्ने शैली आक्रामक र खेलाडीहरुमा आत्मविश्वास देखिएको छ । चाइनिज ताइपेईविरुद्ध पनि मिडिल थर्डमा बल पोसेसन राखेर एट्याकिङ थर्डबाट गोलहरु भयो । यो राम्रो पक्ष भयो ।

कोही घाइते भइहाल्यो भने उसको विकल्पमा त्यस्तै खेलाडी तत्कालै पठाउन सकियोस् भनेर मैले जहिले पनि हरेक पोजिसनमा दुईवटा खेलाडी राखेकै हुन्छु । यो कुराको कमी मैले हिजोको खेलमा देखेँ ।

तर कता–कता जोर्डनविरुद्धको म्याचमा खेलाडीहरु आफ्नो पोजिसनमा एडजस्ट भएजस्तो देखिएन । र, सेट पिसेजमा हामीले गोलहरु खान पुग्यौं । एट्याकिङ थर्डमा, बिल्ड–अप प्लेमा, हामी अलिकति चुकेजस्तो लाग्छ । समग्रमा प्रयास ठीकै थियो । मौसम तथा  विपक्षी खेलाडीहरुको स्ट्रेन्थ र पावरले पनि नेपाली खेलाडीलाई कठिन पा¥यो । लेफ्ट डिफेन्स, राइट डिफेन्स र मिडफिल्डमा खेलाडीहरु राम्ररी एडजस्ट नभएको हो कि जस्तो मलाई लाग्छ । त्यस्तै अघिल्ला दुई म्याचको दाँजोमा आत्मविश्वासको हल्का कमी र आलस्य पन पनि देखियो ।  यसबारे प्रशिक्षकले मूल्याङ्कन गर्नुहुन्छ होला । अर्को कुरा, ४१÷४२ डिग्री सेल्सियसको तापक्रममा प्रतिस्पर्धा  गर्न गाह्रो हुन्छ ।

तपाईंले पहिले आफैले छनोट गर्ने टिम र यो टिममा के फरक छ ?

कोही घाइते भइहाल्यो भने उसको विकल्पमा त्यस्तै खेलाडी तत्कालै पठाउन सकियोस् भनेर मैले जहिले पनि हरेक पोजिसनमा दुईवटा खेलाडी राखेकै हुन्छु । यो कुराको कमी मैले हिजोको खेलमा देखेँ ।

हिजोको खेलमा राईट डिफेन्स, लेफ्ट डिफेन्स, लेफ्ट मिडफिल्डमा यस्तो कमी प्रस्टै देखियो जस्तो लाग्छ ।  मैले सुनेंअनुसार प्रशिक्षकले नियमित लेफ्ट डिफेन्सको ठाउँमा अरु नयाँ दुई खेलाडी राखेँ भन्नु भएको थियो । तर, जसलाई खेलाइयो, त्यसले बलसँग एडजस्ट गर्न नसकेको अवस्था, आत्मविश्वास नदेखाएको र बलको डेलिभरी दिन नसकेको देखियो । त्यहीकारण हामी यसमा अलिकति चुकेजस्तो मलाई लाग्यो ।

विश्वकप छनोट हुने सम्भावना बाँकी रहेन ? एशिया कप छनोटको यात्रा कत्तिको चुनौतीपूर्ण छ ?

एशिया कप छनोटको सम्भावना बाँकी नै छ । तर, उत्तर कोरियाले प्रतियोगिता नखेल्ने निर्णय गर्दाको असर एशिया कप छनोटमा पर्ने देखिन्छ । नेपाल यसको मारमा पर्नसक्छ । सामान्य अवस्था हुन्थ्यो भने चौथो स्थानको उत्कृष्ट टोली बनेर नेपाल सोझै तेस्रो चरणमा पुग्ने बलियो सम्भावना थियो ।

तर उत्तरले प्रतियोगिताबाट हात झिकिसकेको अवस्था छ र अब, आठवटै समूहको चौथो स्थानमा रहेका टोलीहरुमध्ये उत्कृष्ट चार टोलीको छनोट गर्दा समूहको पुछारमा रहेको टोलीविरुद्ध हासिल गरेको नतिजालाई आधार मानिनेछैन । नेपालले अहिलेसम्म हासिल गरेका दुईवटै जित चाइनिज ताईपेईविरुद्ध हो र अहिलेसम्मको अवस्थामा यो टोली समूहको पुछारमा छ । यो अवस्थामा नेपालले तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने हुन्छ । त्यहाँ पनि उत्कृष्ट टोलीहरुविरुद्ध प्रतिस्पर्धा गर्नुपर्ने भएकाले असम्भव नभएपनि यो यात्रा कठिन अवश्य छ ।

नेपाललाई छनोट खेलको अनुभव कत्तिको फलदायी हुन्छ होला ?

प्रतियोगितामा नेपालले राम्रा टोलीहरूसँग प्रतिस्पर्धा गर्न पाएको छ । यसले खेलाडीहरुको अनुभव र मनोबल बढाउँछ । नेपालले घरमै खेल्न पाएको भए सायद नतिजा पनि राम्रो आउने थियो होला । तर घरेलु मैदानमा खेलिनुपर्ने खेलहरु पनि नेपालले बाहिर खेलिरहेको छ । तर, महामारीका कारण यसलाई पनि स्वभाविक नै लिनुपर्छ ।

चाहे त्यो विदेशी होस् वा स्वदेशी, राम्रो प्रशिक्षकलाई दीर्घकालसम्मका लागि नियुक्त गर्नुपर्छ । अनि, बल्ल नतिजा राम्रो आउनसक्छ भन्ने मलाई लाग्छ ।

हाम्रो मुख्य लक्ष्य पनि सेप्टेम्बरमा हुने भनिएको ‘साफ च्याम्पियनसिप’ हो । सेप्टेम्बरमा हुने भनिएपनि महामारीका कारण प्रतियोगितामा सर्नसक्ने पनि देखिएको छ । तर, यदी निर्धारित समयमै प्रतियोगिता आयोजना भयो भने अहिलेको अनुभवको फाइदा नेपालले त्यस प्रतियोगतामा उठाउनसक्छ । नेपालमात्रै नभएर भारत, माल्दिभ्सलगायत अन्य देशले पनि अहिलेको अनुभवबाट फाइदा लिनेछन् र साफ च्याम्पियनसिपमा खेलको स्तर पनि राम्रो देखिनेछ भन्ने मलाई लाग्छ । 

पूर्व प्रशिक्षकका नाताले नेपालको टिम कसरी अघि बढोस् भन्ने लाग्छ ?

महामारीले देश नै प्रभावित भइरहेका बेला फुटबल क्षेत्रले राम्रो नतिजा दिन सकोस् भन्ने सदिच्छा छ । चाहे पूरुष फुटबल होस्, महिला वा युथ फुटबल होस् । ती सबै क्षेत्रमा नेपाली टिमले राम्रो गर्नका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक छ ।

विगत स्वदेशी प्रशिक्षकहरुको नेतृत्वमा पनि नेपालले राम्रै खेलेको थियो । तर, अहिले विदेशी प्रशिक्षकले टिम हेरिरहनु भएको छ । नेपालका हकमा कुन प्रशिक्षक उपयुक्त हुन्छन् भन्ने लाग्छ ?

जो राम्रो छ, त्यसैले मौका पाउनुपर्छ भन्ने हो । चाहे त्यो विदेशी होस् वा स्वदेशी, राम्रो प्रशिक्षकलाई दीर्घकालसम्मका लागि नियुक्त गर्नुपर्छ । अनि, बल्ल नतिजा राम्रो आउनसक्छ भन्ने मलाई लाग्छ । अहिलेको अवस्थामा एएफसीले नै राष्ट्रिय टिमको प्रशिक्षक बन्नका लागि अनिवार्य रुपमा ‘प्रो लाइसेन्स’ हुनुपर्ने प्रावधान राखेको छ । नेपाली प्रशिक्षकहरुसँग प्रो लाइसेन्स नभएकाले अहिलेको अवस्थामा विदेशीको विकल्प नेपाली हुनसक्दैनन् । तर, यो एउटा ठूलो चुनौती पनि हो । नेपालका प्रशिक्षकहरुलाई अपडेट गर्न र शैक्षिक रुपमा सक्षम बनाउन लागि एन्फाले ध्यान दिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अन्वेषण अधिकारी
अन्वेषण अधिकारी
लेखकबाट थप