बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

धेरै भ्युज पाउने यस्ता छन् ५ नेपाली गीत

बुधबार, २६ जेठ २०७८, १३ : १२
बुधबार, २६ जेठ २०७८

काठमाडौँ । अचेल युट्युब गीतसङ्गीतका लागि राम्रो आम्दानीको स्रोत बनेको छ । युट्युबको माध्यमबाट महिनामै लाखौँ कमाउने थुप्रै गायक गायिका पनि छन् । आम्दानीको अलवा युट्युब पछिल्लो समय गीतसङ्गीतको सफलता मापनको प्लेटफर्मसमेत भएको छ । यसमा सिर्जनाले पाएको भ्युजको आधारमा त्यो सफल वा असफल भन्ने गरिन्छ । भ्युजका आधारमा गीतलाई सफल मानेर केक काटेर सेलिब्रेसन गर्ने परम्परासमेत चलिसकेको छ । युट्युबबाट सार्वजनिक नेपाली गीतहरूमध्ये सबैभन्दा बढी भ्युज पाउने ५ वटा गीतको यहाँ चर्चा गर्न खोजिएको छ ।

‘कुटुमा कुटु’ :
फिल्म ‘२ रुपैयाँ’मा भित्र रहेको यो नेपाली गीतमध्ये युट्युबमा सर्वाधिक हेरिएको छ । समाचार तयार गर्दासम्म गीतले १५ करोड ५ लाखभन्दा बढी भ्युज पाएको छ । सबैतिर लोकप्रिय यो गीतमा राजनराज शिवाकोटीले सङ्गीत दिएका छन् ।

सिवाकोटीको शब्द तथा स्वरसमेत रहेको यस गीतमा उनलाई  मेलिना राई र राजन इशानले स्वरमा साथ दिएका छन् । गीतमा स्वस्तिमा खड्का, आसिफ शाह, निश्चल बस्नेत र बुद्धि तामाङको अभिनय देख्न सकिन्छ । २८ मे २०१७ मा गीत युट्युबमा अपलोड भएको हो ।

‘माया लुकी लुकी’ :
गायिका टीका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले अहिलेसम्म युट्युबमा १० करोड ६४ लाखभन्दा बढी भ्युज पाएको छ । यो गीत भ्युजका आधारमा युट्युबमा बढी हेरिएको नेपाली गीतको सूचीमा दोस्रो स्थानमा छ । २०१८ जुन ७ मा सार्वजनिक भएको गीतमा आनन्द अधिकारीको शब्द तथा आशिष अविरको सङ्गीत छ । गीतमा एरेन्जसमेत अविरलकै रहेको छ ।

काटुर्न क्रुजमाथि फिचरिङ गरिएको गीतको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंको छायाङ्कन, प्रवीन श्रेष्ठको सम्पादन र सरोज अधिकारीको निर्देशन रहेको छ ।
 

‘पिरिम नलाउने’ :
आशिष सचिन र मेलिना राईको स्वरमा रहेको यो गीतले अहिलेसम्म युट्युबमा ७ करोड ८५ लाखभन्दा बढी भ्युज पाएको छ । दीपक शर्माको शब्द तथा सङ्गीत रहेको गीत ९ अक्टुबर २०१८ मा सार्वजनिक भएको हो ।

गीतको भिडियोमा गायक आशिष सचिन र वर्षा राउतको अभिनय देख्न सकिन्छ । सुव्रतराज आचार्यको निर्देशन रहेको भिडियोमा प्रेमिकाको गुनासो समेटिएको छ । उत्सव दाहालको छायाङ्कन, नवीन निरौलाको सम्पादन रहेको भिडियोमा गम्भीर विष्टको नृत्य छ ।
 

‘साली मन पर्यो’ :
हेमराज बीसीको निर्देशन रहेको फिल्म ‘घामण्डी शेरे’मा समावेश लोक शैलीको यो गीत पनि युट्युबमा धेरै हेरिएकामा पर्छ । अहिलेसम्म ७ करोड ४३ लाख बढी भ्युज पाएको गीत १ अक्टुबर २०१९ मा सार्वजनिक भएको हो ।
निश्चल बस्नेत र स्वस्तिमा खड्कामाथि फिचरिङ गीतमा कालीप्रसाद बाँस्कोटाको शब्द, सङ्गीत तथा स्वर रहेको छ । गीत गायनमा बाँस्कोटालाई गायिका अस्मिता अधिकारीले साथ दिएकी छन् ।

‘सालको पातको टपरी’ :
लोकदोहोरी गीत ‘सालको पातको टपरी’ अहिलेसम्म युट्युबमा बढी हेरिएको गीतमध्येको पाँचौँ स्थानमा परेको छ । गीतले अहिलेसम्म ७ करोडभन्दा बढी भ्युज पाएको छ । कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको स्वर रहेको गीतमा नवराज पन्तको शब्द र वसन्त थापाको सङ्गीत छ ।

गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेल, गायक विश्वकर्मा र सङ्गीतकार थापाको अभिनय छ । शिव विकले गीतको भिडियो निर्देशन गरेका हुन् । १७ सेप्टेम्बर २०१८ मा सार्वजनिक भएको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप