शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीको नवौँ वर्षमा यात्रा आरम्भ

बिहीबार, २७ जेठ २०७८, ०६ : ३२
बिहीबार, २७ जेठ २०७८

सबैको र सबैभन्दा राम्रो समाचार पोर्टल रातोपाटी डटकम आजदेखि आठ बर्षको यात्रा पूरा गरेर नवौँ बर्षमा प्रवेश भएको खबर सुनाउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं । यस अवसरमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्दछौं ।

आजभन्दा आठ वर्षअगाडि जेठ २७ गतेकै दिनबाट सुरु भएको रातोपाटी डटकम यहाँको असीम माया र सद्भावकै कारण अनवरत रुपमा यहाँसम्म आइपुग्न सम्भव भएको हो । आठ बर्षको यो अवधिमा रातोपाटी डटकम विश्वभर रहेका नेपालीमाझ प्यारो एवं भरपर्दो सञ्चार माध्यम बन्न सफल भएको छ । रातोपाटी डटकमको लोकप्रियता र प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पु¥याउन सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ ।

डिस्कवरी न्युज नेटवर्कद्वारा सञ्चालित रातोपाटी डटकमले डिजिटल अक्षर, स्वर, तस्बिर र श्रव्यदृश्यका माध्यमबाट वर्तमानको अभिलेख राख्दै आएको छ । रातोपाटी डटकमको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करण प्रकाशित हुँदै आएको छ । साथै पहिलो अनलाइन टीभीका रुपमा ‘रातोपाटी अनलाइन टीभी’मार्फत् पनि समाचार सामग्री प्रस्तुत हुँदै आएका छन् । विश्वभरिबाट सिधै लगइन गरेर वा ट्वीटर, फेसबुक, युट्युवलगायतका सामाजिक सञ्जालबाट समेत  लाखौं पाठकहरु हामीसँग जोडिनुभएको छ ।

रातोपाटी डटकममा छिनछिनका ताजा समाचार, खोजमूलक रिपोर्टहरुका अतिरिक्त शिक्षा, विज्ञानप्रविधि, साँस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकूद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरु अनि सामयिक विचार र अन्तरसंवाद हामीले पाठकसमक्ष पस्कँदै आएका छौं । विश्वभर छरिएका नेपाली ‘डायोस्परा’का हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि हाम्रो प्राथमिकतामा पर्दै आएका छन् । संघीय स्वरुपको पहिलो समाचार पोर्टलका रुपमा रातोपाटी डटकममा सातै प्रदेशका हालखबर प्राथमिकतासाथ प्रकाशित हुँदै आएका छन् ।

यो आठ वर्षको अवधिमा हामीले केही प्रदेशमा क्षेत्रीय कार्यालय स्थापना गर्न सफल भएका छौं । अहिलेसम्म कुपण्डोलस्थित भाडाको भवनमा कार्यालय रहँदै आएकोमा हाल पुल्चोकमा रातोपाटी डटकमको आफ्नै केन्द्रीय कार्यालय भवन बनिरहेको छ । कोरोना महामारीका कारण केही ढिलाइ भए पनि नयाँ आर्थिक वर्षदेखि हामी आफ्नै भवनमा सर्दैछौँ । सातै प्रदेश र विभिन्न शहरमा क्षेत्रीय कार्यालयहरु निर्माण गर्दै जाने हाम्रो लक्ष छ ।

सबैलाई थाहा भएकै विषय हो, कोभिड–१९ को महामारीका कारण सबै क्षेत्रका उद्योग व्यवसायहरु धराशयी बनेको अवस्था छ । यसको असर मिडिया उद्योगहरुमा पनि स्वाभाविकरुपमा परेकै छ । कयौं पत्रिकाहरु बन्द भएका छन् भने पत्रकारहरू बेरोजगार बन्नुपर्ने अवस्था छ । तथापि हामीले कोरोनाको पहिलो लहरलाई सहजै जित्यौं । यो दोस्रो लहरको पनि हामी यसैगरी सामना गर्न र आम पाठकहरुको सेवामा अहोरात्र योगदान गर्न सक्षम छौं भन्ने सबैमा विश्वास दिलाउन चाहन्छौं ।

आठ वर्षको यात्रामा हामीले रातोपाटीलाई जुन ठाउँमा ल्याएका छौं, हामी यत्तिमै सन्तुष्ट छैनौं । समाचार सामग्रीहरुको विविधता एवं थप व्यवसायिक र स्तरीय बनाउँदै जाने हाम्रो लक्ष रहेको छ । यसका लागि हामीले उम्दा पत्रकारहरुको टिम निर्माण र उनीहरुको वृत्ति विकासमा विशेष जोड दिने नीतिलाई आगामी दिनमा निरन्तरता दिँदै जाने प्रतिवद्धता जनाउन चाहन्छौं । यसका लागि संस्थामा आवद्ध पत्रकार/कर्मचारीहरुको आन्तरिक क्षमता अभिवृद्धिमा जोड दिने हाम्रो नीति रहेको छ ।

रातोपाटी डटकम व्यवसायिक र सन्तुलित पत्रकारितामा विश्वास राख्छ । हाम्रो नारा नै छ– सबैको र सबैभन्दा राम्रो । हामीले राष्ट्रिय राजनीतिका साथसाथै सामाजिक एवं आर्थिक मुद्दाहरुमा विशेष ध्यान केन्द्रित गर्दै आएका छौं । राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । मुलुकको सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवर्ध्दनप्रति हामी समर्पित छौं । नेपाली जनताको दशकौंदेखिको संघर्ष र त्याग तथा नेपाल आमाका हजारौं सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र पाएका हौँ । यो युगीन परिवर्तनको रक्षा र आम नेपालीको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिवध्द छौं ।

पत्रकारिताको प्रमुख हतियार हो प्रश्न । हामी प्रश्न गर्छौं र जुनसुकै घटना र विषयमा के, कहाँ, कहिले, किन, कसरी र कस्तोको सांगोपांगो जवाफ खोज्छौँ । पत्रकारिताको सर्वमान्य चरित्र अर्थात् तथ्यपूर्ण, सन्तुलित र विश्वसनीयताको कसीमा हामी उत्तीर्ण हुँदै जाने छौं भन्ने हामीलाई विश्वास छ ।

हुन त पत्रकारहरू बेथिति, भ्रष्टाचार एवं बिग्रेका र भत्केका समाचार मात्र लेख्छन्, भन्ने आरोप लाग्ने गरेको छ । तर, हामी त्यसो गर्दैनौं । हामी नराम्रोलाई राम्रो र राम्रोलाई नराम्रो भन्दैनौँ । पेशाप्रतिको व्यवसायिक निष्ठामा हामी प्रतिवद्ध रहँदै आएका छौं । जनताको अभिभावकका रुपमा रहेको सरकार र राज्यका निकायहरुप्रति खबरदारी गर्नु र प्रश्न उठाउनु पत्रकारिताको पेशागत धर्म नै हो । र, यो नै रातोपाटी डटकमको आफ्नो पहिचान पनि हो ।

हाम्रो मुख्य दायित्व आवाजहीन आम नागरिकको हक–अधिकारको रक्षा गर्नु र सार्वजनिक ओहोदाधारी वडा सदस्यदेखि मुख्य मन्त्री, प्रधानमन्त्री एवम् राष्ट्रपतिसम्मलाई आफ्नो कर्तव्यप्रति सजग, सक्रिय र जिम्मेवार तुल्याउनु हो । नागरिकले तिरेको करबाट पालिएका जङ्गी हुन् कि निजामती कर्मचारी, आ–आफ्नो कर्तव्य र जिम्मेवारीमा इमान र लगनका साथ क्रियाशील हुन नचुकुन् भनेर हामी खबरदारी गर्छौँ ।

आगामी दिनमा रातोपाटीलाई अझै लोकप्रिय, परिस्कृत, भरपर्दो एवं विश्वसनीय मूलप्रवाहको अनलाइन सञ्चार माध्यमका रुपमा विकसित गर्ने हाम्रो अभियानमा सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता एवं शुभेच्छुकहरुको निरन्तर सहयोग र पृष्ठपोषणको अपेक्षा गर्दछौं ।

विजया शर्मा

अध्यक्ष,
डिस्कवरी न्युज नेटवर्क प्रालि

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप