शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकारलाई नेपाल नागरिक अभियानको व्यङ्ग्य– बलात्कारीलाई पनि नियुक्त गर्ने कि !

शुक्रबार, २८ जेठ २०७८, १६ : ५५
शुक्रबार, २८ जेठ २०७८

नेपाल नागरिक अभियानले मन्त्रिपरिषद विस्तारका नाममा पछिल्लो समय सामेल गरिएका कतिपय व्यक्ति आपराधिक गतिविधिमा संलग्न रहेको भन्दै असन्तुष्टि जनाएको छ । अभियानका तर्फबाट जारी विज्ञप्तिमा जथाभावी मन्त्रिपरिषद विस्तार गरिएकोमा सरकारलाई व्यङ्ग्य गर्दै ‘अब बलात्कारीलाई पनि नियुक्त गर्ने कि !’ भनेर प्रश्न गरिएको छ ।

जनता रोग, भोग र शोकबाट पीडित रहेको समयमा सरकारले प्रत्येक हप्ता मन्त्रिपरिषद पुनर्गठनका नाममा अपराधीहरूका समूहलाई संगठित गर्दै नेपाली जनतालाई कस्तो सुशासन र समृद्धि दिन खोजेको भनेर नेपालीहरुले प्रश्न गरिरहेको अभियानले विज्ञप्तिमा उल्लेख गरेको छ ।

‘सरकारको नाममा देखिएका झुण्डहरूको नाममा विदेशी नागरिकताको आरोप लागेका, राष्ट्र विखण्डनको मुद्दा बोकेका, कुटनीतिक अपराधमा संलग्न, लागूऔषधका गुण्डा नाइके, मातृभूमिको माटो तथा राष्ट्रिय प्राकृतिक साधन, स्रोत र सम्भावनाहरूका सौदागर पनि पनि सरकार मै छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘अब, दुईचार जना बलात्कारीहरू पनि नियुक्ति गर्ने कि सरकार ?’

देशमा कोरोना महामारीले देश र जनता आक्रान्त रहेको समयमा ‘रोम जल्दा निरो बाँसुरी धुनमा रमे झैँ’ सरकार रम्ने गरेको पनि अभियानका संयोजक ठाकुरमोहन श्रेष्ठ र महासचिव हरिहर प्रदीप घिमिरेको हस्ताक्षरसहित जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप