केन्द्रीय संस्करण

वित्तीय सेवामा अपाङ्गहरुको सहज पहुँचमा जोड

person explore access_timeजेठ २८, २०७८ chat_bubble_outline0

वित्तीय सेवालाई अपांगता मैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्था हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । शुक्रबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को आयोजनामा भएको अपाङ्गता मैत्री वित्तीय सेवा विषयक अन्तरक्रिया कार्यक्रमका वक्ताहरूले यस्तो धारणा राखेका हुन् । 

नेपालको संविधानले नै सबै नेपाली नागरिकलाई समान सेवा सुविधाको व्यवस्था गरेको भए पनि नेत्र विहीनहरुले बैंक तथा वित्तीय संस्थासँगै सेयर कारोबारका लागि समान सेवा सुविधा नपाएको गुनासो गरेका छन् ।  नेपाल नेत्रहित संघका उपाध्यक्ष खेमराज शर्माले बैंकको ढोका देखिनै आफूहरुले नेपाली नै नभएको जस्तो व्यवहार भोग्दै आएको बताए । उनले वित्तीय क्षेत्र प्रविधिमैत्री भएको अवस्थामा दृष्टिविहीनहरुले प्रविधिको प्रयोगका लागि पनि अन्य सामान्य व्यक्ति सरह सुविधा पाउनबाट बञ्चित भएको गुनासो गरे । सो अवसरमा उनले कतिपय साथीहरुले सो सुविधा पाएपनि धेरै पहल गर्नुपरेको उनको भनाई छ । 

नीतिगत अस्पष्टता, विभेद युक्त नीति र कानुन र नीतिको आ–आफ्नै व्याख्याका कारण वित्तीय सुविधा प्रयोगमा समस्या भैरहेको गुनासो शर्माको छ । अन्य साधारण व्यक्ति सरह वित्तीय क्षेत्रमा विकास गरिएका प्रविधिलाई सहजै प्रयोग गर्न सक्ने क्षमता आफुहरुमा पनि रहेको र कतिपयले प्रयोग गर्दै आएकाले यो सेवा लिन सहज वातावरण हुनुपर्ने माग उनको छ । 

बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने देखि अन्य सेवा लिनका लागि अन्य व्यक्ति सरह सहज वातावरण नहुँदा समस्यामा पर्ने गरेको भन्दै उनले सहज वातावरणको माग समेत गरेका छन् । सो अवसरमा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले अहिलेको नीतिगत व्यवस्थाले वित्तीय क्षेत्रमा भएका सबै सेवा सुविधामा नेपालीहरुको समान हक स्थापित गरेको बताए । अपाङ्ग भएकै आधारमा नीतिगत कारण देखाई सेवाबाट बञ्चित गराउनु कारवाहीको विषय भएको उनको भनाई छ । 

यसर्थ वित्तीय सेवा प्रवाह गर्ने कुनै पनि निकायले कमजोर सावित गरी नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट बन्चित नगराउन उनले आग्रह गरेका छन् । यता, अपाङ्ग मैत्री सेवामा पूर्णता नभएको कुरालाई स्वीकार्दै आगामी दिनमा आवश्यक नीतिगत व्यवस्थासहित अघि बढ्नुपर्ने विचार बैंकर्स संघका अध्यक्ष भुवन दाहालको रहेको छ । यसका लागि कार्यदल नै बनाएर समय तालिकासहित आवश्यक काम गर्नुपर्ने धारणा उनले राखे । 

अहिलेको प्रविधिको प्रयोगमा आफुहरु भन्दा पनि अपाङ्गता भएका व्यक्तिहरु अझ अघि रहेको भन्दै यो सेवामा उनीहरुको पनि सहभागिता बढाउनुपर्नेमा उनले जोड दिएका छन् ।  यस्तै, कार्यक्रममा डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष पद्युमन पोखरेलले ग्राहकलाई सेवा दिने क्रममा धेरै कुराहरु सुधार गर्दै जानुपर्ने कुरालाई औंल्याए । 

यसमा पनि अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिने क्रममा नियामकको नीतिगत व्यवस्थासँगै आफ्नै आन्तरिक नीतिगत व्यवस्थालाई पनि कसरी सुधार गर्न सकिन्छ भन्नेमा ध्यानपूर्वक काम गर्नुपर्ने र सो सुधारमा आफुहरु प्रतिवद्ध रहेको उनले व्यक्त गरे ।  सो अवसरमा सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्दै आएका धितोपत्र दलाल व्यवसायीहरुले पनि अस्पष्ट नीतिका कारण अपाङ्गता भएका व्यक्तिहरुलाई चाहेर पनि ढुक्कसँग सुविधा प्रदान गर्न नसकिएको स्वीकारेका छन् । यस प्रकारका व्यक्तिहरुलाई अझ विशेष प्रकारको सेवा दिनुपर्नेमा सम्झौताका कतिपय नीतिगत अस्पष्टता कारण सबैलाई ढुक्क भएर सेवा दिन नसकिएको उनीहरुको भनाई छ । 

मर्चेन्ट बैंकर एसोसिएसनका अध्यक्ष मेखबहादुर थापाले पनि आफुहरुले दिने सेवा प्रवाहलाई अपाङ्गता मैत्री बनाउनेतर्फ आन्तरिक रुपमै छलफलमा जुट्ने र थप छलफलका लागि आगामी दिनमा छुट्टै कार्यक्रमको समेत आयोजना गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सेयर बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले अपाङ्गता भएका व्यक्तिका लागि प्रविधिमा सहज बनाउन नीतिगत व्यवस्था अनुसारको सिस्टम विकासमा जोड दिए । अहिले पनि अपाङ्गता भएका व्यक्तिहरुले प्रविधिको प्रयोगमै सेयर कारोबार गरिरहेको अवस्थामा समस्या र समाधानका विषयहरु प्रष्ट पारिदिए र त्यसपछि नीतिगत व्यवस्था भए सिस्टम विकासमा कुनै समस्या नहुने नेप्सेमा प्रमुख कार्यकारी अधिकृत साउदको भनाई छ ।

सेयर बजार अपाङ्गता भएका व्यक्तिहरुका लागि उपयुक्त व्यवसायिक क्षेत्र भएको प्रतिक्रिया आईरहदा नियामक निकाय नेपाल धितोपत्र बोर्र्डले पनि आगामी नीति तथा कार्यक्रममा आवश्यक व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । 

पुँजी बजारको कारोबारका लागि सुचना सबैभन्दा महत्वपूर्ण कुरा रहेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बताउँछन् । यसर्थ अपाङ्गता भएका व्यक्तिहरुले तस्विर, डाटाहरूमा भएका सूचनाहरूलाई कसरी पढ्न सक्छन् भन्नेमा पनि ध्यान दिनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् । सेयर कारोबारको राफसापका लागि बैंकिङ क्षेत्र पनि जोडिने भएकाले सबै वित्तीय क्षेत्रमा आवश्यक सुधार गर्नुपर्ने ढुङ्गानाको भनाई छ ।

कार्यक्रममा दृष्यबिहीनहरुले आफुहरुले कसरी वित्तीय सेवा लिँदै आएको प्रविधिको उपयोग कसरी गर्दै आएको प्रस्तुति दिएका थिए । उनीहरुले यसरी सेवा लिने क्रममा आफूले भोग्दै आएको असहजता स्पष्ट पारेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.