शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाको दोस्रो लहरले सिकाएको पाठ

शुक्रबार, २८ जेठ २०७८, १९ : १०
शुक्रबार, २८ जेठ २०७८

म एउटा साधारण इन्जिनियर । आफू र परिवारको जीविकोपार्जनका लागि सानोतिनो काम गर्छु । सामान्य अवस्था रहँदा हामी सबै खुसी थियौँ । तर, कोरोना महामारीको दोस्रो लहरले घरमा बिस्तारै बिस्तारै एकपछि अर्को संघर्षपूर्ण वातावरण बन्दै गयो । सरकारले निर्देशन गरेअनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दागर्दै पनि हामीलाई कहाँबाट र कसरी कोरोना सङ्क्रमण भयो थाहै पाउन सकिएन ।

नेपालमा दोस्रो लहरको लकडाउन सुरु हुनुभन्दा अगाडि मेरो सहोदर दाइ तथा भाउजूमा कोरोना पोजिटिभ देखियो । उहाँहरू १५ दिन होम आइसोलेसन बसेर छिट्टै नै निको हुनुभयो । त्यसपछि पनि हामी सबै होम आइसोलेसनमा बस्यौँ । तर, पनि १२औं दिनपछि ममा कोरोना–१९ पोजिटिभ देखियो । दाजु भाउजू जस्तै होम आइसोलेसनमा बसेर आफैँ निको हुन्छु भन्ने ममा पनि धेरै ठूलो आत्मबल थियो ।

कोरोना सङ्क्रमण हुँदा ममा यस्ता खालका लक्षण देखिए । सुरुमा टाउको दुख्ने, ज्वरो आउने तथा सुख्खा खोकीले सतायो । पक्कै नै यो कोरोनाकै लक्षण हो भन्न लागेर टेस्ट पनि गराएँ । भोलिपल्ट रिपोर्टमा कोरोना पोजेटिभ आयो । सुरुका चार दिन घरमै आइसोलेसनमा बसेँ । त्यतिबेला चाँडै निको हुन्छु भन्ने आत्मबल थियो । मेरो उपचारमा वरिष्ठ डाक्टरहरूले सिटामोल, एलेग्रा तथा खोकीको सिरफ खान दिनुभयो ।

मलाई राम्रै भइरहेको थियो । सिटी भ्यालु १८ देखिएको थियो । ठीक हुँदैछु भनेर खुसी हुँदै थिएँ । मेरो अक्सिजन लेबल पनि ९४ भन्दा बढी थियो । खोकी पनि कम हुँदै थियो । प्रेसर पनि ठीक थियो । अब छिट्टै परिवारसँगै बसेर खानाबस्न पाउँछु भन्ने लागेको थियो ।

सबै थोक ठीक हुँदाहुँदै पनि चौथो दिन बेलुका मलाई खोकीले सताउन थाल्यो । धेरै नै छाती पोल्न थाल्यो । सास लिँदा पीडा हुन थाल्यो । मेरो उपचारमा सम्लग्न चिकित्सकहरूलाई फोन गरेँ । उहाँहरूले मैले सेवन गरेको औषधिको मात्रा बारेमा सोध्नुभयो । त्यसपछि थाहा भयो भयो हाम्रो शारीरिक तौलअनुसार हाम्रो दबाइको खुराक हुनुपर्ने रहेछ । मैले त चौथो दिनसम्म कम दबाइ सेवन गरेको रहेछु । त्यसैले चौथो दिनसम्म औषधिले फिटिक्कै छुँदै छोएन ।

चौथो दिन रातभरि सुत्न सकिनँ । छाती पनि दुखिरह्यो । भोलिपल्ट म नर्भिक अस्पतालमा गई सिटी स्क्यान, एक्सरे र रक्त परीक्षण गरेँ । रिपोर्ट आएपछि थाहा भयो मलाई त निमोनिया भइसकेको रहेछ । त्यसपछि मेरो उपचार भयो र मलाई अस्पतालबाट डिस्र्चाज गरियो । पछि चिकित्सकले औषधिको खुराक, खानपान, दिनचर्या सबै तोकिदिए । अन्ततः १० दिनपछि मलाई ठीक भयो । तर पनि मेरो आवाज पूरै स्पष्ट भएको थिएन । फेरि सबै रक्त परीक्षण र एक्सरे  गराएँ । १४ औँ दिनमा मेरो रिपोर्ट राम्रो आयो र आवाज पहिलेको जस्तै आयो । त्यसपछि डाक्टरको सल्लाहअनुसार आफ्नो परिवारसँग बस्न पाएँ ।

हामी जोकोहीलाई कोरोना लाग्न सक्छ । नआत्तिऊँ । यो रोग धेरै नै संवेदनशील हो । तर आफन्त र परिवार सङ्क्रमितको पीडा देखेर कोरोना पोजेटिभ भएकालाई स्याहार गर्न आफन्त नै पुग्छन् । घरमै आइसोलेसन बसेकालाई आफन्तले नै सावधानीपूर्वक हेरचाह र स्याहार गरेको छन् ।

हाम्रो परिवारलाई कोरोना लागेपछि छर छिमेकीले अर्कै व्यवहार देखाउन थाले । यथार्थमा त्यस्तो मनसाय भएका मानव जाति हाम्रो समाजमा देखियो । हामीले के बिर्सनु हुँदैन भने हो घरमा लागेको रोग भोलि अरूको घरमा पनि लाग्न सक्छ ।

समय धेरै बलवान् छ । भोलि कसलाई के हुन्छ, कसैले देखेको छैन । यस्तो बेलामा कोरोना परिवारलाई आफन्त, छर छिमेकी, कार्यालयका सहकर्मीले सोधे कि सोधेनन् जस्ता कुराले मनमा धेरै असर पार्दो रहेछ । यो सङ्कट हाम्रा स्थानीय सरकारका पदाधिकारी, चिकित्सकहरूले कोरोना पोजेटिभको हेरचाह र स्याहार गरे । कसैलाई केही भएन । सबैले भन्छन् सकरात्मक सोच्नु होला । तर कसैले फोन गर्दा फलानो म¥यो, ढिस्कानो म¥यो भनेर सुनाउने गर्छन् । यस्ता सूचनाले धेरैलाई डर मात्र देखायो ।

नेपाली समाज मर्दापर्दा शत्रुलाई पनि सहयोग गर्ने समाज हो । तर यो महामारीमा आफन्त साथीभाइ नै दुस्मन देख्न थाल्यौँ । तर यो गलत हो । यस्तो महामारीको बेलामा कोरोना लागेका परिवार तथा लागिसकेका सँग कुरा गरौँ । नकारात्मक कुरा नसुनाऔँ, नगरौँ । सङ्क्रमितसँग राम्रा राम्रा कुरा सेयर गरौँ । उसको आत्मबल बढाउने काम गरौँ । कोरोना लागेकालाई नभए उसको परिवारलाई सोधी राखौं  । एक मिनेट गफ गर्दा सङ्क्रमितलाई धेरै ठूलो आत्मबल बढ्दो रहेछ । कोरोना लागेको व्यक्तिका लागि निको हुनु उसको पुनर्जन्म जत्तिकै हो । यस्तो बेलामा उसलाई सोधपुछ गर्ने मान्छे चाहिने रहेछ । कोरोनासँग सङ्घर्ष गर्न अवश्य नै यसले धेरै ठूलो मदत गर्छ ।

अन्त्यमा,

नेपाल सरकारको तथ्याङ्कअनुसार कोरोना महामारी घट्ने क्रममा छ । यस महामारीलाई गम्भीर रूपमा लिऔं । सङ्क्रमित भइसकेपछि पनि नआत्तिऊँ । परिवार तथा आफन्तसँग सहयोग लिऔं । स्वास्थ्य सावधानी अपनाएर कोरोना सङ्क्रमितको ख्याल राखौँ । स्वास्थ्य अवस्थाबारे एकअर्कालाई सोधपुछ गरौँ । नित्य सम्पर्कमा बसौँ । औषधि उचित मात्रा मिलाएर खाने गरौँ । सधैँ डाक्टरको सम्पर्कमा रहौँ । भगवानमा आस्था राखौँ, भजनहरू सुनौँ, योगा गरौँ, रमाइला रमाइला सिनेमा हेरौँ । कसैलाई हेला नगरौँ । यसले सङ्क्रमितको मनोबल बढाउने काम गर्छ । धेरैले कोरोना जितेका छन्, म पनि जित्छु र आफ्नै संसारमा छिट्टै फर्किन्छु भन्ने सोचौँ । यस्ता कुराले शरीरमा सकारात्मक ऊर्जा प्रदान गर्छ ।

(लेखक ऊर्जा इन्जिनियर हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पङ्कजकुमार दास
पङ्कजकुमार दास
लेखकबाट थप