बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

स्वास्थ्यकर्मीमाथिको आक्रमण निन्दनीय

शुक्रबार, २८ जेठ २०७८, १९ : २६
शुक्रबार, २८ जेठ २०७८

हाल कोरोनाभाइरसको प्रकोप पूरा दुनियाँभर फैलिएको छ । सामान्य मानिसको जीवनमा कोभिडको महामारीले निकै असर पारेको छ । आर्थिक समस्या, स्वास्थ्यसम्बन्धी समस्या र अन्य समस्याबाट मानिसहरु गुज्रिरहेको अवस्था छ । यस कारणले गर्दा मानिसहरुको दिनचर्यामा समेत परिवर्तन आएको छ । समस्या नै समस्याको बीचमा स्वास्थ्यकर्मीहरुले काम गरिरहेका छन् ।

आफन्त, साथीभाइ र परिवारभन्दा टाढा रहेर जीवनको बाजी लगाई स्वास्थ्यकर्मीहरुले काम गरिरहेको अवस्था छ । स्वास्थ्यकर्मीहरूले निरन्तर तनावको स्थितिमा काम गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । यसरी तनावको स्थितिमा काम गरिरहँदा समेत स्वास्थ्यकर्मीहरूमाथि निरन्तर आक्रमण हुने क्रम जारी छ ।

  स्वास्थ्यकर्मीलाई भगवानको रुप मान्ने गरिन्छ । कसैको ज्यान बचाउने मानिसलाई भगवान भन्दा पनि सायद फरक नपर्ला । तर, अचेल यस पेशामा संलग्न व्यक्तिहरूमाथि निरन्तर आक्रमण हुने क्रम जारी छ । राजनीतिक शक्तिको आडमा होस् वा रीसको आवेगमा स्वास्थ्यकर्मीहरूमाथि आक्रमण हुने क्रम निरन्तर उकालो लाग्दैछ ।

हालसालै देशका विभिन्न भागमा बिरामीहरू र तिनका नातेदारहरूले  स्वास्थ्यकर्मीहरूलाई कुटपिट गरेका घटना मिडियामा हेडलाइन बनिरहेका छ । यस्ता घटना नेपालमा मात्र नभएर अमेरिका, प्यालेस्टाइन, श्रीलंका, र अन्य धेरै देशहरूमा समेत रेकर्ड गरिएको छ । 

मृत्युको मुखमा पुगेको व्यक्ति होस् वा सामान्य बिरामी भएको व्यक्ति होस्, स्वास्थ्यकर्मीहरुको काम सबैलाई स्वस्थ्य पार्ने नै हो । ती व्यक्तिहरुलाई सामान्य अवस्थामा फर्काउन स्वास्थ्यकर्मीहरुले अथक प्रयास गर्ने गर्छन् । यदि कुनै स्वास्थ्यकर्मीको लापरवाहीले कोही कसैको मृत्यु भइहालेको खण्डमा समेत स्वास्थ्यकर्मीलाई कानूनले कारवाही गर्छ । कानूनको विपरीत गई आफैं सर्वेसर्वा भन्ने भाव राखी स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु हुँदैन ।

थोरै घटनामा मात्रामा स्वास्थ्यकर्मीको लापरवाहीको कारणले ज्यान जाने गर्छ । त्यसका बाबजुद पनि स्वास्थ्यकर्मीका कारणले गर्दा नै ज्यान गएको भन्ने दोषारोपण लगाई स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गर्छ । स्वास्थ्यकर्मीको अथक प्रयासपछि पनि कयौं बिरामीको मृत्यु हुने गर्छ भन्ने कुरालाई विचार नगरी प्रतिशोधको भावनासहित स्वास्थ्यकर्मीमाथि आक्रमण हुने गरेका छन् ।

स्वास्थ्य विज्ञान जर्नल, २०१४ को लेखमा नेपालमा स्वास्थ्यकर्मीहरू विरुद्ध हुने हिंसाले नेपाली डाक्टर र नर्सहरू रोजगारीका लागि देश छोड्नुको मुख्य कारणका रूपमा उल्लेख गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले प्रयोग गरेको अपूर्ण डाटाअनुसार २००७ र २०१२ बीचमा चिकित्सा पेसा गर्नेहरू विरुद्ध हिंसा र उत्पीडनका ६१ घटनाहरू रेकर्ड गरिएको थियो । त्यसमध्ये एकजना अपराधीलाई पनि दण्डित नगरिएको रिपोर्टमा दाबी गरिएको छ । नेपाल चिकित्सक संघले तयार पारेको तथ्यांक अनुसार २०७० देखि २०७७ साल चैतसम्म ३४ घटनामा स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड भएका रहेछन् ।

हालसालै पनि स्वास्थ्यकर्मीहरूलाई हिंसा गरेको थुप्रै समाचारहरु आएका छन् । बिरामीको उपचारका क्रममा मृत्यु भइसके पश्चात बिरामीका आफन्तले आक्रमण गर्ने गरेका हुन् । कैयौं स्वास्थ्यकर्मीहरु आक्रमणबाट घाइते भएका छन् । स्वास्थ्यकर्मीमाथि आक्रमण हुने प्रक्रिया बढ्दो रुपमा रहेको छ ।

नेपाल चिकित्सक संघले चिकित्सकमाथि हुने आक्रमणमा बारम्बार विज्ञप्ति जारी गर्ने गरेको छ । नेपाल चिकित्सक संघले डाक्टर र स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई कडा कारवाहीको माग गरेको छ । आक्रमणको संख्या दिनानुदिन बढिराख्ने र दोषीलाई कारवाही नभएको कुराले स्वास्थ्यकर्मीको सुरक्षाको निमित्त सरकारले उचित ध्यान नपुर्याएको हो कि भन्ने कुराको समेत भान हुने गर्दछ ।

राष्ट्र बन्ने कुरा केवल भौतिक विकासमा आधारित हुँदैन । विकासको निमित्त जनताको सोच र व्यवहारमा समेत परिवर्तन हुन जरूरी छ । स्वास्थ्यकर्मी माथि हुने हिंसाले देशले जति नै विकास गरेपनि जनताको स्थिति उही नै रहेको देखाउँछ ।

स्वास्थ्यकर्मीहरू विरुद्ध हुने हिंसाले स्वास्थ्यकर्मीलाई मात्र नभएर समग्रमा पूरा समाजलाई हानी पु¥याउँछ । स्वास्थ्यकर्मीहरू जोखिममा परेका कारण यसले स्वास्थ्य सेवामा काम गर्नेको मनोबल समेत गिराउँछ । पेशाप्रतिको सम्मान र मनोबल उच्च भएमा मात्र जो कोहीले काम गर्न सक्छन् । यी दुवै कुरामा कमी आएमा कुनै पेशामा आवद्ध व्यक्तिहरुले काम गर्न नसक्ने कुरा स्पष्ट छ । 

स्वास्थ्यकर्मीहरूमाथि पटक–पटक आक्रमण हुने क्रम भने श्रृंखलावद्ध रुपमा बढ्दो छ । स्वास्थ्यकर्मीहरू विरुद्ध हुने हिंसाको विरोधमा दोषीलाई कारवाही गर्न स्वास्थ्यकर्मीहरुले मागसमेत राख्ने गरेका छन् । दोषीलाई कारबाही गर्ने र उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्ने कुरालाई पनि अघि सारेको पाइन्छ । निरन्तर मिहिनेत र लगनशीलताले भइने स्वास्थ्य कर्मी सामान्य पेशाहरु भन्दा महत्वपूर्ण पेशा हो । तर, स्वास्थ्यकर्मीहरू विरुद्ध बढ्दो हिंसाको घटनाले यस पेशामा अरुचि समेत बढ्दै गएको छ ।

स्वास्थ्य सेवाको सुधार निमित्तसमेत स्वास्थ्यकर्मीमाथि हुने आक्रमणलाई रोक्नुपर्छ । सरकार र त्यस अन्तर्गतका निकायले समेत त्यसलाई रोक्न प्रभावकारी कदम चाल्नुपर्छ । यस समयमा सरकारले स्वास्थ्य क्षेत्रमा हिंसा समाधान गर्न अझ प्रभावकारी स्वास्थ्य नीति निर्माण गर्न जरुरी छ ।

हामीले स्वास्थ्यकर्मीहरूका लागि हिंसामुक्त कार्यस्थल बनाउन आवश्यक  छ । अस्पताल र स्वास्थ्य केन्द्रहरुमा हुने आक्रमण रोक्नका लागि नीतिहरूको निर्माण गरिनुपर्छ । यसका साथै पर्याप्त सुरक्षासमेत प्रदान गरिनुपर्छ । आक्रमण गर्ने जोकोहीलाई कानुनी कारवाही गर्नुपर्छ । स्वास्थ्यकर्मीहरू विरुद्ध हुने हिंसाको मामिलामा रोक्न सबै कुराको परिपूर्ति गर्नुपर्छ ।

आफू संलग्न पेशामा सुरक्षा पाउनु व्यक्तिको हकसमेत हो । स्वास्थ्यकर्मीको सुरक्षाको निमित्त नेपाल सरकारले विभिन्न ऐन कानूनको निर्माण गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षाका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ छ । उक्त ऐनमा स्वास्थ्यकर्मी अथवा स्वास्थ्य संस्थामा हातपात, तालाबन्दी तथा तोडफोड जस्ता कार्य गर्न नहुने भनी स्पष्ट रुपमा उल्लेख गरिएको छ ।

यदि त्यस्तो भएको खण्डमा स्वास्थ्यकर्मीले सुरक्षा माग गर्न सक्ने व्यवस्थासमेत गरिएको छ । त्यस्तै गरेर स्वास्थ्यकर्मीको सुरक्षाको लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी नियमावली, २०६९ छ । यस नियमावलीमा समेत स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धमा अन्य आवश्यक काम गर्ने बारे उल्लेख  छ ।

स्वास्थ्यकर्मीको सुरक्षाको निमित्त  कानुनहरूको निर्माण भएता पनि सो कानूनको पालना हुन सकेको छैन । स्वास्थ्यकर्मीका निमित्त आवश्यक कानूनको निर्माण गरेर कायम भएको कानूनको समेत पालना हुनुपर्दछ । स्वास्थ्यकर्मी माथि हुने आक्रमणमा संलग्न व्यक्तिहरुलाई कारवाही नहुनु समेत पीडादायी कुरा हो । हाल कायम रहेका कानून र ऐनको पालना र आवश्यक परिमार्जनका साथ स्वास्थ्य सेवामा खटिएका व्यक्तिहरुको रक्षा गरिनुपर्दछ । यसै सन्दर्भमा सरकारले हालै स्वास्थ्य सुरक्षासम्बन्धी अध्यादेश जारी गरेको छ, त्यसको कार्यान्वयन जरुरी छ ।

हाल स्वास्थ्यकर्मीको सुरक्षाको कुरा गम्भीर विषय भएर उठान भएको छ । हामी आफ्नो परिवारसँग सुरक्षितरुपमा घरमा बसिरहेका हुन्छौं । ज्यानको बाजी लगाई हामीलाई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीहरुको हामीहरुले मनोबल उच्च राख्नुपर्छ । यसमा नेपाल सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।

कोभिड– १९ को महामारीमा सरकारले स्वास्थ्यकर्मीलाई थप हौसला प्रदान गर्नुपर्छ । स्वास्थ्य सेवामा खटिएका व्यक्तिको पारिश्रमिक शुल्कमा समेत वृद्धि गरिनुपर्छ । त्यतिमात्र नभई स्वास्थ्यकर्मीलाई जुनसुकै बेला आक्रमण गर्नेलाई कडा भन्दा कडा कारबाही समेत गरिनुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकृति बानियाँ
प्रकृति बानियाँ
लेखकबाट थप