बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ मा जसपा : सत्ताधारी पनि, ‘प्रतिपक्ष’ पनि !

महन्थ र उपेन्द्र पक्षबीच कस्तो रहला सम्बन्ध ?
शुक्रबार, २८ जेठ २०७८, २१ : ०८
शुक्रबार, २८ जेठ २०७८

जनता समाजवादी पार्टी नेपालले प्रदेश २ का आफ्नो नेतृत्वको सरकारबाट अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर काँग्रेसलाई भित्र्याएपछि जसपा दुई ध्रुवमा विभाजित भएको छ । यसअघि पनि जसपा पूर्व समाजवादी पार्टी र राजपामा विभाजित नै थियो । अहिले विभाजन स्पष्ट रुपमा देखिएको छ ।

केन्द्रमा देखिएको विवादका कारण उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट हटाएर गरेर काँग्रेसलाई भित्र्याई सकेको छ । जसपाकै सरकार भएपनि पार्टीभित्रै एउटा पक्ष सत्ताधारी र अर्को विपक्षी जस्तो बनेका छन् । महन्थ ठाकुर पक्षका सांसद आफ्नै पार्टीको सरकार भएपनि दोष र गुणका आधारमा मात्र सरकारलाई विरोध या समर्थन गर्ने बताउँछन् ।

यता, जसपा (उपेन्द्र यादव) का प्रदेश २ का प्रदेशसभा सदस्य रामआषिश यादवले पार्टी विधि र विधान अनुसार नचलेको कारण आन्तरिक विवाद देखिएको बताउँछन् । अहिले केन्द्रमा जस्तो अवस्था छ त्यही अवस्था प्रदेशमा पनि रहेको बताउँदै उनले अहिले सरकारबाट निकालिएका मन्त्रीहरु पार्टीको निर्णयभन्दा पनि मुख्यमन्त्रीको निर्णयबाट भएको बताए ।

उनले भने, ‘पार्टी विधि र विधानको आधारमा चल्नुपर्छ, जसले पार्टीको विधि र विधान मान्दैन उसलाई कारवाही हुन्छ, चाहे जुनसुकै पक्षको होस् ।’

जसपा (महन्थ ठाकुर) प्रदेश सांसद प्रमेश्वर साहले भने जसपामा आफूहरुको पहिले उपस्थिति जस्तो थियो, त्यस्तै रहने बताए । ‘अहिले पनि प्रदेश २ सरकार जसपाकै नेतृत्वमा रहेको छ । हामीले सरकार छाडेका छैनौँ । मुख्यमन्त्री लालबाबु राउतले केही मन्त्री हटाउन मन लाग्यो हटाउनु भयो त्यो उहाँको अधिकारको कुरा थियो,’ उनले भने, ‘ अगामी दिनमा सरकारले कस्तो काम गर्छ त्यसको प्रतिक्षाम हामी छौँ ।’

‘पहिले पनि यो सरकारले गलत गर्दा गलत भन्थ्यौँ, सही गर्दा प्रसंशा गथ्यौं आउने दिनमा पनि आफूहरुको भूमिका त्यस्तै रहन्छ,’ उनले भने, ‘हामीलाई त अब झन् सजिलो भएको छ । काँग्रेसले हाम्रो विरोध गथ्र्यो अब त्यो विरोध अब बन्द भएको छ । आशा छ, प्रदेशको नामाकरण तथा राजधानी तोक्ने विषयमा सहमत होला ।’ पार्टी एक रहेसम्म जसपा नेतृत्वको सरकारलाई स्वीकार गर्नुंपर्ने बताउँदै निर्वाचन आयोगबाट निर्णय आएपछि मात्र सबै कुराको टुङ्गो लाग्ने उनले बताए ।

जसपा (उपेन्द्र यादव) अर्का प्रदेश सांसद सञ्जयकुमार यादवले जसपमा अग्रगमन र प्रतिगमन धार गरी दुईटा धार रहेको बताए । एउटा लोकतन्त्र, संघीयताको रक्षाका लागि संघर्ष गरिरहेको र अर्को पक्षले प्रतिगमनलाई साथ दिएको उनले दाबी गरे । जबसम्म उनीहरुले प्रतिगमनलाई साथ दिइरहन्छन्, तबसम्म उनीहरुसँग त्यस्तै व्यवहार हुने उनले बताए । उनले भने, ‘महन्थ ठाकुर, राजेन्द्र महतोहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमलाई साथ दिएर सरकारमा सहभागी भएको कारण उहाँहरु पनि प्रतिगमनकारी कित्तामा जानुभयो । त्यही भएर पार्टीमा प्रतिगमनकारी र अग्रगमनकारी कित्ता अलग भएका छन् ।’

जसपा विभाजन नभएको र केही नेताहरुले आफ्नो कित्ता परिवर्तन गरेको बताउँदै उनले प्रतिगमनलाई साथ दिने नेतालाई पार्टीले कारवाही गर्ने बताए । केन्द्रमा पनि केही नेताहरुलाई कारवाही गरिएको छ, प्रदेशमा पनि त्यस्तै कारवाही गरिने सम्भावना रहेको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप