शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रामेछापको खनियापानीमा खानेपानी अलपत्र

शुक्रबार, २८ जेठ २०७८, २१ : २४
शुक्रबार, २८ जेठ २०७८

रामेछापको सुनापती गाउँपालिका–५ स्थित खनियापानीमा खानेपानी आयोजना अलपत्र परेको छ । स्थानीय लुभुखोलाबाट लिफ्ट गरेर सञ्चालन गर्नेगरी काम शुरु भएको लाम्पाते खानेपानी आयोजना अलपत्र परेपछि स्थानीय आक्रोशित भएका छन् ।

आयोजना पुरा नहुँदा गाउँमा खानेपानीको हाहाकार छ । सुनापाती गाउँपालिका, सामुदायिक विकास समाज (सिडिएस) र स्थानिय श्रमदानबाट शुरु गरिएको आयोजना चार वर्षदेखि अलपत्र परेपछि स्थानिय आक्रोशित भएका हुन् ।

करिब ७० लाख लागतको सो आयोजनाका अध्यक्ष हुन् भोलाराज रोका । आयोजना भौतिक निर्माणको काम अन्तिम चरणमा पुगेको लामो समय हुँदापनि आर्थिक अनियमितता गरेर रोकाले खानेपानी वितरणमा आनकानी गरिरहेको स्थानीयको आरोप छ ।

‘भौतिक निर्माणको काम करिब अन्तिम चरणमा छ’ स्थानिय प्रमोद भण्डारीले रातोपाटीसँग भने–‘अध्यक्षलाई हामीले आयोजनाको हिसाब मागेका छौं, उहाँले सार्वजनिक सुनुवाइमार्फत् हिसाब देखाउन आनाकानी गर्नुभयो ।’

स्थानिय निकाय र सामुदायिक विकास समाजको बीचमा सो आयोजना दुई वर्षभित्र सम्पन्न गर्नेगरी ०७४ मा संझौता भएको थियो । यसअघिका सुरेश रोकाको अध्यक्षतामा रहेको उपभोक्ता समिति पछि परिवर्तन भयो ।

सुरेश रोकाले अध्यक्ष पद हस्तान्तरण गरेपछि आयोजना निर्माणमा कुनै प्रगति नभएको स्थानिय युवा विष्णुहरी पुलामीले रातोपाटीलाई बताए । उनले भने–‘वर्तमान अध्यक्ष भोलाराज रोका गैह्रजिम्मेवार हुँदा हामी खानेपानीबाट बञ्चित भएका छौं ।’

आयोजनामा अनियमितता भएको भनेर गाउँपालिका कार्यालयमा उजुरी पनि परेको छ । आयोजनामा काम गर्ने प्राविधिकले अझै ज्याला पाएका छैनन् । आयोजना सम्पन्न गर्नका लागी उपभोक्ताबाट रकम असुल गरिएको छ । तेस्रो पटक गाउँपालिकाबाट निकाशा गरिएको १० लाखको हिसाव अध्यक्ष रोकाले देखाउन नसकेको स्थानीयले आरोप लगाएका छन् । आयोजना पुरा हुँदा ८८ घर, परिवार लाभान्वित हुनेछन् ।

आयोजनाका अध्यक्ष भोलाराज रोकाले भने खानेपानी आयोजना पुरा गर्न आफु तयार भएपनि उपभोक्ताले नै असहयोग गरेको दाबी गरे । रातोपाटीसँग कुरा गर्दै उनले भने–‘पानी खोल्न खोलामा जानुपर्छ, मासिक २० हजार दिन्छु भन्दापनि खोल्न जाने मान्छे तयार नभएपछि म आफैं गएर सयम–समयमा धारामा पानी खसालेको छु ।’

सुनापति गाउँपालिकाका अध्यक्ष धावा लामाले उपभोक्ताको भेला गरेर सार्वजनिक सुनुवाइ मार्फत हिसाव माग्न स्थानीयलाई आग्रह गरेका छन् । रातोपाटीसँग कुरा गर्दै लामाले भने, ‘भेला मार्फत् हिसाव माग्न भनेको छु, आयोजनाका अध्यक्ष पारदर्शी नभएको भेटिए छानविन गर्छौ, कानुन अनुसार कारवाही हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप