केन्द्रीय संस्करण
मेरो जीवन

कुन्ती मोक्तानको जीवन : सङ्गीत सिक्दासिक्दै प्रेम बस्यो

person explore access_timeजेठ २९, २०७८ chat_bubble_outline0

 

कुन्ती मोक्तान प्रसिद्ध गायिका हुन् । नेपाली साङ्गीतिक क्षेत्रमा कुन्ती  मोक्तानबाट परिचित उनको वास्तविक नाम कुन्ती सुन्दास हो । नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने मोक्तानका ‘माथि माथि शैलुङ्गेमा’, ‘खुट्टा तान्दै गर’, ‘निष्ठुरी मायालु’, ‘इलामे सहर’, ‘खुट्टा तान्दै गर’, ‘गोठालो जाँदा’, ‘रुँदै छु गैरी खेतमा’ लगायत गीत बहुचर्चित छन् । सङ्गीतकार शिलाबहादुर मोक्तानसँग प्रेम विवाह गरेकी कुन्तीको जन्म भारतको दार्जिलिङमा भएको थियो । सन् १९८० पहिलो पटक नेपाल आएकी उनी १९८३ पछि भने नेपालमै स्थायी रूपमा बसोवास गर्दै आएकी छन् ।

गायनबाट थुप्रै सम्मान र पुरस्कारसमेत जित्न सफल उनी सङ्गीतको गुरु पनि हुन् । विगत तीन दशकभन्दा लामो समयदेखि उनी सङ्गीत सिकाउँदै आएकी छन् । यिनै गायिका कुन्ती मोक्तानको जीवनका विभिन्न पाटा रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमा ।

गायन

म सानैदेखि गीत गाउँथे । पहिलो गीत रेकर्ड भएको सन् १९ ७७ मा दार्जलिङमै रहँदा हो । त्यतिबेला अलइन्डिया रेडियोमा लोकगीत गाएकी थिएँ । रेडियो नेपालमा भने १९८० मा गीत रेकर्ड गराएकी थिएँ । स्वर परीक्षा नगरीकन रेडियोमा मेरो गीत रेकर्ड भएको थियो । स्वर परीक्षा नगरीकन रेडियो नेपालमा गीत रेकर्ड गर्न पाउने म एक मात्र भाग्यमानी कलाकार हुँ । त्यतिबेला रेडियो नेपालमा स्वर परीक्षा नगरी गायक, गायिका हुन सकिँदैन थियो ।

१९८० बाट औपचारिक रूपमा सुरु भएको मेरो गायन यात्रा अहिले पनि निरन्तर छ । मैले खासै धेरै गीत गाएकी छैन । त्यस्तै ६ सयभन्दा बढी भए होला । अहिले एउटा एल्बम ल्याउँदैछु । आउन लागेको एल्बम १३औँ हो । केही फिल्मका गीत पनि गाएकी छु । आधुनिक, लोक र अरूको एल्बमका लागि फुटकर गीतसमेत गाएकी छु ।

मेरो प्रायः सबै गीत राम्रा र चलेका छन् । तीमध्ये सबैभन्दा चर्चित गीत ‘माथि माथि शैलुङ्गेमा चाैरी डुलाउनेलाई’ हो । ‘कहिले काहीँ मलाई पनि’ मेरो पहिलो गीत थियो । यसले पनि चर्चा पाएको थियो । त्यसपछि ‘भन्छन् कोही’, ‘इलामे सहर’, खुट्टा तान्दै गर’, ‘गोठालो जाँदा’, ‘माया तिमीलाई के भन्न मन लाग्छ’, ‘रुँदै छु, गैरी खेतमा’ लगायत गीत बहुचर्चित छन् ।

सङ्गीत कतिपयले सौख, कतिपयले आनन्द भन्छन् । मेरो लागि सङ्गीत सबैथोक हो । अहिले जेजस्तो छ मेरो त्यो सङ्गीतबाटै भएको हो । मेरो लागि सङ्गीत जीवन हो । सङ्गीतले मलाई धेरै उत्साह, खुसी, सम्मान र चिनारी दिएको छ ।

टिचर म

म टिचर पनि हुँ । सङ्गीत पढाउन थालेका करिब ३५ वर्ष भयो । अहिले पनि १० वटा स्कुलमा सङ्गीत सिकाउँछु । अहिले कोरोना कहरको समय भएकाले अनलाइनमार्फत कक्षा लिँदै आएकी छु । कोरोनाअगाडि दिनमा ३, ४ वटासम्म स्कुल रोटेसन मिलाएर भ्याउँथे ।

गीतसङ्गीतका कार्यक्रम, मेलामहोत्सव नभएको २ वर्षभन्दा बढी भएको छ । यो अवस्थामा धेरै कलाकार निकै अप्ठ्यारो अवस्थाबाट गुज्रिरहेका छन् । मलाई भने जीविका चलाउन यसले राम्रोसँग सपोट गरेको छ ।

खाना

नेपाली खाना दालभात, तरकारी र अचार मनपर्छ । खानामा हरियो तरकारी अनिवार्य चाहिन्छ । माछामासु पनि मनपर्छ । मन नपर्ने खाना इटालियन हो ।

फ्यामिलीसँग कहिलेकाहीँ रेस्टुरेन्ट जान्छु । रेस्टुरेन्टमा बढी मनपर्ने कोरियन, चाइनिज र नेपाली परिकार नै हुन् । पकाउन रुचि छ । घरको कुक पनि मै हो । परिकार सबैथरि बनाउन सक्छु ।

मेरो फिट्नेस

फिट्नेसका लागि सजक छु । पहिले फिट्नेस क्लब र जुम्बा जान्थेँ । अहिले घरमै एरोबिक ब्यायम, जुम्बा, डोरी खेल्ने, करिब १ घन्टा वाक गर्ने गर्छु ।

कहिलेकाही युट्युब हेरेर पनि एक्सरसाइज गर्छु । घरमा एक्सरसाइजका सामान अहिलेसम्म केही ल्याएको छैन ।

पोसाक

मनपर्ने पहिरन सारी हो । धेरै प्रयोग कुर्थासुरुवाल गर्छु । विवाह, पार्टीलगायत विशेष कार्यक्रममा सारी नै लगाउँछु । घरमा बस्दा भने कुर्थासुरुवाल सजिलो लाग्छ ।

मेरो मनपर्ने पहिरन रङ ग्रे हो । सारी रेडिमेड नै किन्नुपर्छ । कुर्थासुरुवाल भने कहिले रेडिमेड, कहिले सिलाएर पनि लगाउँछु । पहिरनमा ब्रान्ड रोज्ने, खोज्ने बानी छैन । मनपरेको किन्छु ।

पहिले पहिले धेरै कार्यक्रम पर्दा नयाँ सारी किनिरहन्थे । त्यो समय पहिरन खर्च पनि थियो । नयाँ पहिरनमा गीत गाउँदा फ्रेस महसुस गर्थंे । अहिले कार्यक्रम नभएकाले पहिरनमा खासै किनेको छैन ।

अध्ययन

अध्ययनमा रुचि छ । विशेष गरेर दिउँसोको समय अध्ययनमा बिताउँछु । यो समय सुत्न मनपर्दैन । पुस्तकहरू पढेर बिताउँछु ।

पुस्तकमा जीवनी धेरै पढ्छु । अहिले कोरोनाको समयमा धर्मको किताबहरू गीता, बाइबल लगायत पनि पढेँ । अहिले पढिरहेको पुस्तक ‘मोज’ भन्ने हो । यसपछि पढ्नका लागि ‘चीरहरण’ भन्ने किताब रेडी गरेर राखेकी छु । अनलाइनमा र पत्रपत्रिका समेत पढ्छु ।

घुमफिर

घुमघाममा एकदमै रुचि छ । निषेधाज्ञा लाग्ने समयमा पनि पोखरा र चितवन घुमेर फर्किएको मात्र थिए । आफ्नो देशका विभिन्न ठाउँ घुमिरहन मनपर्छ । टाढा जान मिलेन भने नजिक भए पनि निस्किरहन्छु ।

देशका अधिकांश जिल्ला घुमेकी छु । विदेशका २४ राष्ट्र टेकेँ । भीडभाड, विकास धेरै भएका स्थानभन्दा शान्त, प्राकृतिक सौन्दर्यले भरिएको, खुला स्थान र गाउँघर नै घुम्न बढी मनपर्छ । यस्तै ठाउँ रमाइलो लाग्छ ।

फुर्सद

फुर्सद छैन । निकाल्नुपर्ने हुन्छ । पढाउने, रियाज गर्ने, घरको काम लगायतले फुर्सद कमै हुन्छ । आवश्यक पर्दा निकाल्न सक्छु ।

मेरो खेलकुद

खेलकुदमा सानैदेखि मनपर्ने फुटबल हो । सानोमा फुटबल धेरै खेल्थेँ । दार्जलिङ हुँदा महिला फुटबल टिममा थिएँ । फुटबल खेलमा विभिन्न गेम खेलेर पुरस्कारसमेत जित्थेँ । त्यतिबेला फरवार्ड भएर खेलेकी छु । धेरै गोल पनि हानेर पुरस्कार जितेकी छु ।

अहिले पनि फुटबल खेल हेर्न मनपर्छ । फुटबलका चर्चित खेलाडीकी फ्यान हुँ म । पहिले फुटबल खेलाडीमा म्यारोडोना मनपथ्र्यो । अहिले एम्बापे भन्ने फुच्चे खेलाडी रहेछन् । उनको खेल निकै मनपर्छ ।

फुटबलका महत्त्वपूर्ण खेलहरु हेर्ने गरेकी छु ।

मोबाइल

मसँग सामसुम ब्रान्डको नोट सेभेन मोबाइल छ । फोन गर्ने र उठाउनेको अलवा मोबाइलमा फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालसमेत चलाउँछु ।

युट्युबमा अन्तर्वार्ता, साङ्गीतिक कार्यक्रम हेर्नुको साथै समाचार समेत पढ्छु । अहिलेसम्म मोबाइल गिफ्ट पाएकी छैन ।

म मोबाइल क्रेजी पनि छैन । त्यसैले आफूसँग भएको मोबाइल पुरानो भएर काम नलाग्ने भएपछि मात्र फेर्छु ।

टिभी

टिभी हेर्न मनलाग्छ । टिभीमा बढी म्युजिक कार्यक्रम हेर्छु । राम्रा टक सो, समाचार, कमेडिका सिरियल र फन्नी कार्यक्रम पनि हेर्छु ।

टेन्सन हुने खालका कार्यक्रम टिभीमा हेर्न मन लाग्दैन । टिभी हेर्दा आफूलाई खुसी मिल्नुपर्छ भन्ने मेरो सोच छ ।

चलचित्र

फिल्म धेरै हेछु । हेर्न पनि मनलाग्छ । कोरोना अगाडि हरेक साताको शनिबार परिवारका सबै सदस्य गएर फिल्म हेर्ने गथ्र्याैं । छोरीहरुको विवाह भएर गएकाले उनीहरुसँग भेट्ने र रमाइलो गर्ने उद्देश्यले हरेक शनिबार फिल्मको कार्यक्रम बन्थ्यो ।

हिन्दी, नेपाली, अङ्ग्रेजी कुनै पनि फिल्म छुट्दैन थियो । पछिल्लो समय भने फिल्म हेर्न पाएकी छैन । हल खुल्यो भने फेरि जान्छौँ । हलमा नहेरेको फिल्म नभएको समय हामीले कार्टुनसमेत हेरेका छौँ । हलमा बसेर फिल्म हेर्दै त्यहाँको खानेकुरो खाँदाको आनन्द बेग्लै छ ।

फिल्म सकिएपछि रेस्टुरेन्टमा खाजा खाएर फर्किन्छौँ सधैँ । त्यो हाम्रो फेमेलीको गेटटुगेदर पनि हो । एक्सनभन्दा पनि प्रेमकथा र कमेडीले भरिएका रमाइला खालका फिल्म हेर्न मनपर्छ ।

मेरो प्रेम

सन् १९८३ मा मैले सङ्गीतकार शिलाबहादुर मोक्तानसँग प्रेम विवाह गरेको हो । हामी एउटै गुरुसँग सङ्गीत सिक्थ्यौ । उहाँ गुरुको पुरानो चेला, म नयाँ चेला थिए । सङ्गीत सिक्दासिक्दै हाम्रो प्रेम बसेको थियो ।

त्यतिबेला प्रेममा प्रस्ताव राख्ने, डेटिङ जाने र भ्यालेन्टाइन मनाउने चलन थिएन । त्यो समय प्रेम गर्यो भने गाउँ नै तर्सिने जमाना थियो । हामी सँगसँगै कार्यक्रमहरूमा जान्थ्यौँ । एकअर्काेलाई नभेट्दा, मिस गर्दा नराम्रो लाग्थ्यो । त्यसैले अलग अलग बसेर सँगै कार्यक्रम गर्नुभन्दा विवाह गर्दा राम्रो हुन्छ भन्ने सोचले विवाह गर्यौँ ।

विवाह पछि हामी दुवैले स्थायी बसोवासका लागि नेपालै रोज्यौँ । पहिलो पटक एउटा गीत रेकर्डका लागि भनेर १९८० मा नेपाल आएकी थिएँ ।

खुसी

खुसी खोजेर, किनेर पाइने कुरो होइन । मानिसअनुसार खुसी फरक फरक हुन्छ । खुसी जहाँ पनि र जेबाट पनि मिल्न सक्छ । केवल आफूले त्यसको पहिचान गर्न सक्नुप¥यो ।

म हरेक पलमा खुसी हुन खोज्छु । जे काम गर्दा पनि त्यसैमा डुबेर र गर्छु । त्यसैमा खुसी भेट्छु ।

मेरो सपना

म सपना बोक्ने र राख्ने मानिस होइन । वर्तमानमा राम्रो काम ग¥यो भने त्यसले परिणाम राम्रै दिन्छ भन्ने सोच सधैँ राख्छु । कहिलै पनि यस्तो भए हुन्थ्यो भनेर सपना देखिनँ । म निराशावादी पनि होइन । राम्रो काम गर्नुपर्छ, राम्रो सोच्नुपर्छ राम्रो हुन्छ ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत यही सुन्नुपर्छ भन्ने छैन । संसारभरका जुनै भाषाका गीतसङ्गीत पनि सुन्छु । त्यो सबै बुझ्नै पर्छ भन्ने छैन । गीत नबुझे पनि त्यसको सङ्गीतले भने आनन्द दिन्छ ।

मलाई रुने गीत मनपर्दैन । पुराना, नयाँ, हिन्दी, नेपाली यस्तो भाषा केही भन्दिनँ । मनछुने खालका गीत हुनुप¥यो । सङ्गीतपक्ष राम्रो हुनुप¥यो म सुन्छु ।

भुल

भुल नगर्ने मानिस जीवनमा सायदै होलान् । जीवनमा जानी नजानी भुल धेरै भए होलान् । गल्ती गरेँ, कसैको मन दुखाएँ भनेर अहिलेसम्म पछुताएकी छैन । मैले जीवनमा पछुताउनुपर्ने भुल त्यस्तो अहिलेसम्म केही गरेकी पनि छैन ।

रोग

भगवानको कृपाले अहिलेसम्म केही रोग छैन । ६० वर्ष पुग्न लागेँ । रुघाखोकी, ज्वारोसमेत आएको थाहा छैन । अहिलेसम्म म एकदमै फिट एन्ड फाइन छु ।

मापसे

मापसे कहिल्यै गर्दिनँ र गरेकी पनि छैन । हामी तामाङहरुको कल्चर अनुसार घरमा रक्सी हुनुपर्छ । मेरो घरमा पनि धेरैथरिका रक्सी छन् । श्रीमान् खानु हुन्छ । उहाँ एक्लै र थोरै खाने भएकाले धेरै वर्षअगाडिदेखिका रक्सी सजिएर बसेका छन् ।

राशि

मेरो राशि मिथुन हो । ग्रहदशामा विश्वास लाग्दैन । ग्रहदशा, भाग्य भन्ने कुरो आफैले निर्माण गर्ने हो जस्तो मलाई लाग्छ । आफू राम्रो बन्यो भने सबै कुरो राम्रो हँुदै जान्छ । नराम्रो भए त्यस्तै हुन्छ ।

मृत्यु

मृत्यु एक अन्तिम सत्य हो । कसको कसरी मृत्यु हुन्छ भनेर कसैले भन्न सक्दैन । जन्मिएपछि मृत्यु अनिवार्य छ ।

अहिले चिनजानका साथीभाइ धेरै मरेकाले मृत्यु नराम्रो लागेको छ । बाँचुन्जेल राम्रो काम गरौँ, सकारात्मक सोच राखौँ भन्ने हो । हामीले मृत्युपछि पनि अरूले सम्झने कर्म गर्नुपर्छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.