बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

म्याच प्रिभ्यू : विश्वकपको खेल सम्झाउने क्रोएशिया र इङ्ल्याण्डको भिडन्त

आइतबार, ३० जेठ २०७८, १३ : ५१
आइतबार, ३० जेठ २०७८

नियतिले पछिल्ला वर्षहरुमा यी दुई टोलीलाई धेरै प्रमुख प्रतियोगितामा आमने–सामने गरेको छ । यसमध्ये सबैभन्दा ठूलो प्रतियोगिता विश्वकप २०१८ मा क्रोएशियाले एक गोलले पछि परेको स्थिति उल्ट्याउँदै अतिरिक्त समयमा इङ्ल्याण्डलाई २–१ ले हराएको थियो ।

आज क्रोएशियाले लण्डनस्थित बेम्बली रंगशालामा आयोजक इङ्ल्याण्डको सामना गर्दैछ । यो खेल नेपाली समयअनुसार ६ बजेर ४५ मिनेट जाँदा हुनेछ ।

पछिल्ला ६ खेलमध्ये ६ खेलमै विजयी रहेको इङ्ल्याण्डलाई प्रतियोगिताको दाबेदार मानिएको छ । घरेलु मैदानको फाइदा उसले उठाउनसक्ने अनुमान छ । विश्वकपमा पराजित भएपछि युईएफए नेसन्स लिगमा इङ्ल्याण्डले क्रोएशियालाई २–१ ले हराएको थियो । अब नयाँ यात्रा सुरु भएको छ । युरोकपको समूह डीमा यी दुई टोलीसँगै चेक गणतन्त्र र स्कटल्यान्ड पनि छन् ।

ग्यारेथ साउथगेटको प्रशिक्षणमा रहेको इङ्ल्याण्ड युवा प्रतिभाहरुले भरिएको छ । लुका मोडरिचको कप्तानीमा रहेको क्रोएशियाले भने पछिल्ला ६ मध्ये २ खेलमात्रै जितेको छ । बाँकी १ खेल बराबरी खेलेको छ भने ३ खेल हारेको छ । यसका बाबजुद मोडरिचलाई यस्तै कठिन खेल मनपर्छ । उनको टोली बलिया विपक्षीहरुसँग मरिमेटेर खेल्न माहिर छ । तर, जेसुकै भनेपनि क्रोएशियालाई यो खेल सहज हुनेछैन । सायद, उसले डिफेन्समा धेरै ध्यान दिनेछ र काउन्टर एट्याक गर्नेछ ।

के भन्छन् प्रशिक्षकहरु ?

ग्यारेथ साउथगेट, इङ्ल्याण्ड : हामी मस्कोमा साँच्चै स्तब्ध भएका थियौं । हामीसँग उपाधिका लागि दुई खेल जित्नुपर्ने थियो । तर, उनीहरु धेरै अनुभवी थिए । धेरै राम्रा, उत्कृष्ट मानसिकता र भावना भएका पनि रणनीतिक रुपमा पोख्त थिए । त्यसैकारण यसपटक पनि हाम्रा लागि पहिलो खेलमै उनीहरु ठूलो चुनौती हुन् । तर हामीलाई थाहा छ, हामी उनीहरुलाई हराउन पनि सक्षम छौं ।

ज्लाट्को डालिच, क्रोएशिया : यस खेलमा हामी उत्कृष्ट टोलीलाई उतार्नेछौँ । हामीसँग स्तरीय खेलाडी छन् र हामी तर्सेका छैनौं । हामीलाई थाहा छ इङ्ल्याण्ड निकै तेज र आक्रमणमा पोख्त छ । उनीहरुसँग उत्कृष्ट खेलाडी छन् । हामीले कडा डिफेन्समा ध्यान दिनुपर्छ । त्यस्तै बल नियन्त्रणमा राखेर आक्रमणको प्रयास पनि गर्नुपर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप