शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपाबाट ओली सरकारमा सहभागी मन्त्रीलाई उपेन्द्र यादवले सोधे स्पष्टीकरण

आइतबार, ३० जेठ २०७८, २३ : ३९
आइतबार, ३० जेठ २०७८

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा पार्टीबाट सहभागी भएका मन्त्रीहरुलाई  स्पष्टीकरण सोधका छन् । अध्यक्ष यादवले मन्त्रीहरुलाई सात दिनभित्र स्पष्टीकरणसहितको जवाफ दिन भन्दै पत्र लेखेका हुन् । यादवले ओली सरकारमा मन्त्री बनेका राजकिशोर यादव, अनिलकुमार झा, चन्दा चौधरी, शरतसिंह भण्डारी, एकवला मियाँ, चन्द्रकान्त चौधरी, रेणुका दाहाल, उमाशंकर अरगरिया र विमल श्रीवास्तवलाई स्पष्टीकरण सोधेका छन् ।

जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले ओली नेतृत्वको सरकारमा सामेल भएमा पार्टीबाट स्वतः निष्काशन हुने निर्णय भएपनि पार्टीको सो निर्णय विपरित सरकारमा सामेल भइसकेकाले उनीहरुमाथि स्पष्टीकरण सोधिएको पत्रमा उल्लेख छ । उनीहरु पार्टी निर्णय विपरित सरकारमा सामेल भैसकेकोले सात दिनभित्र स्पष्टीकरणको जवाफ दिन पत्रमा भनिएको छ । 

सरकारमा सहभागी भएकाहरुले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा १८ (३), २५ (१) (३) र पार्टीको अन्तरिम विधान २०७७ को धारा ४९ को (१) (२) (३) (५) र (८), दफा ५० को (१) विपरित कार्य गरेको हुनाले पत्र प्राप्त भएको सात दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिन भनिएको छ । 

मन्त्रीहरुलाई लेखिएको पत्रमा ओलीको संसद विघटन गर्ने आलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीति विपरित किन साथ दिएको भन्ने प्रश्न गर्दै केन्द्रीय कार्यकारिणी समितिको २०७८ जेठ ९ गतेको निर्णय अवज्ञा गरी ओली सरकारमा किन सामेल भएको भनि स्पष्टीकरण मागिएको छ । 

संसदीय दलको विधान नबनिसकेको अवस्थामा राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेताको रुपमा हस्ताक्षर गरी स्वीकार गर्नुभएको भन्दै पत्रमा पार्टी अनुशासन र आचारसंहिता विपरित स्वेच्छाचारिता बढाउने कामहरूलाई किन प्रश्रय दिएको भन्ने प्रश्न गरिएको छ ।

पत्र प्राप्त भएको म्यादभित्र चित्तबुझ्दो जवाफ पठाउन आग्रह गर्दै भनिएको छः ‘पार्टीमा गुटबन्दी गर्ने, अनुशासन भंग गर्ने गराउने कार्य भइरहेकोले यस सन्दर्भमा पत्र प्राप्त भएको म्यादभित्र चित्त बुझ्दो  र सन्तोषजनक जवाफ प्राप्त नभएमा तपाईलाई राजनीतिक दल सम्बन्धी ऐन र पार्टीको विधानअनुसार कारवाही गरिनेछ ।’ 

पत्रमा शनिबारको मिति उल्लेख भएपनि उनीहरुलाई आइतबार पत्र पठाएको स्रोतले जनाएको छ । ओली सरकारमा मन्त्री बनेका राजेन्द्र महतो र लक्ष्मणलाल कर्णलाई यसअघि नै कारवाही गरिसकिएको हुनाले स्पष्टीकरण सोधिएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप