शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोह उर्जाका अनगिन्ती फाइदा, कसरी व्यवस्थापन गर्ने ?

सोमबार, ३१ जेठ २०७८, ०८ : २१
सोमबार, ३१ जेठ २०७८

काम, क्रोध, लोभ, मोह, मद र मात्सर्य मानवीय स्वभाव हुन् । यीमध्ये यहाँ मोह उर्जाका बारेका प्रकाश पार्ने प्रयास भएका छन् । वस्तुतः मोह भनेको जीवन उर्जाकै एउटा भाग हो, जसलाई मानिसले जन्मजात लिएर आएको हुन्छ । मोहको अर्थ हो, कसैप्रति वा कुनै विषयप्रति मोहित हुनु वा आशक्त हुनु । विषय धन सम्पतिको पनि हुन सक्छ, सन्तानको पनि हुन सक्छ, मान, सम्मान, यश, कीर्ति, पद र प्रतिष्ठाको पनि हुन सक्छ । मोह उर्जाका अनगिन्ती फाइदा छन् तर प्रयोग गर्न भने जान्नुपर्छ । अन्यथा लाभको बदला हानि हुन्छ, हुन पुग्छ । प्रश्न उठ्न सक्छ प्रयोग गर्न जान्नु भनेको के हो ? उत्तर सहज छ रूपान्तरण गरी प्रयोगमा ल्याउने प्रयास गर्नु । पुनः प्रश्न उठ्न सक्छ कसरी रूपान्तरण गर्ने भन्ने । त्यो पनि त्यति गाह्रो छैन । कुनै बस्तुप्रति सिधै आकर्षित हुनु मोह हो, स्रोत पत्ता लगाई त्यसप्रति आकर्षित हुनु रूपान्तरण हो ।

मोहित हुनुुस्, नहुनुस् भन्ने होइन । नहुनुस् भने पनि नभई बस्न सक्नुहुन्न तर स्रोत पत्ता लगाई त्यसप्रति आकर्षित हुने बानी बसाउनुभयो भने स्वतः रूपान्तरण हुन्छ । छोटो शब्दमा भन्नुपर्दा विषयप्रतिको आकर्षण मोह हो, उसको स्रोतप्रतिको आकर्षण रूपान्तरण हो । विषयप्रति आकर्षित हुनुभयो दुःख पाउनु भयो । स्रोतप्रति आकर्षित हुन थाल्नुभयो सुख पाउनु भयो । 

मानिलिनुस् तपाईँ कुनै हजामको पसलमा जानुभएको छ । कपाल वा दाह्री काट्न लाग्नुभएको छ । हजामले कपाल त काटिदियो तर उसको ग्राहकप्रतिको व्यवहार भने राम्रो थिएन । झर्कोफर्को तथ्र्यो, राम्रोसँग बोल्न पनि गाह्रो मान्थ्यो । उसको व्यवहार मन परेन र अर्को दिन नजिकैको अर्को पसलमा जानुभयो । उसको भने काम पनि राम्रो थियो, व्यवहार पनि राम्रो थियो, बोलीचाली पनि मीठो थियो । 

उसको व्यवहार मन प¥यो । अर्को पटकदेखि उसैकोमा जान थाल्नुभयो । अघिल्लोलाई हेर्न पनि चाहनु भएन । सायद अरुहरूलाई पनि त्यस्तै भएको हुनुपर्छ । उसको पसलमा भीड लाग्न थाल्यो । ग्राहक बरु पालो कुरेर बस्थे तैपनि अर्को पसलमा जाँदैन थिए । बिस्तारै उसको व्यपार फस्टाउँदै गयो । अर्को पसल सुक्दै गयो । यो एउटा उदाहरण हो, हरेकको अवस्था त्यस्तै हुन्छ । जहाँ राम्रो व्यवहार पाउँछन् ग्राहक त्यतै जान्छन्, जहाँ पाइँदैन त्यता जाँदैनन् । उर्जा रूपान्तरण भनेको यही हो । 

उद्देश्य सबैको पैसा कमाउनु नै हो । सबैले पैसा कमाउनकै लागि पसल थापेका हुन्छन् तर जसको आकर्षण केवल पैसाप्रति मात्र हुन्छ, उसको पसल सुक्दै जान्छ । जसको आकर्षण पैसाभन्दा पैसाका स्रोतप्रति हुन्छ, सेवाप्रति हुन्छ उसको पसल फुक्दै जान्छ । सङ्क्षेपमा भन्नुपर्दा जसले पैसालाई भन्दा पेशालाई माया गर्छ ऊ बिस्तारै धनी हुँदै जान्छ । जसले पेशालाई भन्दा पैसामा ध्यान दिन्छ ऊ कहिल्यै धनी बन्न सक्दैन ।

यदि तपाई असल सन्तानको कामना गर्नुहुन्छ भने व्यवहार पनि त्यस्तै गर्नुपर्छ । असल सन्तानको कामना गर्ने बाबुआमाले त्यसको प्रयोग पहिले आफैँले गर्नुपर्छ । सन्तान चाहिँ असल हुन् भन्ने आफूहरूले भने निरन्तर झगडा गर्ने, रिसाउने, मारपिट गरिरहने हो भने बालबालिका पनि त्यस्तै हुँदै जान्छन् । आपसमा कुटपिट गर्न थाल्लान्, झगडा गर्लान्, चोरी गर्लान्, झुट बोल्लान् । बिस्तारै यसको बानी पर्दै जान्छ र ठूलो भएपछि पनि त्यस्तै बन्छन् । तपाईँको असल सन्तानको चाहना चाहनामै सीमित रहन्छ । जसका बाबुआमाका व्यवहार राम्रा हुन्छन् । बोली मीठो र व्यवहार आदर्शको हुन्छ । एकले अर्कोलाई सम्मान गर्छन् । उनीहरूका भने सन्तान पनि असल हुँदै जानेछन् । उपकारी बन्ने छन्, सहयोगी हुनेछन् । चाहना दुवैको असल सन्तान हो तर जसले सन्तानलाई मात्र राम्रो बनाउन चाहे अर्थात् विषयमा मात्र ध्यान दिए उनीहरूको सन्तान पनि राम्रा भएनन् तर जसले स्रोतमा ध्यान दिएर आफ्नै व्यवहार सुधार्नतिर लागे उनीहरूका सन्तान आफैँ राम्रा हुँदै गए ।

मानिलिनुस् तपाईँ किसान हुनुहुन्छ । तपाईँको पनि उद्देश्य पैसा कमाउनु नै हो । यदि पैसामा मात्र ध्यान दिनुभयो भने खेतीपातीमा अत्यधिक विषादि प्रयोग गर्नुहोला । उत्पादन बढाउन कृत्रिम तरिका अपनाउनु होला, भण्डारण गर्ने तरिका पनि त्यस्तै होला, बिक्री वितरण गर्ने तरिका पनि त्यस्तै होला, नापतौलमा ठगी हुन सक्ला, बोली र व्यवहारमा कृत्रिमता देखिएला । यसबाट तपाईँ पैसा कमाउन सक्नुहुन्न । बरु भएको पैसा पनि गुम्दै जान सक्छ तर पेशाप्रति ध्यान दिनुभयो भने राम्रोसित खेती पाती गर्न थाल्नुहुन्छ । अर्गानिक मलजलमा ध्यान दिनु हुन्छ, गोडमेल गर्नु हुन्छ । यसबाट फसल पनि राम्रो हुनेछ । ग्राहकले पनि त्यसैलाई रुचाउने छन् ।  

पद, प्रतिष्ठा वा सुख सयलको अवस्था पनि त्यस्तै हो । मोह उर्जा सिधै पद, प्रतिष्ठा तथा सुख सयलमा प्रयोग गर्नुभयो भने सकेसम्म त्यो पाउनै सक्नुहुने छैन । कदाचित पाइए पनि टिकाउन सक्नुहुने छैन तर तिनका स्रोत पत्ता लगाई त्यसैमा मोह उर्जा प्रयोग गर्न जान्नुभयो भने पाउन पनि सक्नुहुुन्छ र टिकाउन पनि सक्नुहुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप