शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोकै सफल टोली स्पेनलाई स्वीडेनले चुनौती देला ?

सोमबार, ३१ जेठ २०७८, १३ : ४६
सोमबार, ३१ जेठ २०७८

युरो कप अन्तर्गत समूह ई मा रहेको स्पेनले आज सुरुवाती खेलमा स्वीडेनको सामना गर्दैछ । खेल नेपाली समयअनुसार मध्यराति १२ बजे ४५ मिनेट जाँदा सुरु हुनेछ । युरो इतिहासकै सफल टोलीमध्ये स्पेन एक हो । स्पेन र जर्मनीले मात्रै यस प्रतियोगिता तीनपटक जितेको इतिहास छ । त्यस्तै, लगातार दुईवटक युरो जित्ने स्पेन पहिलो टोली हो । उसले २०१२ मा यो उपलब्धि हासिल गरेको थियो । 

२०१२ मा टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका सर्जियो बुस्क्वेट्स अहिले टोलीको कप्तान छन् । बुस्क्वेटस् र जोर्डी अल्बाबाहेक २०१२ को युरो विजेता टोलीका कुनै पनि खेलाडी अहिले टिममा छैनन् । यद्यपि, गोलकिपर डेभिड गिया, कोके, अल्भारो मोराटा, थिएगो अल्कान्टारा लगायत खेलाडीसँग पनि अन्तर्राष्ट्रिय फुटबलको राम्रो अनुभव छ । 

यता, स्वीडेन पनि कमजोर छैन । डेजान कुलुसेभ्स्की, भिक्टोर लिन्डेलोफ, इमिल काफ्टजस्ता प्रतिभावान खेलाडी स्वीडिस टोलीमा छन् । सन् २०१८ को विश्वकपमा स्वीडेनले क्वाटरफाइनलसम्मको यात्रा गरेको थियो । स्वीडेन र स्पेनबीच यसअघि म्याड्रिडमा भएको खेल स्पेनले ३–० ले जितेको थियो । तर, सोल्नामा भएको खेल एक एक गोलको बराबरीमा सकियो । 

आजको खेल सेभियामा हुने भएकाले पनि स्पेनले घरेलु मैदानमा लाभ उठाउन सक्छ । स्पेनले पछिल्ला ५ खेलमध्ये ३ खेल जितेको छ भने २ खेल बराबरी खेलेको छ । यता, स्वीडेनले पछिल्ला ५ मध्ये ५ वटै खेल जितेको छ । त्यसैले पनि आजको खेल प्रतिस्पर्धात्मक हुनसक्ने अनुमान लगाइएको छ । 

के भन्छन् प्रशिक्षक ?
लुईस एनरिक्यु, स्पेन : पहिलो खेल सबै दबाबमूलक हुन्छ । यसले आत्मविश्वास बढाउन र प्रतियोगिता हाम्रा लागि कति महत्वपूर्ण छ भनेर बुझाउने काम गर्छन् । यदि तपाईले जित्नुभयो भने राम्रो सुरुवात गर्नुहुनेछ र तपाईको गुणस्तर पनि देखिनेछ । 

जेन्नी एन्डरस्सन, स्वीडेन : स्पेनसँग उसैको घरमा खेल्नु आजको फुटबल दुनियाँमा एउटा ठूलो चुनौती हो । यो निकै रोमाञ्चक चुनौती हो र हामीले उत्कृष्ट खेल देखाउन जरुरी छ । हामीले विगतमा यस्तो खेल देखाएको छौं र मलाई आशा छ, फेरि त्यस्तै खेल्नेछौँ ।

अन्य खेल
आज साँझ नेपाली समयअनुसार ६ः ४५ मा समूह डी को खेलमा चेक गणतन्त्र र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । यो खेल स्कटल्यान्डको ग्लासगो शहरमा हुनेछ । त्यस्तै, रुसको सेन्ट पिटर्सवर्ग शहरमा राती ९ः४५ मा हुने खेलमा पोल्याण्ड र स्लोभाकिया भिड्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप