केन्द्रीय संस्करण

सम्झनाको तरेलीमा निष्ठावान् नेता डीआर पौडेल

person explore access_timeजेठ ३१, २०७८ chat_bubble_outline0

मेरो सम्झना गरी खाने वर्गले गरोस्,
 
काम गरेर,क्रान्ति गरेर,सधैँ अगाडि बढेर ।

वि.सं. २०७६ वैशाख २७ गते डीआर पौडेलले निर्मल लामालाई सम्झँदै निर्मल लामाकै यो भनाइ आफ्नो फेसबुकमा सेयर गर्नुभएको रहेछ । निकै अग्ला कदका सरल,निष्ठावान् र सिद्धान्तनिष्ठ कम्युनिस्ट नेता निर्मल लामाले जीवनको उत्तराद्र्धमा मानिसहरूले आफूलाई त्यसरी सम्झिदिउँन् भन्ने अपेक्षा गर्नुभएको थियोे । यो सरल वाक्यांश भित्रको गहनतम्े मर्मले पौडेललाई स्पर्श नगर्ने कुरै भएन । कसलाई थाहा थियोे र ! त्यसको दुई वर्ष वित्न नपाउँदै लामाको त्यही भनाइ स्वयं डीआर पौडेलकै फेसबुक वालबाट झिकेर स्वयं उहाँलाई नै स्मरण गर्नुपर्छ भनेर । हृदयघातबाट अकल्पनीय मृत्युुवरण गर्नुभएका पौडेलले यदि आफ्नो मृत्युु यति छिटै होला भनेर थाहा पाउने कुरै भएन । थाहा पाउनुभएको भए सायद हामीलाई यस्तै केही भन्नुहुन्थ्यो होला जस्तो लाग्छ । उहाँको जीवन दर्शन,चिन्तन प्रणाली र निष्ठापूर्ण सादगी जीवन यात्रा हेर्दा सहजै भन्न सकिन्छ मृत्युुपछिको उहाँको सदीच्छा पनि पक्कै निर्मल लामाकै जस्तो हुन्थ्यो होला । आखिर उहाँ जति बाँच्नुभयो,त्यही गरिखाने वर्गका लागि बाँच्नुभयो । जीवनको अन्तिम श्वास फेर्दासम्म आन्दोलन र क्रान्तिमा निरन्तर समर्पित हुनुभयो । अग्रगमनको पदचापलाई कहिल्यै छाड्नु भएन । सदैव इमान र निष्ठाको पर्याय भएरै बाँच्नुभयो । वर्गप्रेम र वर्गदृष्टिकोणमा हिमालजस्तै अटल र अविचल रहिरहनुभयो । आज उहाँको दोस्रो स्मृति दिवस हो । यस अवसरमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

सुरुवाती चरणमा डीआर पौडेलसँग मेरो उस्तो सङ्गत रहेन । एकातिर उहाँ हामीभन्दा अलि अघिको सिनियर नेता हुनुहुन्थ्यो भने अर्काेतिर हामी फरक कम्युनिस्ट घटकमा थियौँ । यद्यपि पूर्वविद्यार्थी नेताको रूपमा उहाँका लेख रचना पढ्ने र चासो राख्ने क्रम भने चलेकै थियोे । तर एउटै पार्टी र आन्दोलनका सहयात्री भएपछिको पछिल्लो दशक भने उहाँसँग बाक्लै भेटघाट र राम्रै सामीप्यता रह्यो । हरेक घटना,वस्तु,परिवेश र विषयलाई वर्गीय पक्षधरताको दृष्टिकोणले हेर्ने उहाँको स्पष्ट मार्क्सवादी लाइन थियोे । भनिन्छ जीवनको लम्बाइभन्दा उचाइ बढाउने कुरा महत्त्वपूर्ण हो । समग्रमा हेर्दा उहाँको भागमा जीवनको लम्बाइ त धेरै परेन तर राम्रै उचाइ भने बनाएरै जानुभयो । इमानमा कहिल्यै चुक्नुभएन । वर्ग वैरीहरूसँग कहिल्यै झुक्नुभएन र सङ्कटमा कहिल्यै लुक्नुभएन । त्यसैले मलाई लाग्छ स्वयं डीआर पौडेलकै स्पिरिटअनुसार काम गरेर,क्रान्ति गरेर र निरन्तर अघि बढेर मात्रै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुन सक्छ ।

केही वर्षअघि अनेरास्ववियु (क्रान्तिकारी) को केन्द्रीय कार्यालयमा सबै पूर्वअध्यक्षहरूको तस्बिर राख्ने कुरा भयो । त्यसबखत कार्यालय सचिव रुद्र विष्ट हुनुहुन्थ्यो र म नेवाः  राज्य (उपत्यका) संयोजक थिएँ । हामी दुई भाइ डीआर पौडेलसँग भेटघाट पनि गर्ने र राम्रो तस्बिर पनि लिने भनेर मिनभवन छेउको उहाँको डेरामा गयौँ । कोठामा समसामयिक राजनीति र विद्यार्थी आन्दोलनबारे स्वाभाविक रूपमा कुराकानी भए । एउटा सांसद भइसकेको व्यक्ति जुन सादगीपनका साथ बस्नुभएको थियोे त्यसले कम्युनिस्ट आन्दोलनको एउटा इमानदार र निष्ठावान् सिपाहीको स्पष्ट परिचय दिइरहेको थियोे । कुराकानीमा उहाँको चिन्ता केवल पार्टी,आन्दोलन र वर्गप्रति मात्र केन्द्रित थियोे । आफूले के पाइयो वा पाइएन भन्नेमा विल्कुल थिएन । छलफलपछि कोठाभित्र केही फोटा खिच्यौँ । तर लाइट मिलेन भनेर फेरि बाहिर निस्किएर थप फोटा खिच्यौँ । खैरो कोटमा खिचिएको तस्बिर अहिले पनि अनेरास्ववियु (क्रान्तिकारी)को केन्द्रीय कार्यालयको भित्तामा छ । मेरो आँखा झल्यास्स त्यहाँ पुग्दा मलाई यस्तो लाग्छ डीआर दाइले मलाई नै हेरिरहनुभएको छ ।

डीआर पौडेल शिक्षा मन्त्रीमा नियुक्त भएको दिन म सुर्खेतमा थिएँ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्ववियु निर्वाचनका क्रममा करिब दुई हप्ता म त्यत्तै रहेँ । एउटा असाध्यै सोझो,इमानदार र भुइँमान्छेहरूको प्रतिनिधि शिक्षा मन्त्री भएको कुराले मलाई निकै नै खुसी तुल्याएको थियोे । पूर्वविद्यार्थी नेता भएकाले त्यो जिम्मेवारी थप सान्दर्भिक लागेको थियोे । त्यसैले साँझपख बधाई दिन भनेर फोन गरेँ । आफ्नो सरलतालाई पुष्टि गर्दै उहाँले तत्कालै फोन उठाउनुभयो । मैले विद्यार्थी नेता हुँदा जे विषय माग गर्नुहुन्थ्यो,अब शिक्षा मन्त्री भएपछि त्यही कुरा कार्यान्वयन गर्नुप¥यो दाइ भनेर बधाई दिएँ । उहाँले सक्दो कोसिस गर्छु भनेर प्रतिबद्धता जनाउनुभयो । त्यस दिशामा उहाँले सक्दो प्रयास गर्नु पनि भयो ।

विद्यार्थी नेता रहँदा होस् या पार्टी नेता हुँदा शिक्षा मन्त्री हुँदा होस् या त्यसपछि होस् डीआर दाइ नेपालको सार्वजनिक शिक्षाको स्तरोन्नति र सबलीकरणका निम्ति एकदमै चिन्तित र प्रयत्नशील हुनुहुन्थ्यो । यस सन्दर्भमा उहाँले पटक पटक विद्यार्थी सङ्गठनहरूलाई छलफलका निम्ति बोलाइरहनुहुन्थ्यो । नेपालका बहुसङ्ख्यक जनताका छोराछोरी पढ्ने सार्वजनिक शिक्षा नसुधारेसम्म शिक्षा क्षेत्र सुध्रिँदैन र शिक्षा क्षेत्र नसुध्रीकन देशको विकास हुँदैन भन्ने उहाँको प्रष्ट मान्यता थियो । सार्वजनिक शिक्षा सुधारका नाममा हुने परम्परागत भेला र सम्मेलन मात्रले तर ठोस परिणाम ननिस्कने उहाँको बुझाइ थियोे । यसप्रति कटाक्ष गर्दै डीआर दाइले लेख्नुभएको थियोे सार्वजनिक विद्यालयको रूपान्तरण,सबलीकरण,सशक्तीकरण र सुदृढीकरण नीति,विधि,योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?

पछिल्लो चरणमा नेपाल सरकारले तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियोे । त्यस आयोगमा डीआर पौडेल र गङ्गालाल तुलाधर दुई जना पूर्वशिक्षा मन्त्री पनि सदस्य हुनुहुन्थ्यो । हामीसँगको भेटमा नेपालको सार्वजनिक शिक्षाको सबलीकरणमा केही गरौँ भन्ने उहाँको असाध्यै ठूलो हुटहुटी थियोे । उहाँहरूकै मिहिनेत र जोडबलमा त्यस आयोगको प्रतिवेदनमा धेरै जनपक्षीय प्रावधानहरू समेटिएका थिए । संविधानले १२ सम्मको शिक्षा निःशुल्क भनिसकेकाले निजी शिक्षालाई नियमन गर्दै केही वर्षभित्रै सम्पूर्ण रूपमा त्यस प्रावधानलाई कार्यान्वयन गर्ने नीति निर्माणमा उहाँको विशेष जोड थियोे । वर्ष तोकेर त्यतिन्जेलभित्र माध्यमिक तहको शिक्षा सम्पूर्ण रूपले राज्यको दायित्वभित्र पार्ने नीति बनाउनमा डीआर दाइको विशेष जोड थियोे । राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन तयार भइसकेपछि त्यसलाई अत्यन्तै भव्य समारोहका बीच राष्ट्रिय सभा गृहबाट हस्तान्तरण गर्ने कार्यक्रम तय भएको थियोे ।

तर अन्तिममा आएर प्रधानमन्त्री कार्यालयले उक्त कार्यक्रमलाई बालुवटारभित्रै सारिदियो । त्यसको सङ्केत त्यति राम्रो थिएन । काहीँ न काहीँ राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदनको जनपक्षीय र क्रान्तिकारी सारतत्वलाई कमजोर पार्ने र लागू हुन नदिने प्रतिगमन त्यहीँबाट सुरु भइसकेको बुझ्न गाह्रो थिएन । यसबाट डीआर दाइ निकै चिन्तित हुनुहुन्थ्यो । त्यो प्रतिवेदनप्रति प्रधानमन्त्री उदार थिएनन् भन्ने कुरा  अहिलेसम्म प्रतिवेदन सार्वजनिकसमेत नहुनुबाटै सहजै बुझ्न सकिन्छ । निजी शिक्षाका व्यापारीहरूको दबाब र प्रभावसामु प्रधानमन्त्रीको निरिहता र लाचारी टिठलाग्दो देखिन्थ्यो । शिक्षा मन्त्रीको कुर्सीमा हुँदा होस् या बाहिर हुँदा होस् अहिलेका प्रधानमन्त्री ओलीमाथि निजी शिक्षाका मालिक,दलाल र माफियाहरूको प्रभाव देखेर डीआर पौडेल आजित हुनुहुन्थ्यो । मन्त्रालयका नीति,निर्देशन र आयोगको प्रतिवेदनमार्फत प्रधानमन्त्रीलाई निजी शिक्षाका मालिकहरूको चङ्गुलबाट मुक्त गर्न उहाँहरूले धेरै कोसिस गर्नुभयो । तर प्रधानमन्त्रीले त्यो घेरा तोड्न कहिल्यै चाहनुभएन । बरु त्यसैमा रमाइरहनुभयो । यो नेपालको शिक्षालाई समाजवादतिर लाने कि दलाल पुँजीवादको दलदलमा राखिराख्ने भन्ने भीषण लडाइँ थियोे । यो लडाइँमा डीआर दाइ सतिसाल भई उभिनुभएको थियोे । निजी शिक्षाका दलालहरू उहाँलाई दुस्मन जस्तै ठान्थे । यो लडाइँ अहिले पनि जारी छ । मेरो विचारमा प्रधानमन्त्री कार्यालयमा पोको पारेर राखिएको शिक्षा आयोगको त्यो प्रतिवेदन सार्वजनिक गरेर त्यसका तमाम जनपक्षीय प्रावधान कार्यान्वयन गर्न सकियो भने त्यो नै वास्तवमा डीआर पौडेलप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ ।

हो,हामीले अल्प आयुमै डीआर पौडेलको भौतिक शरीर त गुमाउनुप¥यो । तर उहाँले उठाएको न्याय,समानता र स्वतन्त्रताको त्यो ध्वजा लत्रिएको छैन र लत्रिने पनि छैन । भुइँमान्छेहरूको पक्षमा डीआर पौडेलले बोकेको सिद्धान्त,विचार र वर्गनिष्ठाको त्यो झण्डा कहिल्यै झुक्ने छैन । जनताका छोराछोरीहरूले पढ्ने सार्वजनिक शिक्षाको सबलीकरणका निम्ति उहाँले बालेको त्यो दियो कहिल्यै निभ्ने छैन । उहाँको क्रान्तिकारी विचारको त्यो ओजस्वी तारा कहिल्यै अस्ताउने छैन । आफ्ना योगदान,विचार र निष्ठाहरूसँगै डीआर दाइ अजर हुनुहुनेछ । अमर हुनुहुनेछ । किनभने यो महाअभियानमा उहाँ एक्लो हुनुहुन्नथ्यो । आफ्ना हजारौँ र लाखौँ सहकर्मी,सहधर्मी,अनुयायी र कमरेडहरूका माझ उहाँ सधैँ हाँसिरहनु हुनेछ । उहाँ सधैँ बाँचिरहनु हुनेछ । अल बिदा डीआर दाइ ! लालसलाम !!!

बस्नेत नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.