शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कपिलवस्तु हत्याकाण्ड : विवाहेत्तर सम्बन्धका कारण पत्नीकै योजनामा माओवादी नेताको हत्या !

३ वर्ष अघिदेखि हत्या गर्ने योजना
सोमबार, ३१ जेठ २०७८, २१ : ५१
सोमबार, ३१ जेठ २०७८

नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका जिल्ला सदस्य दीपक पाण्डेयमाथि जेठ ५ मा गोली प्रहार भयो । अज्ञात व्यक्तिले हानेको गोलीबाट गम्भीर घाइते भएका पाण्डेयको उपचारका क्रममा पाँच दिनपछि काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको थियो । सो हत्याकाण्ड दीपक पत्नी महिमा पाण्डेयकै योजनामा भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको निष्कर्ष छ । सोमबार प्रहरीले अनुसन्धान निष्कर्ष सहित हत्यामा संलग्न ११ जनालाई सार्वजनिक गरेको छ ।

दीपकलाई गोली प्रहार गर्दा ओम प्रकाश यादव उर्फ प्रकाशले मोटरसाइकल चलाएका थिए । कपिलवस्तु नगरपालिका–१ आनन्दबाग घर भएका ३९ वर्षीय यादव र दीपक पत्नी महिमा विवाहेत्तर सम्बन्धमा थिए ।

‘विगत ५ वर्षदेखि उनीहरुको बीचमा अनैतिक सम्बन्ध रहेको खुल्न आएको छ,’ अनुसन्धानमा संलग्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले रातोपाटीसँग भने, ‘पत्नीकै योजनामा हत्या भएको अनुसन्धानबाट खुलेको छ ।’

हत्यामा दुईवटा पेस्तोल प्रयोग भएको थियो । साकिर अलि पाखिया र रमजान शाह मुसलमानको साथबाट प्रहरीले एक–एक वटा पेस्तोल बरामद गरेको छ ।

दीपकको पत्नीसँगको विवाहेत्तर सम्बन्धका कारण ओम प्रकाशले विगत ३ वर्षदेखि हत्या योजना बनाएर हतियार खरिद गरेका थिए । उनले हत्या प्रयोजनका लागि जमिनमा गाडेर राखेको एकथान पेस्तोल र ६८ राउण्ड गोली प्रहरीले बरामद गरेको छ ।

वारदातको समयमा ओमप्रकाशले चलाएको मोटरसाइकलमा बसेर साकिर अलि पाखिया र रमजान शाह मुसलमानले गोली चलाएका थिए । मृतक पत्नी महिमा सहित उनीहरु ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

डिएसपी धर्मराज भण्डारी नेतृत्वमा कविलवस्तु प्रहरीले अपरेशन ‘माइक ह्विस्की’ नामबाट आरोपीहरुबारे अनुसन्धान गरेको थियो । मुख्य योजनाकारलाई संरक्षण र सहयोग गर्ने सद्दाम हुसेन खान, पुर्णबिर पाल्पाली कुम्हाल, ज्ञानेन्द्र कुमार पाण्डेय उर्फ राजेश, राधेश्याम चौधरी उर्फ गोलु, श्रीराम चौधरी उर्फ सिरिया, नरसत अलि उर्फ मोटे र प्रविण गुप्तालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप